विधुवाको बकपत्र

जिन्दगीमा दुई पटक

वियोगका सन्नाटा चलेको थियो – मेरो आँगनमा

जब म आफ्ना सबथोक छोडेर तिमी सङ्ग आएकी थिए सधैको लागि

र अर्को,

तिमीले सधैका लागि मलाई नै छोडेर गएका थियौ ।

फेरी पनि

जीवनमा दुई पटक रंगहरुले खेले म सँग ।

पहिलो – तिमिले जब मेरो सादा सिउदो रंगीन बनाईदियौ

र दोश्रो – मेरो रंगिन सिँउदो पुरै सादा बनाईदियौँ ।

तिमी फूल भन्थ्यौ मलाई

तर, आफ्नै निजि रंग लिएर म फूल्न सकिन ।

जीवनको यो अधबैँशे सुगन्ध म कसरी बिर्सनु ?

तिमी चितामाथि सुतेर

धुवाको जहाज चढेर माथि माथि पुगेपछि

मेरा खुट्टाहरु तल तल भासिदै भासिदै गए ।

भन्थे छोरी मान्छेहरु धर्ति जस्तै हुन

आज चुपचाप म जमिनको माटो जस्तो भए ।

कयौँ पटक मेरा चाहनाहरु

तिम्रै सन्तुष्टिको आलिङ्गनमा विलय गराएकी थिए

अब भन

मेरा जिवित बैँशहरु कस्को संवेदनासँग जोडा मिलाउ ?

अब कसलाई हेरेर बगाउ मेरा आँसुका सेतीहरु ?

कस्लाई देखाउ आँखाबाट लुटिएको महासागर

र मुटुमा फैलिएको विशाल मरुभूमि ?

ओ ! मेरो प्रीय मान्छे ।

तिमी धर्तिमै भैदिएको भए कुनै ठेगानामा म चिठ्ठी लेख्थेँ ।

अब तिमी ठेगाना विहीन छौ ।

र, लाग्छ

जीवनमा केवल दुई पटक बाहेक

तिमीलाई भरपुर सम्झेको छु ।

पहिलो म जन्मिदा पूरै अचेत थिएँ

र दोस्रो म मर्दा पूरै अचेत हुनेछु ।

छोएर मैले यदि फुल हरु सुक्छन भने

साइतको यात्रा मैले देखेर अशुभ हुन्छ भने

अब मलाई भन्नुस्

मन्दिरका मूर्तीहरु पनि बिधुवा न हुन्

कुन देवीलाई देखेर अशुभ भएको छ र ?

ओ प्रीय पुरुष !

यदि तिमी म भएको ठाउँमा भएको भए

आफूलाई के बनाएर हिड्थ्यौ होला – एक विदुर या फेरि अर्को एउटा कुमार ?

 

 नविन शर्मा, शान्तीनगर– २ दाङ ।

प्रतिक्रिया

Related