आँखाको जोखिम मोल्दै बिरामी, झण्डै ६० हजारमा आँखाको समस्या

अझै तीन सय ८५ नेत्र रोग विशेषज्ञ अपुग
निर्माण सञ्चार, काठमाडौं | नेपालमा ६ सय नेत्र रोग विशेषज्ञ हुनुपर्ने हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्ने हो भने ५० हजार बराबर एकजना नेत्र रोग विशेषज्ञको आवश्यक पर्छ । तर, हाल दुई सय १५ जना मात्रै नेत्र रोग विशेषज्ञ छन् ।

ती मध्ये ७० देखि ८० जना त काठमाडौंमा मात्रै सिमित छन् । तीन सय ८५ जना विशेषज्ञ डाक्टरको अभाव रहेको तिलगंगा आँखा प्रतिष्ठानको दाबी छ ।

आँखा चिकित्सकहरुको अभाव र डाक्टरहरु ग्रामीण तहमा जान नमान्दा बिरामीहरु निकै समस्यामा परेका छन् ।

आँखा अस्पतालहरुमा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ, आँशु नली, आँखाको क्यान्सर, आँखाको सुन्दरता, रेटिनामा समस्या र जटिल रोगसम्बन्धी बिरामीहरु आउने गरेका छन् ।

नेपालमा करीब ६० हजार आँखाका समस्या भएका नागरिक छन् । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट कम विनियोजन गर्दा समस्या भएको नेत्र रोग विशेषज्ञको भनाई छ ।

आँखासम्बन्धी समस्या भएका बिरामीहरुलाई प्रकृति हेरेर निशुल्कसमेत स्वास्थ्य उपचार प्रदान गरिँदै आएको आँखाको प्लाष्टिक शल्यक्रिया विशेषज्ञ डा रोहित सैजुंले निर्माण सञ्चारलाई जानकारी दिए ।

यस्तै, नेपालमा करिब एक लाख मानिसहरु दृष्टिविहीन भएको एक तथ्याङ्कले देखाएको छ ।

जुन मानिसहरु ३ मिटरको दुरीबाट औंला गन्न नसक्ने अवस्थाका रहेका छन् । यस्तै, एक लाख एक हजार पाँच सय जनालाई अन्धोपना भएको बताइएको छ ।

हरेक पाँचजना अन्धोपन भएको मानिस मध्ये ४ जनाको उपचार र रोकथाम सम्भव भएको प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नविन राईले जानकारी दिए ।

पाँच हजार ७५ जनामा जलविन्दु, ९ हजार एक सय ३५ जनामा आँखाको पर्दा जन्य रोगहरु, ३५ हजार पाँच सय २५ जनामा मोतिविन्दु र यस सम्बन्धित रोगहरु, ६ हजार ९० जनामा आँखाको नानीमा हुने अन्धोपना र चार हजार ६० जनामा दृष्टिदोष भएको प्रतिष्ठानले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा हाल दुई सय १५ जना नेत्र विशेषज्ञ रहेका छन् । जसमध्ये ८६ जना काठमाडौंमा मात्रै आवद्ध छन् भने बाँकी एक सय २९ जना राजधानी बाहिर कार्यरत रहेको प्रतिष्ठानले बताएको छ ।

हाल नेपालमा कम्तीमा पनि छ सय नेत्र विशेषज्ञ आवश्यक पर्ने भएपनि कम जनशक्तिले सेवा दिइरहेका छन् ।

नजिक टाढा वा दुबै दुरीका वस्तुहरु धमिलो देखिएमा, आँखा खुम्च्याएर हेर्दा राम्रो देख्ने नभएमा, टिभी नजिकै गएर हेर्ने बानी भएमा, बारम्बार टाउको दुखेमा आँखामा समस्या भएको बुझ्नुपर्ने नेत्र रोग विशेषज्ञहरु बताउँछन् ।

आँखामा हुने रोगबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने प्रतिष्ठानले बताएको छ । मधुमेह तथा उच्च रक्तचाप भएका सबैले जाँच गराउनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

हरेक वर्ष ८७ लाख नागरिकले आँखा जाँच गराउनुपर्ने बताइएको छ । नेत्र रोग विशेषज्ञहरुले आँखा संवेदनशील भएको भन्दै समय समयमै आँखाको चेकजाँच गर्न समेत आग्रह गरेका छन् ।

यस्तै आँखाको दृष्टिमा कमि आई औषधि, चश्मा वा शल्यकृयाबाट दृष्टि सामान्य अवस्थामा फर्काउन नसक्दा न्यून दृष्टि हुने भएकाले समयमै आँखाको चेकजाँच गर्नुपर्ने नेत्र विशेषज्ञको भनाई छ ।

आँखाको डल्लो–नानी सामान्यभन्दा सानो भएमा, कुनै वस्तु वा अक्षर निकै नजिक राखेर हेर्नु वा पढ्नु परेमा, मसिना अक्षरहरु चश्मा लगाउँदा पनि सफा नदेखेमा दृष्टिमा समस्या आउन सक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा मात्रै वार्षिक करिव १० हजार अकुलोप्लाष्टिक समस्या भएका बिरामीहरु आइरहेका छन् भने साना ठूलो शल्यक्रिया गर्नेको संख्या करिव १५०० रहेको छ ।

अकुलोप्लाष्टिक भन्नाले आँखाको प्लाष्टिक शल्यक्रिया हो । अकुलोप्लाष्टिक सम्बन्धी रहँदै आएको जनचेतनाको अभाव हाल केही सुधार्ने प्रयत्न भएको डा. सैजुंले बताए ।

–प्रशान्त वली

...

शुक्रबार, १० कात्तिक ०७४ 

प्रतिक्रिया

Related