पाठेघर क्यान्सरको नियन्त्रणमा सरकारको नयाँ रणनीति !

के कारण हुन्छ क्यान्सर ? केके हुन् लक्षण ?
निर्माण सञ्चार, काठमाडौँ | सरकारले पाठेघर क्यान्सर रोगको नियन्त्रणका लागि नयाँ रणनीति अपनाउने भएको छ ।

पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गएकाले सरकारले यस रोगको नियन्त्रणका लागि नयाँ रणनीतिका साथ अघि बढ्न लागेको हो ।

अबको दुई बर्षभित्रमै महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले बताएको छ 

२०७२ मा तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले विदेशी नियकायसँग समन्वय गरेर उक्त रोगसम्बन्धीका कार्यक्रम अघि सारेका थिए ।

जसअन्तर्गत तयारी स्वरुप पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङ गरेको थियो ।

यसअघि कुनै पनि सरकारी निकायले क्यान्सर रोग बारेका कार्यक्रम अघि सारेका थिएनन् ।

महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढाइएको छ ।

०७२ मा गरिएको पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दूई मात्रामा पुरा हुने भण्डारीले जानकारी दिए । खोप लगाउनको लागि प्रति व्यक्ति १० हजार रुपियाँ खर्च हुने महाशाखाले बताएको छ ।

अधिकृत भण्डारीका अनुसार खोप महँगो भएपनि समयमा लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिन्छ ।

महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई राष्ट्रिय कार्यक्रममा समेत राखिने महाशाखाले बतायो । महिलाहरुमा हुने क्यान्सरमध्ये प्रायगरी पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ ।

कतिको जान्छ अकालमै ज्यान ?

यस रोगबाट वर्षिक २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने विश्व स्वास्थ्य संघको एक तथ्यांकले देखाएको छ ।

जसमध्ये ८५ प्रतिशत कम विकसित वा नेपाल जस्तो मुलकहरुका महिला पर्दछन् ।

महाशाखाका अधिकारीका अनुसार नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

महिलाको पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणको कारण हुन्छ ।

यदि पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरिसकेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ ।

चिकित्सका अनुसार सेतो पानी बग्ने र यौनी चिलाउने जस्ता समस्या पाठेघरको मुखको क्यान्सरका लक्षण हुन् । यस्तो संक्रमणले पहिला पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्दछ ।

यसैगरी, संक्रमण भएको ८ देखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ ।

 कसरी पत्ता लगाउने क्यान्सर ?

महिलालाई पाठेघरको मुखमा क्यान्सर भएको वा नभएको बारेमा ‘प्याप स्मेयर टेस्ट’ अर्थात् ‘गर्भाशय श्राव’ परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।

उक्त विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नरहेको पत्ता लागाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरु बताउँछन् ।

पाठेघरको क्यान्सर कुन अवस्थाम छ थाहा पाउन परीक्षणको समयमा जानकारी लिन सकिन्छ । चिकित्सकको सल्लाहमा समयमा नै ओषधी सेवन गरेमा रोग निको हुन्छ ।

यी हुन् क्यान्सरका प्रमुख कारण ?

सानै उमेरमा विवाह

असुरक्षित यौन सम्पर्क

सानै उमेरमा यौनसम्बन्ध  

धेरै बच्चा जन्माएमा

धेरै गर्धधारण गरेमा

यी कारणले गर्दा क्यान्सर रोग लाग्ने बढी खतरा हुने चिकित्सक जय जोशीले बताए । उनका अनुसार धुम्रपान गरेका महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको प्रवल सम्भावना रहन्छ ।

यस्ता छन् पाठेघरको मुखको क्यान्सरको लक्षण

–यौन सम्पर्क गर्दा रगत देखिने ।

–महिनावारी नभएको समयमा पनि रगत देखिने ।

– सेतो गन्हाउने पानी आउने ।

– सानो पेट दुखिरहने ।

– ढाड दुख्ने ।

– थकाई लाग्ने ।

– स्वर परिवर्तन हुने ।

– लामो समयसम्म खोकी निको नहुने ।

– दिशा वा पिसाब अन्य समय भन्दा फरक समयमा हुने ।

– महिलाको तौल घट्दै जाने

यी पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख लक्षणहरु रहेको चिकित्सकहरु बताउँछन् ।

...

शुक्रबार, २४ कात्तिक ०७४ 

प्रतिक्रिया

Related