जुत्ता पोलिस गरेरै छोरीको बिहेको यस्तो छ सपना, तर महानगरीय पुलिसको सास्तीले रोजीरोटी नै धरापमा !

हेल्लो महानगर, राजधानीका अस्तव्यस्त सडक व्यवस्थापनको बाटो खोज्ने कि काम गरेर खानेलाई सधैं खेदिरहने ?
निर्माण सञ्चार, काठमाडौं | कैले झरी त कैले टन्टलापुर घाम ।

निरन्तर गाडीको दिक्क लाग्दो आवाज । घार्घार–घुर्घुर घच्चाघमासान चावहिलको चोक ।

अनि बुङ्बुङ् उड्ने धुलो ।

पानी पर्दा हिलो र घामलाग्दा धुलो नेपालका सडकहरुको ‘कुशेषता’ नै बनेको छ ।

खाने मुखलाई जुँघाले छेक्तैन भनेजस्तै, यी कुनै पनि कुराले असर नपारेको देखिन्छ चाबाहिल चोकैमा लस्करै बसेर जुत्ता सिलाउने यी ‘कर्मी माहुरी’लाई ।

‘मकै रोपे सुन फल्छ’ भन्ने नेपाली उखान कतिलाई अनौठो लाग्न सक्छ ।

तर त्यही उखान कतिपय मानिसका जिन्दगीमा भने अनुवाद भएको देख्दा लाग्छ, मलेसिया र खाडी मुलुकमा हानिनु भन्दा नेपालमै ‘सुन’ फलाउन पनि त सकिने रहेछ !

 सडकमा लस्कर र लस्कर भित्र तस्कर मात्रै कहाँ हुन्छन् र !

चोकदेखि उत्तरपट्टि ठुलो आधुनिक ‘बिल्डिङ’ छ, एसी कम्प्लेक्स ।

७ तले सो कम्प्लेक्सको छिडी र रिङरोड रुट पर्ने गाडीहरु रोक्ने जक्सन पनि ।

जक्सन न हो, गाडीको मात्र किन, मानिसहरुको जमघट हुने गर्छ ।

मानिस पनि कस्ता ? चोर डाका, साधुसन्त, व्यापारी कचहरी, लुच्चा, फुच्चा, सद्दे र पागल सबैको जमघट हुने ।

साँझ बिहान जुट्ने थलोलाई चोक भनिन्छ यदि भने, चावहिलको जुत्ता पालिस लगाउने यो चोकमा थप अर्काे विशेषता छ, धुलो र धुवाँको पनि यहाँ लगभग २४ सै घन्टा जमघट हुने गर्छ ।

मानिसको लस्कर देखिन्छ मध्ये दिनमा ७ तले घरको छतबाट तल हेर्ने हो भने । तर कसैलाई थाह हुन्न कि लस्कर भित्र सधै तस्कर मात्रै हुन्छन् भनेर ।

जुत्तामै जसले देख्छ राम, गर्छ रामकै ध्यान !

तैपनि, तिनै सद्दे र पागल, लुच्चा र फुच्चा, अमिर र गरिब, तस्कर र जोगी, जो आउन्, ‘लौ हजुर, जुत्तामा पालिस दलौं चिरिच्याँट्ट परेर हिँडौं’ भन्छन् रामध्यान ।

रामध्यान, सर्लाही जसको जन्मथलो हो ।

सामान्य लेखपढ भएका, तर औपचारिक कुनै शिक्षा नगरेका यी रामध्यानको जिन्गदी कर्मलाई नै राम र सेवालाई नै ध्यान जस्तो गरी बितेको लगभग एक दशक हुनै लाग्यो ।

जुत्तामा पोलिस लगाउन आजकालका युवाहरुलाई लाज लाग्छ, तर उनी भन्छन्, ‘के को लाज लाग्ने, काम गरेर पो खानु पर्छ हुजुर, चोरेर खाने पो त लाज !’

परिवार पाल्ने सेतु

उनी आफ्नो कामप्रति सन्तुष्ट छन् । पत्यार नलाग्न पनि सक्छ । ध्यान आफ्ना छाराछोरीलाई जुत्ता सिलाएकै भरमा बोर्डिङ पढाइरहेका छन् ।

दुई छोरा र एक छोरीलाई राजधानीकै आवासीय विद्यालयमा पढाइरहेको ध्यान बताउँछन् । परिवार चलाउने उनको सेतु अर्थात् जिन्दगीकै पुल बनेको छ ध्यानको यो पेसा ।

र, लगभग डेढ दशकदेखि यो पेसा गर्दै आएका छन् उनले जुत्ता सिलाउने सूचीकार ।

कुनै जमाना थियो, मानिसहरु जुत्ता सिलाउनेलाई सार्की, फलाम चुट्नेलाई कामी र कपडा सिलाउनेलाई दमाई, सडक सफा गर्नेहरुलाई पोडे भनेर हेप्ने, छी छी र दूर् दूर् गर्ने गर्थे ।

तर, आज त्यो जमाना छैन ।

काम नै ईश्वर हो र कामले नै महान् बनाउँछ भन्ने युग हो यो ।

यदि काम नगरेका थिए भने न आजाको अमेरिका अमेरिका बन्ने थियो न जापान हिरोसीमार नागासाकीको श्मसाने खरानीबाट उठ्ने नै थियो ।

दिनको कति आम्दानी हुन्छ त ?

यो प्रश्न भैंमा झर्नै नपाई उनले भने, ‘दिनको त हुजुर हजारदेखि कहिले २ हजारसम्म पनि आम्दानी हुन्छ ।’

नेपालको अर्थतन्त्र सडकमा लगाउने जुत्ता पोलिसमा छ भन्ने कुरा कसलाई के थाह ?

र, मेलिसायको ४२ डिग्री सेग्रे तापक्रममा मात्रै पैसा छ भनी देख्ने हामीलाई यसले पनि केही सिकाउँछ कि !

कुरा सिधा छ, हुँदै नभएको दिनमा पनि ८–९ सयदेखि हजार रुपियाँ आम्दानी हुने बताउँछन् चावहिलका यी जुत्ता पालिस लगाउनेहरु ।

महिनाको ३० हजारदेखि ३५, ४० हजारसम्मको आम्दानी हुने उनीहरु बताउँछन् ।

करिब एक दर्जनको लाइन नै आफ्नो पसल थापेर बसेका छन् । र, सबैको लगभग चाडपर्वमा त मनग्गे नै आम्दानी हुन्छ, जुत्ता पोलिस गरेर ।

‘हरेक दिनको अर्डर, दाई मेरो चप्पल छिनिएको छ सिलाइदिनु न ल ? अनि उनको हातमा रहेको सियो र धागोले ख्वाप्प पार्दै चप्पल मर्मत गर्छन् ।

यो सडकका सूचीकारहरुको यो दैनन्दिन, प्रेरक छैन र ?

स्थायी घर सलार्ही । यतिबेला ध्यान बस्छन् मैजुबहालको एक डेरामा । परिवार छन् दुई छोरा, एक छोरी र प्यारी श्रीमती ।

‘यसले पुगेको छ त ?’

‘हँ हुजुर पुगेकै छ ! पैसाले कसलाई पुग्छ र, तर पुराउनु पर्छ !’

यो जवाफ दिदा नदिदै एक्कासि मलिन मुहार भयो ध्यानको ! आश्चर्यमा परें म ।

कतै मैले गलत प्रश्न पो सोधें कि जस्तो लाग्यो ।

मलिन मुहार लगाउनुको कारण !  बेलाबेलमा नगरपालिका आएर थर्काउने । समात्ने र थुन्ने पनि ।

यसरी सताएपछि उनीहरुलाई लाग्दो रहेछ, हामीलाई काम गरेर पनि सरकारले खान दिएन !

महानगरले यसरी हप्काए पछि उनीहरु बबुरा बन्छन् । निरीह बनेर जे भन्यो सोही मान्न बाध्य हुन्छन् । महानगरीय बर्दीवाला हाकिमहरु कहिले कहिँ त पैसा पनि लिने गरेको उनीहरुको गुनासो छ ।

‘कहिले कहिँ त घुस माग्छन् हुजुर !’

महानगरले काम गर्ने, बजरा व्यवस्थापन गर्ने ठाउँ तोक्ने गरेको छैन । तर, निम्छरोलाई हेप्छ भनेजस्तै जुत्ता पालिस गरेर बसिरहेकै बेला बर्दीवाला आउँछन्, लाठी बजार्छन् र धाक देखाउँछन् ।

‘हाम्रो क्लाइन्ट आइको हुन्छ, एउटा जुत्तामा पोलिस र अर्काेमा नलगाईकनै हामीहरु कतिपट भागिरहेका छौं ।’ पसिना चुहाँउदै ध्यानले पिडा पोखे, ‘सरकारले कि हामीलाई गरिखाने बाटो दिनुपर्यो, हैन भने दुःखका साथ आफ्नै काम गर्दा हाम्रो रोजीरोटी किन खोस्ने ?’

सबै जुत्ता पोलिसवालाको दुख एउटै छ । समस्या पनि उही ।

पोलिसवालाहरुलाई स्थान तोकिदिने व्यवस्था आजभन्दा ३० वर्षदेखि उठेको आवाज हो ।

तर महानगरका वडाहरुमा भोट लिएर जित्ने प्रतिनिधिहरु पनि त हुन्छन् ।

तरकारीका लागि बजार तोकिए जस्तै धुलो, धुवाँमा स्वाथ्य खराब गर्नु भन्दा महानगरले जुत्ता पोलिसका लागि पनि त स्थान तोकिदिन सक्छ नि !

‘के यो काम नराम्रो हो ? यसरी खेदे पछि हामीले काम गरी खाने कि काम छोरेर चोरी गर्ने ?’

राज्यले काम गर्ने वातावरण नदिनु भनेको प्रकारान्तरले चोरी गर्न वा डकैती गर्न प्रेरित गर्नु हो भन्ने तर्क विश्लेषकहरुको छ ।

‘कि त विदेश जानु पर्यो, नत्र चोरी गर्न ।

सरकारले यस्तो कुरामा ध्यान दिनु पर्छ’, चावहिल मित्रमावीका एक जना शिक्षकले बताए ।

आधुनिक सहरीकरणको सिद्धान्तले जहाँ पायो त्यही जुन पायो त्यही सडकमा बस्ने, नाङ्ले पसल थाप्ने, चिया दुकान राख्ने, जुत्ता सिलाउने वा अन्य खालका अव्यवस्थित बजारीकरणलाई रोक लगाउने गर्छ ।

तर, नेपालको सडकको विकास हेर्दा, त्यो नियम कहिँ कतै लागू भएको पाइँदैन । व्यवस्थित सहरीकरणको मापदण्ड अनुसार जुत्ता पोलिस लगाउने स्थान पनि महानगरले तोक्नु पर्छ ।

के भन्छन् प्रतिनिधि ?

यसै सन्दर्भमा कामपा वडा नम्बर ८ का जनप्रतिनिधि कृष्णमणि भट्टराई भन्छन्, ‘सडकलाई छाडा छाड्नु हुँदैन । किनकि सडक यातायताका लागि हो, पसल थाप्नका लागि होइन ।

तर, पनि रोजीरोटी नै त्यही गरेर बसेकाहरुलाई भने विकल्प दिनु पर्छ भनेर महानगरलाई हामीले पनि भनेका छौं ।’

 धौ धौ

यस्ता समस्या आउँछन् एकातिर राज्यबाट अर्काेतिर प्राकृतिक विपत्ति ।

गएको बाढीबाट तराई डुब्दा रामध्यानका आफन्तको उठीबास नै भयो । ‘कमाइ त काठमाडौंमा धान्न गारै छ, बाँच्न त धौ धौ नै छ ।

बिरामी भयो भने अस्पताल जान पनि डराउनु पर्छ । हाम्रो जिन्दगी त सडकको हो नि त हुजुर !’

 छोरीकै विवाहका लागि जुत्ता पोलिस !

कुरा गर्ने क्रममा ध्यान जस्तै सँगै बसेको रामलखनको भने कहानी फरक रहेको बताए ।

उनले भने, ‘मेरो त छोरीको बिहेका लागि पैसा कमाउनु छ ।’ मधेसी समुदायमा छोरी विवहामा दाइजो बापत थुप्रै रकम दिनुपर्ने चलन छ ।

‘दहेज’ प्रथाका नाउँमा रहेको यो चलन यतिसम्म भारी छ भन्ने कुरा रामलखनको भनाइले पनि स्पष्ट पार्दथ्यो । किनकि, छोरीका विवाहका लागि वर्षौंदेखि एउटा बाबुरले जुत्ता सिलाएर भने पनि पैसा जोहो गर्नु पर्ने छ ।

कस्तो बाध्यता ?

कुरा गर्दै थिएँ । महानगरीय प्रहरीको भ्यानबाट एक दर्जन बर्दीवाल प्रहरी हाट हुट गर्दै झरे पछि मेरो कथा अन्यत्रै मोडियो । र, म हिँडे निर्माण सञ्चारतिर !

– मीरा खतिवडा

...

सोमबार, २० कात्तिक ०७४

प्रतिक्रिया

Related