काठमाडौंमा रगतको चरम अभाव, मागअनुसार आपूर्ति नहुँदा समस्या

गनिएकै अस्पतालमा आपतकालीन रगतको स्टक छैन
निर्माण सञ्चार, काठमाडौं । सोमबार वेलुकी रोल्पा लिबाङका ५४ वर्षीय मानबहादुर बुढामगरलाई एक्कासी पेट फुलेर काठमाडौंस्थित वीर अस्पतालमा पुर्याइयो ।

इमरजेन्सी कक्षमा भर्ना भएका मगरलाई चिकीत्सकहरुले रगतको कमी भएकाले रगत ल्याउन उनका आफन्तलाई आग्रह गरे । र, लगत्तै फोन हानियो रक्त सञ्चार केन्द्रमा ।

बिरामीका आफन्तः सर, नमस्कार । एबि पोजेटिभ ब्लड आवश्यक पर्यो । जसरी भएपनि मिलाइदिनुपर्यो ।

केन्द्रको जवाफः अहिले सकिएको छ । आयो भने खबर गर्छौ ल ।

वीर अस्पतालको नजिकै रहेको ट्रमा सेन्टरमा समेत बेलाबेला रक्त संकलन भइरहेको हुन्छ । त्यहाँ बिरामीका आफन्तले फोन गर्दा पनि सेण्टरले अहिले छैन भन्ने प्रतिकृया दियो ।

काठमाडौंमा रगतको चरम अभाव देखिएको छ । मागअनुसारको आपूर्ति हुन नसक्दा रगतको अभाव देखिएको हो । वार्षीक तीन लाख यूनिट रगत सप्लाई भइरहेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

वर्षेनी तीन लाखको १३ प्रतिशत माग बढ्दै गएको केन्द्रका निर्देशक मणीता राकर्णिकारले बताईन् । रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमा नै गएर रगत दिने गरेका छन् ।

केन्द्रका निर्देशक मणिता राकर्णिकारले भनिन्,– ‘काठमाडौं उपत्यकामा मात्रै २० वटा अस्पतालहरुले रगत संकलन गर्न पाउँछन् । मागअनुसार आपूर्ति दर न्यून हुँदा समस्या भएको छ । अब जनचेतनालाई अझ व्यापक बनाउनुपर्छ ।’

गनिएकै अस्पतालमा आपतकालीन रगतको स्टक नुहँदा बिरामीको अकालमै ज्यानसमेत जाने गरेको छ ।

नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठजस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको संख्यामा कमी भइ आपूर्ति घट्दा काठमाडौंमा रगत अभाव भएको जनाएको छ ।

काठमाडौंको रगत अभावपछि रेडक्रसले रक्तदान गर्न सबैमा आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाँउमा विशेष रक्तसंकलन क्याम्पसमेत सञ्चालनमा ल्याएको बताएको छ ।

रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्ने र रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ । रक्तदाता मलेरिया औलो, यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन ।

रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागुपदार्थ सेवन गरेको हुनुहुँदैन । त्यसैगरी, रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ । गर्भवती, महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन ।

रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन । रक्तसञ्चारको तथ्याङ्कअनुसार ९९ दशमलब ४ प्रतिशत नेपाली पोजिटिभ समूहको छ भने ० दशमलब ६ प्रतिशतको नेगेटिभ रगत समूह छ ।

अर्थात नेपालमा २०० जना व्यक्तिमा एकजनाको रगत समूह नेगेटिभ छ । शरीरमा रगतको मात्रा कमी भएमा बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा, गहुँ, चना, मुगीको दाल, लसुन, अमला, अनार र लौकाको जुस खाँदा नियमित रुपमा खानुपर्ने चिकीत्सकको सुझाव छ ।

 

...

बुधबार, १६ कात्तिक ०७४

प्रतिक्रिया

Related