शिक्षा ऐन संसोधनको खारेज भन्दै विद्यार्थीले थाले रिले अनशन

निर्माण सञ्चार, काठमाडौं । शिक्षा ऐनको नवौ संसोधन खारेज गरिनुपर्ने भन्दै विद्यार्थीहरु शिक्षक सेवा आयोगको कार्यालय अगाडि रिले अनशन थालेका छन् ।

स्थायी शिक्षकहरुलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रकृया विरुद्ध शिक्षा ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित आइतबारदेखि रिले अनसन थालेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले आयोगमा लगाएको ताला फोडेपछि अनसन थालेको महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत तथा अनसन थालेका दिपेन्द्र शाहीले निर्माण सञ्चारलाई बताए ।

काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा शिक्षा संकायमा अध्ययनरत १९ जना विद्यार्थीहरुले रिले अनसन थालेको विद्यार्थी नेता खेमराज गैरेले बताए ।

विद्यार्थीहरुले संघर्ष समितिनै गठन गरेर आन्दोलन थालेका छन् । माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन् ।

अनसनरत दिपेन्द्र शाहीले भने ,– ६० लाख बालबालिका, ७ लाख लाइसेन्स लिएर बेरोजगार बसेका युवा र एक करोड विद्यार्थीको माझमा छ्लफल गर्छौं ।

यो ऐन खारेज नहुँदासम्म आन्दोलन जारी रहन्छ । यस्तै, ऐन खारेजको माग गर्दै केही दिन अगाडि काभ्रे नमाेबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले सर्वाेच्चमा रिट हालेका थिए ।

रिटमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमती पत्र लिई बसेका सात लाख बढी योग्य उम्मेदवारहरु बञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न माग गरिएको छ ।

आठौं संशोधनद्वारा कायम गरिएको ०७२ असोज २ को मिति र नवौं संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था असमान, विभेदपूर्ण र सामाजिक न्यायको विपरित भएकाले खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

संशोधनमा ०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा वन्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको छ ।

शिक्षक सेवा आयोगले पदपूर्तिका लागि मंसिर ३ गतेभित्र दरखास्त आह्वान गरेको छ । 

 

...

सोमबार, २७ कात्तिक, ०७४

प्रतिक्रिया

Related