व्यापारको साधन हैन शिक्षा, बरु व्यावसायिक बन्नु पर्छ, सर्वसुलभ हुनै पर्छ– शाक्य

शैक्षिक सुधारका लागि क्वालिटी अडिट पनि अत्यन्त आवश्यक भइसक्यो
निर्माण सञ्चार, काठमाडौंजन्मथलो धरान भए पनि कर्मथलो काठमाडौं बनाएका दिवस शाक्य नेपालको शैक्षिक जगत्को एउटा अनमोल नक्षत्र हुन् ।

निरन्तर शिक्षा सेवा, सीप, योग्यता र दक्षता सहितको शिक्षा सेवा, समाजमा समर्पित शिक्षा सेवा र पहुँचवाला भन्दा पनि पर शिक्षा पुग्न आवश्यक छ है भन्ने व्यक्तिले अभियानकै रुपमा चलाएको शिक्षा सेवा पक्कै पनि बजारीय शैक्षिक दुनियाँ भन्दा फरक शिक्षा प्रणाली हो, जसका अभियन्ता हुन् शाक्य ।

सबैका नाम मिडियाबाटै आएर ‘सेलिब्रेटी’ बन्नु पर्छ भन्ने पनि छैन । न त मिडियाबाट प्रचारित सबैका नाम ‘इज्जतदार’ नै हुन्छन् । तर, निजी क्षेत्रबाट पनि सक्तो रुपमा शिक्षालाई सेवाकै रुपमा र सर्वसुलभ शिक्षा नै चाहिन्छ भन्ने यस्ता व्यक्ति आजका दिनमा औंलामा गन्न मात्र सकिन्छ ।

झन्डै दुई दशकदेखि शिक्षा सेवामा समर्पित शाक्य यतिबेला ग्लेसियर इन्टरनेसनल कलेजका प्रिन्सिपल छन् । हिजो आज शैक्षिक जगत् ‘अराजक व्यापार’को थलो बन्दै गएको भन्ने आम गुनासो बढिरहेकै बेला उपाय सुल्झाउँदै शाक्य भन्छन्, ‘शिक्षा क्षेत्र व्यापरको थलो हैन कि, व्यावसायिक विकासको केन्द्र बन्नु पर्छ, आजका दिनमा शिक्षा क्षेत्रमा हात हाल्ने सबैले शिक्षालाई व्यावसायीकरण गर्न तयार हुने हो भने शिक्षा क्षेत्रको यो ‘व्यापारीकरण’को अन्त्य सम्भव छ ।’

राष्ट्रको मार्गदर्शक सिद्धान्त भनेकै शिक्षा बताउने शाक्य शिक्षा क्षेत्रलाई सबै निकायले संवेदनशील रुपमा नलिएकोमा चित्त दुखाउँछन् ।

‘आजको शिक्षा र राष्ट्रको भविष्य’ विषयक निर्माण सञ्चारको बहस फोरममा सहभागी शाक्यले– ‘आजका बालबालिका र युवालाई दिइने शिक्षाले नै भोलिको राष्ट्र अघि बढ्ने हो, त्यसैले सर्वसुलभ र गुणस्तरीय शिक्षाले नै राष्ट्रको भविष्य निर्धारण हुन्छ’ बताए ।

प्रस्तुत छ उनीसँगको छलफलको संपादित अंश–

कसरी लिनु हुन्छ आजको शिक्षालाई ?

आजको सन्दर्भमा शिक्षालाई कसरी लिने भन्ने गम्भीर प्रश्न गर्नुभयो ।

तैपनि प्रस्ट हुन चाहेको कुरा के भने, आजको शिक्षालाई कि शिक्षासँग जोडिएको पद्धति, प्रणाली अथवा आजको शिक्षा सेवामा देखिएको विकृतिबारे सोध्नु भएको हो भन्ने मैले बुझ्छु ।

यस हकमा भन्नु पर्दा नेपालमा हामीले ‘प्राक्टिस’मा ल्याइरहेको शिक्षामा प्रणालीगत त्रुटि छ ।

समग्र शरीरमा जसरी मुटु र ब्रेन एक एकओटा प्रणाली हुन्, त्यसरी नै एकअर्काेमा अभिन्न पनि छन्, त्यस्तै गरी, नेपालको शिक्षा आज राज्यको नीति निर्माता तह, राज्यको समग्र सोचसँग मेल नखाएजस्तो परिचालनमा कहिँ न कहिँ म्यान नभएजस्तो देखिएको छ ।

मेरो बुझाइमा शिक्षा दिने, लिने र अभिभावक बीचमा ‘कनेक्टिभिटीको ग्याप’ छ ।

‘म्याच’ नभएजस्तो भन्नु भयो, कनेक्टिभिटी ग्यापको कुरा उठाउनु भयो, के हो त ? आखिर ब्रेन र मुटुबीचमा त सुसमन्वय हुनु पर्ने हैन र ?

एकदम ठिक कुरा गर्नुभयो । मैले मुटु र ब्रेन भनिरहनुका पछाडि यही महत्त्वलाई बुझाउन चाहिरहेको पनि हुँ ।

राज्यका आँखाले हेर्दा शिक्षा के हो ? चेतना उत्पादन कुनै उद्योगका रुपमा लिएर पनि हेर्न सकिन्छ । र, वास्तवमा शिक्षा चेतना उत्पादन गर्ने केन्द्र नै हो । चेतनाले के गर्छ त ?

यसको जवाफमा आउँछ, चेतनाले नै सबैथोक गर्छ ।

समाजलाई सभ्य बनाउँछ, मानिस मानिसबीच भाइचारा कामय गर्न बल पुराउँछ, शान्ति र विकासमा बल पर्याउँछ, मानिसलाई सचेत मात्र बनाउँदैन सीप र दक्षता पनि दिन्छ ।

दिमागमा सचेतना, हातमा सीप, दक्षता र काँधमा जिम्मेवारीपन भएका मानिसहरुले हैन मुलुक बनाउने ? अनि शिक्षाले मानिस पनि त्यस्तै बनाउनु पर्ने हैन र ?

मैले मेरो यो २ दशक लामो शैक्षिक करिअरबाट यही कुरा बुझेको छु ।

ब भन्नुस् त, मुलुक बनाउन योगदान दिनु पर्ने शिक्षाले मुलुकका विभिन्न तहमा, उपल्लो स्तरको नीति निर्माणदेखि समाजका सबै निकायको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादन गर्न मद्दत गरेको छ कि छैन ? छ भने ठीक छ, छैन भने बेठीक ।

जहाँसम्म ‘कनेक्टिभिटीको ग्याप’ को कुरा छ, आजको शिक्षको समस्या नै मुख्य रुपले त्यही नै हो कि जस्तो लाग्छ ।

विद्यार्थीले चाहिरहेको एउटा छ, शिक्षकले डेलिभरी गरिरहेको कुरा अर्कै छ, र अभिभावकले चाहेको कुरा पनि त्यहाँ मेल खाएजस्तो हुँदैन ।

सबैभन्दा गज्जब त राज्यले यी तिनै निकायबीच ‘कनेक्टिभिटी’ हुने योजना नै दिन सकेको छैन ।

बस्, समस्या यही हो ?

धेरैले धेरै कोणबाट शिक्षामाथि हेरिरहनु भएको हुन सक्छ । अन्य कुराहरु पनि हुन सक्छन् । मैले चाहि यसरी लिएको छु ।

तर, शिक्षितहरु बेरोजगार बन्दै बिदेसिएका छन् नि, यसबारे के भन्नु हुन्छ ?

हो, हामीले अभ्यास गरिरहेको शैक्षिक प्रणालीबीच तालमेल नहुनुको समस्या हो यो । मैले कनेक्टिभिटीको कुरा माथि नै गरें ।

र, शिक्षाले दिने सचेतना, सीप, दक्षता, योग्यता र जिम्मेवारी बोध जस्ता कुराहरु जसको कमीले एउटा नागरिकमाथि परिवार, शैक्षिक संस्था र राज्यले गरेको लगानी पनि व्यर्थ हुन्छ ।

यस्तै क्षमता दिन नसकेको विश्वविद्यालयका विद्यार्थीहरु नै अन्ततः बेरोजगार बन्न पुग्छन् । दक्ष जनशक्तिमा हातमा सीप र मगजमा सचेतना दुवैको तालमेल हुन्छ ।

हो यस्तो जनशक्ति उत्पादन नभइरहेको अवस्थामा त हाम्रो शैक्षिक प्रणालीमा कहिँ न कहिँ त्रुटी रहेछ भनेर समीक्षा नगर्ने हो र ?

बेरोजगारीकै समस्या बजारमा श्रम र सीप बेच्न सक्ने अवस्था छ कि छैन भन्ने कुराले पनि निर्धारण गर्छ । शैक्षिक जनशक्ति हुँदैमा योग्य त भयो, दक्षता छ भन्ने नहुनु पनि सक्छ ।

त्यसैले हामीले आजको विश्वविद्यालयीय शिक्षा प्रणालीमै ‘रिभ्यु’ गर्नु पर्छ कि भन्ने मेरो मान्यता छ । हाम्रा युवाहरुको बेरोजगारीले शिक्षा प्रावधिक रुपले जीविकोपार्जनसँग जोडिएको छैन भन्ने कुरालाई देखाउँछ ।

त्यसैले शिक्षाको व्यावसायीकरणको पक्षमा मैले बोल्दै आएको पनि हुँ ।

ठीक हिजो आज विद्यार्थीहरु कलेज छोडेर क्याफेतिर गैरहेका छन् ? के भन्नु हुन्छ यसलाई ?

अत्यन्तै रोचक इसु उठाउनु भयो । र, आजको समस्या पनि हो यो । धेरै अभिभावकहरुको टाउको दुखाइको विषय र धेरै जसो कलेजहरुको पनि टाउको दुख्ने गरेको विषय हो कलेज बङ्क ।

हामी भन्छौं नि ‘बङ्क’ । तर, यसो किन भइरहेको छ भनेर समस्याको जडतिर हामी गहिरिएका छैनौं कि जस्तो लागेको छ मलाई ।

विद्यार्थी के चाहिरहेको छ ? हामीले के दिइरहेका छौं भन्ने कुराका बीचमा जुन समन्वय छैन, त्यसले विद्यार्थीलाई आजको शिक्षा मोनोटोनस भइरहेको जस्तो देखिन्छ ।

शिक्षा भनेकै के हो भन्ने कुरा राज्यले बुझेन कि ! अथाव हामी सरोकारवालाहरुले बुझेनौं कि । हामीले दिएको चाहिँ राम्रो तर आजको पुस्ताले चाहेको कुरा चाहि बेठीक हो कि !

फेरि पनि कुरा आउँछ कनेक्टिभिटीकै ।

त्यहाँ वातावरणको पनि समस्या हुन सक्छ । शिक्षा सिकाइको वातावरण उकुसमुकुस भएर पो उन्मुक्तिका लागि विद्यार्थीले फरक पहलकदमीको माग गरेको हो कि हामीबाट ?

हामीले शिक्षा लिनु अथवा पढ्नु भनेको चाँहि स्कुल÷कलेजमा जाने र पढ्ने कुरालाई मात्र शिक्षित हुनु हो भन्ने बुझ्यौं र बुझायौं ।

जसले विद्यार्थीले आफूले चाहेको जस्तो शिक्षा लिन पाएन र परिवार तथा कलेजले दिएको शिक्षाबाट बाहिर गएर आफूलाई आनन्दित बनाउन खोजेको देखिन्छ ।

यसको मतलब सरले फेरि, शिक्षा पद्धति नै समयानुकूल छैन भन्न खोज्नु भएको हो कि !

दोहोराएरै भन्नौं, हाम्रो शिक्षा पद्धति, प्रणाली समय अनुकूल ‘अपडेट’ नभएकै हो । जस्तै, विद्यार्थीले आफूलाई गायनमा पोख्त बनाउन चाहन्छ तर हामी भने उनीहरुलाई कोठाको चार घेरामा राखेर वर्षौं पुरानो शिक्षाको बारेमा जानकार बनाउन खोजिरहेका हुन्छौं ।

जुन कुरा विद्यार्थीको आफ्नो रुचिको विषय बनेको हुँदैन । फेरि कुरा आउँछ कनेक्टिभिटी कै । हा हा हा .... !

यसरी विद्यार्थीलाई गलत बाटोमा उत्प्रेरित गर्नुमा कुनचाहि पक्ष बढी जिम्मेवार हो त ?

विद्यार्थी आफैंमा कहिल्यै पनि गलत हुँदैन । तर, हामीले उनीहरुलाई कस्तो शिक्षा दिइरहेका छौं भन्ने कुराले विद्यार्थी कतातिर गैरहेका छन् भन्ने जनाउँछ ।

विद्यार्थी कलेज छोडेर कलेजको समयमा नै क्याफेमा वा सिनेमा हलमा जान्छन् भने त्यसको जिम्मेवारी समाज, कलेज र परिवारले लिन जरुरी छ ।

भिडियो वार्ता

हेर्नाेस् न विद्यार्थी सिनेमा हलमा छन् भने कुनै हल्ला हुन्छ त त्यहाँ ! सियो खसेको पनि थाह हुन्छ । तर, कक्षा कोठामा किन यसरी रुचि दिइरेको छैन त ?

मूलतः आजको विद्यार्थीले ७५ प्रतिशत समय घर भन्दा बाहिर समाजमा नै बिताएको हुन्छ । त्यसैले विद्यार्थी गलत बाटोमा लागेमा सुधार्ने प्रथम दायित्व भनेको समाजको सबैभन्दा बढी दायित्व हुने त रहे छ नि !

खै हाम्रो विशेषगरी सहरीया समाजले यो दायित्व बहन गरेको ?

गाउँमा हेर्नाेस् त, कुनै विद्यार्थीले चुरोट मात्रै खाएको देख्यो भने पनि फलानाको छोरा हैनस् तँ चुरोट खाने ? लाज लाग्दैन भनेर हपार्न थाल्छन् । त्यो भनेको त नैतिक रुपले स्खलित हुन लागेकोलाई सच्याएको त हो नि !

मलाई लाग्छ तर हाम्रो समाज दिन प्रति दिन दायित्व विहीन बन्दै गएको छ । यो समाज आफू राम्रो देख्न चाहन्छ तर राम्रो बनाउन आफ्ना पनि हात हुन्छ भन्ने बुझ्न र दायित्व बहन गर्न चाहदैन ।

सायद, व्यक्तिवादी पो बन्दै गयौं कि हामी !

शैक्षिक करिअरमै यत्रो समय बिताउनुभएको तपाईले शिक्षा क्षेत्र सुधारका लागि कस्तो शिक्षा नीतिको अपेक्षा गर्नुहुन्छ ?

मैले दुई तीन कुरालाई बढी जोड दिन चाहन्छु । पहिलो हो आवश्यकता पहिचान । शिक्षा क्षेत्रबाट कस्तो जनशक्ति, कुन विषयमा कति जनशक्ति राज्यलाई प्रतिवर्ष चाहिन्छ भनेर शिक्षाको गुरुयोजना बनाउन जरुरी छ ।

तर दुखका कुरा, मैले बुझेसम्म अहिलेसम्म सरकारले शिक्षाका विषयमा कुनै पनि गुरु योजना नै ल्याएको छैन । त्यसैको परिणाम अहिले क्षेत्रगत दक्ष जनशक्तिको अभाव हामी परिरहेकै छ ।

छन त शैक्षिक बेरोजगारीको संख्या कमी त छैन । तर कामले कामदार र कामदारले काम खोज्दा मेल हुन सकिरहेको छैन किन ?

दोस्रो कुरा, शिक्षा व्यापार होइन, व्यावसायिक संस्था हो । तर, सरकारले शिक्षालाई पनि व्यापारकै रुपमा हेरेको छ । जुन गलत दृष्टिकोण हो ।

म निजी क्षेत्रको शिक्षा सेवी हुँ, तर पनि किन यस्तो भन्छु भने, हामीले सोचेजति पनि सोच राज्यसँग छैन । शिक्षा त व्यावसायिक बन्नु पर्छ न कि व्यापार ।

तेस्रो कुरा हो, निजी शैक्षिक संस्था र सरकारी बीच खाडल बढिरहेको छ । र, विकृति पनि हुर्किरहेको देखिएको छ । शिक्षा क्षेत्र हाँक्ने प्रिन्सिपलले हो भन्ने हाम्रो समाजको आम मान्यता छ ।

शिक्षा क्षेत्रको कार्यकारी पद ‘प्रिन्सिपल’ जस्तो पदका लागि केही मापदण्ड तोकिन जरुरी छ । तबमात्र शिक्षामा आमूल परिवर्तन हुन सक्छ ।

अर्काे कुरा म के भन्न चाहन्छु भने, जुनसुकै तहको भए पनि शिक्षा सर्वशुलभ हुनु पर्छ । पहुँचवालाका लागि मात्र शिक्षा भएकै कारण पनि आज चर्को विरोध आइरहेको छ ।

शिक्षा सबैका लागि कि हुने खानेका लागि मात्रै ? राज्यले दिनु पर्ने दायित्व बरु निजी क्षेत्रले बहन गरेर सहयोग गरिरहेको छ आज । तर, कतिपय क्षेत्रले शिक्षालाई पहुँचवालाको मात्रै हो भन्ने जस्तो बनाइ रहेका छन् ।

अर्काे कुरा हो, शिक्षाले उत्पादन गरेका जनशक्ति बजारमा बिक्न सक्ने हुनै पर्छ । यसबारे माथि पनि भनियो । र, शिक्षाको अन्तिम उद्देश्य जीवन यापन सहज र सरल बनाउन हो ।

तर, हामीले देखाओटी र जटिल बनाउने तिर शिक्षालाई पनि होमिरहेका छौं । जीवन चिन्न र चिनाउन सकिएन भने शिक्षाले दिनु पर्ने ज्ञान हो । ज्ञानै दि न सकेन भने किताबी किराहरु मात्र उत्पादन गरेर समाज सुखी हुन सक्छ त ?

यदि यस्तो भएन भने, शिक्षाले नै विभेद र शिक्षाबाटै अज्ञानी जन्मने हुँदैन र ? अर्काे मुख्य कुरा के छ भने, सरकारले शिक्षाको गुणस्तरका लागि ‘क्वालिटी अडिट’ गर्ने बाटो अब अख्तियार गर्नै पर्छ ।

खै नेपालमा यस्तो पद्धति विकास भएको छ ?

राम्रा र स्थायित्व हुने कलेजलाई पुरस्कृत गरी प्रोत्साहन समेत गर्न जरुरी छ भने कमसल र मापदण्डभित्रै नपर्नेलाई खारेज पनि गर्न सक्नु पर्छ नि ।

यति गर्न सक्यौं भने सायद आजको विकृति ८० प्रतिशत भन्दा बढी हल हुन सक्छ कि !

ग्लेसियरले शैक्षिक क्षेत्रमा कसरी योगदान दिँदै आएको छ त ?

विगत पाँच वर्षदेखि नेपाली शैक्षिक क्षेत्रमा जन्मिएको ग्लेसियर इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रमा सकेको योगदान दिन थालेको छ ।

३५ जना विद्यार्थीबाट सुरु गरिएको ग्लेसियर इन्टरनेसनल कलेजमा आज ६०० बढी विद्यार्थी छन् । कलेजले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्दा त्यसमा दुई तीनवटा कुरा महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ ।

त्यस कलेजमा कति विद्यार्थी अध्ययनरत छन्, कलेजले उत्पादन गरेका विद्यार्थीले बजारमा कस्तो कार्य गरिरहेका छन् तथा कलेजको आफ्नै जनसक्पर्क पनि कस्तो भएको छ भन्ने कुराले त्यो कलेजले पुर्याएको योगदानका बारेमा आँकलन गर्न सकिन्छ ।

हाम्रोबाट विद्यार्थीहरु भर्खरै उत्पादनशील क्षेत्रमा जाने क्रम सुरु हुँदै छ । केही विद्यार्थीले बैंक तथा वित्तीय संस्थामा इन्टर्न गर्न सुरु गरेका छन् ।

मास्टर्स सकेर मार्केटमा हाम्रा विद्यार्थीले कस्तो योगदान दिइरहेका छन् भनेर मापन गर्ने बेला ग्लेसियरको अलि भएको छैन ।

अन्य कलेजहरु मध्ये ग्लेसियर नै किन रोज्ने गरेका छन् त विद्यार्थी र अभिभावकले ?

अत्यन्त सान्दर्भिक प्रश्न गर्नुभयो ।

आज शिक्षामा अत्यन्त प्रतिस्पर्धा बढेको छ । कसले कति विद्यार्थी जम्मा गर्ने भन्ने प्रतिस्पर्धामा लागेर विद्यार्थी नै जिन्दगीमा कामै नलाग्ने पनि बनिरहेका छन् कि भन्ने तिर धेरैले ध्यान नदिएको हो कि जस्तो मलाई लागिरहेको छ ।

कतिपय त, आज भर्ना लिइरहेका कलेज र स्कुलहरु अर्काे शैक्षिक सत्र आइपुग्दा टिक्लान् कि नटिक्लान् भन्ने अवस्था छ ।

तर अभिभावक र विद्यार्थीले यस्ता कुराहरुमा ध्यान दिन अत्यन्त जरुरी छ । यसबारे ग्लेसियर कलेजले खुलेर काउन्सेलिङ नै दिने गरेको छ ।

त्यसैले, ग्लेसियर टिम क्वालिटी एजुकेसनसँगै अभिभावक र विद्यार्थीलाई कलेजको स्थायित्वका विषयमा ध्यान पुर्याउन पनि अनुरोध गर्दछ ।

त्यस्तै, ग्लेसियरले शिक्षा सबैका लागि सर्वशुलभ हुनु पर्छ भन्ने मान्यता राखेको छ ।

विद्यार्थीलाई किताबी किरो नबनाएर व्यावहारिक हिरो बनाउनु पर्छ भन्ने अर्काे मान्यता छ ग्लेसियर एकेडेमीको । त्यसैले, हामी नैतिक शिक्षा तथा व्यावहारिक ज्ञानका लागि प्रतिबद्ध छौं ।

विद्यार्थीले कति प्रतिशत अंक हासिल गर्यो भन्ने त छँदैछ, साथसाथै उसले कस्तो मार्केटमा कस्तो जिम्मेवारी निर्वाह गर्न सक्छ र, आफू र देशलाई कस्तो योगदान पुर्याइरहेको छ भन्ने विषयमा सम्पूर्ण शिक्षासेवी तथा सरोकारवाले ध्यान दिन जरुरी छ भन्ने कुरा पनि हाम्रो अभिभावकसम्म पुर्याउने सत्य हो ।

हामी शिक्षा ज्ञान र जीवन यापनको सहज र सरल माध्यम बन्नु पर्छ भन्ने मान्यताबाट गाइडेड छौं ।

 

 

...

शनिबार, २५ कात्तिक, ०७४

 

प्रतिक्रिया

Related