नयाँ युगमा राष्ट्रपति सीको प्राथमिकता– तिब्बतको शान्ति र एकता

निर्माण सञ्चार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा दोश्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो घरेलु प्राथमिकतामा स्वायत्त क्षेत्र तिब्वतको शान्ति र एकतालाई राखेका छन् ।

तिब्वतको हुन्जे गाउँका एक परिवारलाई शनिबार दिएको जवाफमा चिनियाँ भूभागको सुरक्षा र आफ्नो गाउँको विकासका लागि सिमा क्षेत्रमै स्थायी बसोबास गर्न उत्प्रेरित गरेका छन् ।

उक्त परिवारले आफ्नो गाउँको विकास वारे आग्रह गर्दै राष्ट्रपति सीलाई पत्र लेखेपछि उहाँले जवाफमा चीनका लागि तिब्वतको महत्व र तिब्वतका लागि उक्त परिवारले गरेको योगदानको चर्चा गरेका छन् ।

‘आफ्नो जमिनमा शान्ति भएन भने त्यहाँ लाखौं परिवार शान्तिसँग बस्न सक्दैनन्’ चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले पत्रमा लेखेका छन् ।

उनले उक्त परिवारलाई उनीहरुले गर्दै आएको पेशालाई निरन्तरता दिंदै त्यसमा लाग्न अन्य परिवारलाई पनि आकर्षित गर्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘यसरी चिनियाँ भूभागको संरक्षक बन्नुहोस र खुशी गाउँको निर्माणकर्ता बन्नुहोस ।’ उक्त परिवारले गाइवस्तु चराउने र त्यसैबाट गुजारा चलाउँदै आएका छन् ।

पार्टीको १९ औं केन्द्रीय महाधिवेशनपछि दोस्रो कार्यकालका लागि पनि चीनको नेतृत्व सम्हाले लगत्तै सीको चर्चा विश्वमै फरक रुपबाट चुलिन सुरु भएको छ ।

आलोचकहरु उनलाई माओपछिको दोस्रो शक्तिशाली नेताका रुपमा चित्रण गरिरहेका छन् । नेतृत्व सम्हालेलगत्तै सीले पार्टीले सबै जातीय समुदायलाई राम्रो जीवन यापनका लागि वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त परिवारका दुई छोरीले पार्टीको महाधिवेशन चलिरहेको बेला राष्ट्रपति सीलाई पत्र लेखेर सिमा क्षेत्रको रक्षा र विकासबारे आफ्ना अनुभव समेत सेयर गरेका थिए ।

सीले ती दुवैको प्रशंसा गरेका थिए ।

 

 

...

सोमबार, १३ कात्तिक, ०७४

 

 

प्रतिक्रिया

Related