अबको राजनीतिक बाटोः दीर्घकालीन आर्थिक आधार विकास गर्दै जनतालाई अवसर, राज्य व्यवस्था समाजवादी लोकतन्त्र हुँदै घोषित गन्तव्य तिर

अबको राजनीतिक बाटो, कसरी सम्भव छ स्थायित्व र कसरी प्राप्त हुन्छ समृद्धि ?
निर्माण सञ्चार, बहसःः अबको राजनीतिक बाटोबारे युवासंविधानको ‘डेड–लाइन’ भित्र तिनै तहको निर्वाचन सम्पन्न गराएर दलहरुले झन्डै पौने शतक लामो जनताको लोकतान्त्रिक संघर्ष र संक्रमणको बेडालाई एउटा उच्चतम विन्दुमा पुर्याएका छन् ।

१९९७ को ४ सहिद काण्डदेखि, ००७ साल, ०३६, ०४६, हुँदै माओवादी सशस्त्र संघर्ष र ०६२–०६३ को जनआन्दोलनसम्मका सबै संघर्षको एउटा उच्चतम बिन्दुका रुपमा यो संविधान र यी चुनावहरु उभिन पुगेका छन् । यही बिन्दुबाट अब नयाँ नेपाल अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संवैधानिक संरचना सहितकोे नयाँ यात्रा सुरु हुँदै छ ।

अब बन्ने सरकारले विलकुलै नयाँ नेपालको नेतृत्व गर्नेवाला छ । नेपाल नितान्त नयाँ मोडमा उभिएको सबैलाई अनुभूति भएको छ । यो ‘सफलता’ सँगै भावी लोकतान्त्रिक गणतन्त्र नेपाल अब कतातिर भन्ने एकखाले बहस सुरु भएको छ । संविधान लागू हुने अवस्थाको राजमार्ग खुलेको छ ।

नेपालको इतिहासमा यो नितान्त नौलो उचाइ रहेको विश्लेषकहरुको पनि भनाइ छ ।

अबको बाटो कता ? भन्ने प्रश्नमा युवा संघ नेपालका उदीयमान नेता माधव बास्तोलाको बुझाइ दीर्घकालीन आर्थिक आधार विकास गर्दै जनतालाई अवसर दिने र त्यसबाट समृद्धि प्राप्त गर्ने भन्ने छ । उनी राज्य व्यवस्था समाजवादी लोकतन्त्रमा टेक्दै साम्यवादीहरुले घोषणा गरेको अन्तिम गन्तव्यमा पुग्नु पर्ने मान्यता राख्छन् ।

त्यसका लागि आजको पुँजीवादी विकासको मोडालिटी पनि समाजवादी अर्थतन्त्रले परिभाषित गरेको तर पुँजीवादीहरुको जस्तो गन्तव्यविहीन गन्तव्य भने नरहेको जिकिर गर्छन् ।

निर्माण सञ्चारले सञ्चालन गरेको बहसः ‘अबको राजनीतिक बाटो, कसरी सम्भव छ स्थायित्व र कसरी प्राप्त हुन्छ समृद्धि ?’ मञ्चमा सरिक बास्तोलालाई आजको नेपाली युवा प्रतिनिधि मान्ने हो भने हेरौं, यस अग्निपरीक्षामा हेरौं कस्तो छ उनको बुझाइ, र, कसरी ल्याउँछन् नेपाली युवाहरुले ‘समाजवादी लोकतन्त्र’ ?

यस अघिका र यो चुनावबारे तपाईको बुझाइ के हो ?

अत्यन्त मनमै लागेको प्रश्न गर्नुभयो । वास्तवमा धेरैले यो चुनावलाई कसरी लिएका छौं भनेर सोध्ने गर्छन् । नेताहरुले नै पनि यो चुनावलाई धेरै गम्भीर रुपमा लिएजस्तो गरी परिभाषित गरेको मैले पनि पाएको छैन ।

तर जनताको अभिमत हेर्दा यो चुनाव नेताहरुले भन्दा जनताले नै बढी बुझेको प्रतीत हुन्छ ।

यो अभिमतबाट प्रकट सत्य के हो भने, यो चुनावबाट अब नेपाल साँच्चिकै नयाँ युगमा प्रवेश गर्ने छ, र, त्यस्तो युगको नेपाल हाँक्न पनि नयाँ सोच, उच्च संकल्प र नयाँ भिजन भएकै नेता र राजनीतिक दल चाहिन्छ भन्ने बुझेझैं गरी जनअभिमत प्रकट भएको छ ।

म आफैले पनि आफ्नो क्षेत्रको मतपेटिकामा मत हाल्दै गर्दा अब साँच्चि नै नयाँ नेपालको लगाम समाउने मोडमा नेपाल पुराउने यो चुनाव हो भन्ने बोध गरेको थिएँ ।

यो नितान्त नयाँ मोड हो नेपालको इतिहासका लागि भन्नेमा म ढुक्क छु ।

कसरी ?

वास्तवमा वर्तमानलाई विश्लेषण गर्न इतिहाससम्म पनि पुग्नु पर्छ, र, भावी गन्तव्य के हुने भन्ने तय गर्न वर्तमानलाई वस्तुगत ढंगले परिभाषित पनि गर्नु पर्ने हुन्छ ।

किनकि वर्तमान हिजोको निरन्तरता र भोलिका लागि साँघु पनि त हो । एउटा माक्र्सवादी अर्थराजनीतिको विद्यार्थी भएका नाताले यो निर्वाचनबारे मेरो बुझाइ यसर्थमा फरक छ ।

आधुनिक नेपाल अर्थात् राज्य एकीकरणको अभियान सुरुभएदेखि नै नेपालले आफू स्वतन्त्र, अखण्ड, स्वाभिमानी र परचक्रीको चंगुलमा नरहेको देशका रुपमा विश्वमानचित्रमा आफूलाई उभ्याउन चाहेको देखिन्छ ।

त्यही सन्देश निरन्तर विकास हुँदै नै आइरह्यो ।

यतिकि राणाहरुले जहानीया शासन चलाए, तर उत्तरको तिब्बतसँग र दक्षिणका भारतीय भुरेटाकुरेसँग त लड्न छाडेका थिएनन् ।

यद्यपि राणाहरु अंग्रेजकै आडमा टिकेका थिए ।

तर, वीर अमर सिंह, भक्ति थापा र बलभद्रहरुले लडेको १८–१९ औं शदीतिरको अंग्रेजसँगको युद्धदेखि २१ औं शताब्दीको आजको दिनमा भारतले गरेको नाकाबन्दीसम्म हेर्दा, उसका हर्कत विरुद्ध उभिएको नेपालीहरुको एउटा ठूलो पंक्तिसम्मको मनोविज्ञान त्यही नै दर्शनको जगबाट उठेको हो भन्ने मलाई लाग्छ ।

पराधीनताको अस्वीकार ।

यहीनेर म के भन्न चाहन्छु भने, जसरी राष्ट्र एकीकरणको शिलान्यासकर्ता बने पृथ्वी नारायण शाह, जसरी अंग्रेजको उपनिवेदशवादी साम्राज्यवादी शोषण विरुद्ध अमर सिंह, भीमसेन थापाहरुको नाम इतिहासको अग्रपानामा अंकित भयो, लगभग ३ सय वर्ष पछि पनि उही रुपको औपनिवेशिक शोषणको साँङ्लो बनेर आएको भारतीय साम्राज्यवादी दमन विरुद्ध सगरमाथा जस्तै अग्लो कदको नेताका रुपमा उभिने श्रेय केपी ओली नै पाए ।

आजका दिनमा तिनै ओलीको अगुवाइमा हामी नेपाली जनता पराधीनता विरुद्ध उभियौं ।

हो यही आलोकमा आजको नेपालको समृद्धिको सपना र स्वतन्त्र नेपालको भावी दिनको परिकल्पना गरौं भन्ने मलाई पनि लागेको छ । यही आलोकले के छर्लङग् पार्छ भने, नेपाल पराधीन हुन चाहेन ।

पराधीनता अस्वीकार गर्ने युद्धमा लगभग पृथ्वी नारायणदेखि अमर सिंहहरुको पुस्तासम्मको समय खर्च भयो । स्वतन्त्र नेपालका रुपमा जति भुभाग रह्यो रह्यो, त्यसपछि नेपाली जनताले लोकतन्त्र चाहेको थियो ।

त्यो राणाशाहीले खर्लप्पै खायो । नेपाललाई डोमिनेट गर्ने यात्रा सुगौली सन्धीबाट सुरु भयो ।

त्यसको जग शिलान्यास गरिदियो तत्कालीन ब्रिटिस इन्डियाले । त्यो शोषणको विरासतले निरन्तरता पायो राणाकालमा ।

त्यही जग नै आजको भारतको अर्काे निरन्तरता हो । जुन नेपाल शोषणा गर्ने नयाँ आधार बनेको थियो १९९० अर्थात् २००७ सालको नेपाल भारतको मैत्री सन्धि ।

पराधीनता जित्यौं, लोकतन्त्र ल्याउन सकेनौं । चाहिएको त लोकतन्त्र थियो, राणा युगले खायो ।

००७ साल त्यस्तै युगीन फड्को थियो, लोकतन्त्र ल्याएको पनि हो, तर त्यो पनि नियन्त्रित तन्त्र बन्न पुग्यो । २०१७ सालका रुपमा फेरि खोसियो ।

यसरी नेपाली जनता आजसम्म नै निरन्तर आन्तरिक सामन्तवाद र बाहिरिया साम्राज्यावद नवउपनिवेशवादसँग निरतन्त लड्नु परिरहेको छ ।

अब हामीले अर्काे ३० वर्ष लोकतन्त्रका लागि लड्यौं पञ्चायतपछि । २०४७ सालमा बहुदलीय लोकतन्त्रसम्म आयौं । फेरि विकृतिहरु झाँगिए ।

सदाका लागि राजतन्त्र नै फालेर आज हामी गणतन्त्रमा आउन सफल भयौं ।

अब भन्नुस् आजको लोकतान्त्रिक गणतन्त्रको महत्त्व कति होला ? जसले यति लामो संघर्षको उपलब्धिका रुपमा संविधान पाएको छ ।

त्यही संविधानले दिएको नयाँ नेपालको लगाम हाँक्ने सरकार यो निर्वाचनको अभिमतले दिएको म्यान्डेट हो नि ! हैन र ?

यही आलोकमा यो चुनाव, र यो चुनावी परिणामले दिएको म्यान्डेटलाई बुझ्ने हो भने असली रुपमा नेपाली जनताको समृद्धिको सपनाको ऐतिहासिक महत्त्वलाई बोध गर्न हामी सक्छौं ।

र हामी झिना मसिना कुरामा अल्झदैनौं भन्ने मलाई लाग्छ । किनकि माक्र्सवादीहरुको घोषित लक्ष्य भनेको धेरै परसम्म छ ।

जसरी चिनिया कम्युनिस्ट पार्टीले तय गरेको समृद्धिको यात्रा आज पुस्ता तयार पार्दै अघि बढ्दै जुन उचाइमा आएको छ, भन्नुस् त, हाम्रो गन्तव्य पनि कति महान् होला ?

यो चुनावी परिणामबारे नेपाली काँग्रेसको बुझाइलाई तपाईले कसरी हेर्नुहुन्छ त ?

यस्, गुड क्वेसन ! अब काँग्रेसलाई पनि त्यही ऐतिहासिक आलोकमै हेर्दा प्रस्ट हुन्छ भन्ने मलाई लाग्छ । किनकि, आजको मत परिणामलाई लिएर नेपाली काँग्रेसका मित्रहरु अत्तालिएका छन् ।

र, विश्लेषण गर्दा पनि अत्यन्तै प्राविधिक कुराहरुलाई मात्र जोड दिएको म पाउँछु । तर, इतिहासलाई त सिद्धान्तको आलोकबिना बुझ्न सकिन्न ।

आजको जित वा पराजय भोलिको त इतिहास हो नि ।

काँग्रेसकै कारण नेपाली जनताहरुको यति लामो पराधीनता विरोधी आन्दोलन, स्वतन्त्र राष्ट्रको स्वाभिमानी शिर पटक पटक गिरेको छ । ००७ सालको सन्धिको परोक्ष पात्र त नेपाली काँग्रेस नै बनेको हो नि ।

ऊ त्यहाँ पनि चुक्यो । नेपाली जनताको शिर झुकायो । ०१५ सालमा दुई तिहाइ मत जनताले दिए, टिकाउन सकेन ।

०१७ साल घट्ने आधार त उसैले दिएको थियो ।

फेरि ०४७ पछिकोे बहुदलीय प्रजातन्त्र पटक पटक राजाको बहुलीमा पुराउने काम पनि त अरुले गरेनन् नि । राजालाई नै लगेर शेरबहादुरजीले प्रजातन्त्र बुझाएका हैनन् र ?

आज लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा पनि काँग्रेसले मुलुक कसरी चलाएको छ त जनताले देखिरहेका छन् ।

जनमतले पुष्टि पनि गरिदियो कि गणतन्त्र नेपालका एजेन्डाकर्ताहरु असलीरुपमा बामशक्ति नै हुन् र उनीहरुले नै यसलाई सही गन्तव्यमा पुराउँछन् भन्ने जनमतको प्रकटीकृत आवाज होइन र ?

काँग्रेसी मित्रहरुले इतिहासमा गरेका पटक पटकको जनता माथिको धोखा धडीमाथि आज जनताले दण्डित गरेका हैनन् र ?

तर काँग्रेस फेरि पनि यस्तो वस्तुगत अवस्था बुझ्न चाहँदैन । प्राविधिक कुरा गरेरै इतिहासको अवमूल्यन गरिरहेको छ ।

अब कुरा यता मोडौं, के वामगठबन्धन पार्टी एकतामा पुगेर टुंगिन्छ त ?

टुंगिन्छ । नटुंगिकन धरै छैन ।

माथि नै मैले ऐतिहासिक विश्लेषण नै गरें कि आजको बामगठबन्धन र कम्युनिस्ट पार्टीको एकताको निरन्तरताको जग पनि तिनै ऐतिहासिक संघर्षको पृष्ठभूमिमा उभिएको एकताको यात्रा हो ।

यदि सच्चा रुपमा अब नेपालको समृद्धि, स्वाभिमानी नेपालको नयाँ इतिहास लेख्ने यात्रा सुरु गर्ने र हिजैदेखि अवशेषका रुपमा रहेको भित्री सामान्तवादी जगजगी र बाहिरिया साम्रज्यावादी नवउपनिवेशवादी शोषणबाट नेपाली जनतालाई माथि उठाउने हो भने इतिहासमा यो जस्तो सुवर्ण अवसर अब फेरि पनि आउला र ?

यो गणतन्त्रका जन्मदाताहरुले यसलाई टिकाउन थालेनन् भने, अन्य प्रपञ्चमा लागे भने, आज पनि भारतीय दूतावास आफ्नो हिजोदेखिको ब्रिटिसकालीन हेजेमोनीकै निरन्तरता दिन छटपटिरहेको छ भन्ने सुनेको छु ।

काँग्रेस रुपी भारतीय साम्राज्यवादी शोषको प्यादा जनमतबाट थङथिलो बनाएपछि जनताको सर्वाेच्च सत्ता स्थापित गर्न चाहने कम्युनिस्टहरुको यो भन्दा ठूलो विजय अर्काे हुन सक्ला र ?

जसरी माओले जापानिज पराधीनतालाई परास्त गरेका थिए, त्यही अवसर नेपाललाई आएको हैन र ?

अब बन्ने सरकारको बाटो के हो त ?

बस्, सरकारका लागि संविधान नै काफी छ । मार्ग कस्तो हुने, गन्तव्य के हुने, कार्यनीति कस्ता कस्ता हुने, घोषित लक्ष्य कसरी हासिल गर्ने भन्नेमा कुनै दुविधा छैन ।

संविधानले आजको नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनी परिभाषित गरिसकेको छ । जुन नितान्त नयाँ नेपाल हो । अर्थात् पुनर्संरचना भएको नेपाल हो ।

अब रह्यो समृद्धिको सपना कसरी पुराउने भन्ने । त्यसका लागि योजनाबद्ध विकासको बाटो लिने छ अबको सरकारले ।

पुँजीवादी काँग्रेसी जस्तै अव्यवस्थित र योजना हीन यात्रा यो सरकारलाई गर्न छुट पनि छैन । किनकि उसले घोषणा पत्रबाट यस्तोे नेपाल बनाउँछु भन्ने सपनाहरु बाँडेको छ ।

त्यसलाई पूरा नगरे भोलिका दिनमा यही काँग्रेसको भन्दा पनि तन्नम हालत हुन के बेर लाग्छ र ?

अब रह्यो अर्थतन्त्र कस्तो मोडेलको हुने भन्नेबारे ।

पटक पटक सफल सरकार र लोकप्रिय कार्यक्रम सहितका सरकार चलाएको अनुभवी दल नेकपा एमाले जस्तो पार्टीले कुन मोडेलको अर्थतन्त्र फलो गर्ने भन्नेमा दुविधा छ जस्तो लाग्दैन ।

संविधानले नै समाजवाद उन्मुख नेपाल भनिसकेकाले समाजवादी लोकतन्त्र परिपक्व बनाउने गरी दलाल नोकरशाही पुँजीवादको आधारहरु समाप्त पार्ने दिशामा अघि बढ्दा मात्रै हजारौं युवाहरु नेपालमै स्वरोजगार हुने छन् ।

नेपालले समृद्धिको सपनाको लिक पनि क्याच गर्ने छ ।

यो उपलब्धि अर्थात् चुनावी उपलब्धि हासिल गर्नमा युवा भूमिका कस्तो रह्यो त ?

बडोे सान्दर्भिक प्रश्न सोध्नु भयो । यसलाई संक्षिप्तमै भन्न चाहन्छु ।

नकाबन्दी पछि र त्यसका केही वर्ष अघिदेखि नेकपा एमालेलाई भारतीय संस्थापन र घरेलु प्रतिक्रियावादीहरुले तराई विरोधी जबरजस्त बिल्ला भिराउने षडयन्त्र गरेदेखि नै युवा संघ तराई मधेस संवाद र जागरण अभियान लिएर उत्रियो ।

मेची काली अभियानदेखि तराईका डुबानहरुमा तराईका जनताको साथी बनेर काम गर्यो । तराईमा एमाले शून्य भन्नेहरुलाई स्थानीय चुनावदेखि प्रतिनिधि सभा र प्रदेश सभा चुनावसम्मको यात्रा गरेर आउँदा २ नम्बर प्रदेशमा मधेसकै शक्तिहरुसँग मिलेर सरकार चलाउने ठाउँसम्म त एमाले पुग्यो ।

बाँकी ६ ओटा प्रदेशमा एमाले नै बहुमतको सरकार बनाउन सक्ने ठाउँमा जनताले पुराए ।

अब भन्नुस् युवा संघले पनि यो होस्टेमा हैसै गरेको थियो र ? भनेर कसैले नजाने जस्तो गर्ने ठाउँ रह्यो र ?

वाइसिएलसँग एकता हुन्छ त ?

जब पार्टी एकताकै लागि गृह कार्य हुँदै छ भने पार्टीले निर्देश गरे बमोजिम जनवर्गीय संगठनहरु एकता नहुने भन्ने कुरा होला र ? अब युवा संघ र वाइसिएल बीच एकता हुन्छ हुन्छ ।

चुनावी अभियानमा समेत मनहरु मिलिसकेको हाम्रो आजको अवस्थामा कतैबाट घुनपुत्लो पार्न दिनु चाहिँ हुँदैन ।

हाम्रा दुवै दलहरुलाई पनि पार्टी एकीकरणको महान अभियान छिटै पूरा गर्न दबाब दिन्छौं र यो काम पनि पूरा गरी छाड्छौं । किनभने यो चुनावी परिणाम भनेको वामपन्थी शक्तिहरुको एकताको अनुमोदन पनि त हो नि ।

यो परिणामलाई स्वीकार नगर्ने हो भने बाम गठबन्धनका दुवै शक्तिको हैसियत भोलिको कुरा छाड्नोस् आजै कहाँ पुग्छ कल्पना गर्दै काफी छ ।

अबको युवा आन्दोलनको स्वरुप कस्तो हुन्छ त ?

यो सन्दर्भमा धेरै सैद्धान्तिक कुराहरु भए होगि । अब युवा आन्दोलनका बारेमा म धेरै सैद्धान्तिक कुरा बोल्ने पक्षमा छैन ।

बस् यति भनौं, हामीले लामो संघर्षबाटै राष्ट्रि युवा परिषद् र युवा नीति बानउन सफल भएका छौं । त्यति मात्र हैन युवा स्वरोजगार र शैक्षिक प्रमाणपत्र धितो राखेर पनि व्यवसाय गर्न पाउने कुरा धेरै अघि पुराएका छौं ।

युवाहरुले उद्यम गर्न चाहेमा, विदेश गएका युवाहरु स्वदेशमै केही गर्छु भनेर आएमा राज्यले जसरी पनि सब्सिडी दिने, लचक नियम र कानुन बनाउने, राज्यकै तर्फबाट लगानी थपिदिने ।

स–साना उद्योगहरुलाई उकास्ने नीति ल्याउने, निम्न तथा निम्नमध्यम वर्गका युवाहरु विशेष लक्षित स्वरोजगारका कार्यक्रम ल्याउने र उद्योगीहरुलाई लगानीको वातावरण दिएर हजारौं रोजगारी सिर्जना गर्ने, हाइड्रो उत्पादनदेखि वन जंगलसम्म, कृषिदेखि आइटी प्रविधिसम्मको केन्द्रका रुपमा प्राथमिकता तोकी काम गर्न थालेपछि विदेशी लगानी र विदेशिएको पुँजीलाई यही अवसर दिएपछि आउने १० वर्षमा नेपाल आजको दक्षिण कोरियाको ठाउँमा पुग्छ भन्ने मलाई लाग्छ ।

म यही सपनाबाट निर्देशित भएर अबको युवा आन्दोलनको स्वरुप र कार्यक्रम तय गर्नु पर्छ भन्नेमा छु ।

 

 

...

बिहीबार, ६ पुस, ०७४

 

प्रतिक्रिया

Related