१–नम्बर प्रदेशको राजधानीः यस कारण ‘गोठ गाउँ’ नै उपयुक्त– सांसद राजकुमार ओझा

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सीमानाका भन्दा ३० किमी टाढा, सबैभन्दा होचो झापाको केचनादेखि सबैभन्दा अग्लो सगरमाथा बेसक्याम्पसम्मको वातावरणको अनुपम संयोग
निर्माण सञ्चार, बहसःः प्रदेशको राजधानी निर्धारणबारे सबैभन्दा बढी मत ल्याएर विजेता बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको गहिरो जमिन केचनादेखि सगरमाथा जिल्लाको अग्लो भूभागको वातावरणीय संगम रहेको मोरङको गोठ गाउँ प्रदेश नम्बर–१ को राजधानीका अत्यन्त उपयुक्त हुने बताउँछन् मोरङ– ३ अन्तर्गत प्रदेशसभा ‘२’ का नवनिर्वाचित सांसद राजकुमार ओझा ।

प्रदेश नम्बर–४ र ६ (यी प्रदेशमा क्रमशः पोखरा र सुर्खेतको वीरेन्द्रनगरमा सबैदलको सहमति) बाहेक बाँकी सबै प्रदेशमा राजधानी कुन हुने भन्ने विवाद चर्कदै गएको बेला १ नम्बर प्रदेश पनि यो विवादबाट अछूतो छैन ।

प्रदेशको राजधानीबारे विरोध, विवाद र तानातान चलिरहेकै बेला उपयुक्त सोलुसन नै गोठ गाउँ रहेको उनका तर्क छ सांसद ओझाको ।

निर्वाचनको जित पछि सम्मान र सिन्दुर खान छाडेर पनि आफ्नो क्षेत्रको राजधानी तोक्नेबारे तातो लागेर काठमाडौं आएको बताउने ओझा राजधानी तोक्नेबारे सबैका तर्क भन्दा फरक दृष्टिकोण अघि सार्छन् । जस्तै वैज्ञानिक मापदण्ड सहितको राजधानी तोकिनु पर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालदेखि सडकसम्म विराटनगर, इटहरी, चतरा र धरान आदि स्थानका लागि लर्काे लागेको देखिन्छ ।

मोरङ–६ मा काँग्रेस नेता शेखर कोइरालालाई हराउन सफल एमाले सांसद लालबाबु पण्डित ‘बृहत्तर विराटनगर’ को सोच अनुसार विराटनगर नै राजधानी हुनु पर्ने बताउँछन् भने एमालेकै धनकुटाका अर्का सांसद राजेन्द्र राई ‘अल्पकालीन राजधानी भने पनि धनकुटा नै तोकिनु पर्ने’ भन्दै आन्दोलन चर्काउँदै अघि बढिरहेका छन् ।

निर्माण सञ्चारको ‘समसामयिक बहस’मा सरिक नवनिर्वाचित जनप्रतिनिधि ओझा प्रदेशको राजधानी निर्धारणको वैज्ञानिक मापदण्डबारे फरक मत राख्छन् ।

उपयुक्त विकल्प के हुन सक्छ ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘विवादकै लागि विवाद झिक्ने र समाधान नदिने गरी अघि बढ्ने हो भने संघीय प्रदेशको राजधानीको झगडाले स्थायित्व दिने भन्दै जनता माझ सपथ खाएर आएका वामगठबन्धनका नेताहरुको कार्यकाल सबैभन्दा बढी झगडामा बित्ने देखिन्छ ।

त्यसैले मेरा गोरुको  बार्है टक्का भन्ने कि उपयुक्त समाधान तर्फ जाने ? भनेर उनले उल्टै विराटनगरमुखी लालबाबु र धनकुटामुखी राईलाई प्रतिप्रश्न गरे । हेरौं ‘सही सोलुसन’ दिने दाबी गरेका ओझासँगको संवादको सारसंक्षेप:

जनताले चुनावबाट वामगठबन्धनलाई झन्डै २ तिहाइ मत नै दिए, बामगठबन्धनले स्थायित्व र विकास दिने भनेको थियो, तर प्रदेशका राजधानीको तानातानमा नेताहरु नै हातै धोएर ओर्लिका छन्, अब गठबन्धनको सरकारले शान्ति, विकास र स्थायित्व देला त ?

अत्यन्त मार्मिक प्रश्न गर्नुभयो । वामगठबन्धनको सरकार बन्यो भने मात्रै स्थायित्व, विकास, शान्ति र अमनचैन पाइन्छ भन्ने आशाले नै जनताले वामशक्तिहरुलाई २ तिहाइ नै मत दिए भन्ने मैले बुझेको छु ।

कुरा स्पष्ट पनि छ । कसरी २ तिहाई भन्नुहोला, बामगठबन्धनलाई दिएको कुल मतमध्ये झन्डै ७ लाख मत त बदर भएकोे छ ।

हामीले जनमतलाई अझै सुशिक्षित गर्न र संरक्षण गर्न सकेका रहेनछौं भनी स्वीकार गर्नुको विकल्प पनि देख्दिन म त ।

त्यो भन्दा झन्डै २ लाख बढी एमालेले पाएको मतको बदर भएको छ । भनेपछि जनताले हामीलाई २ तिहाई नदिएको हो र ?

तर, केका लागि जनताले यो विश्वास गरे ?

यसको सरल जवाफ छ, हामीले दिएको नारा, देशमा स्थायित्व र विकासकै लागि जनताले काँग्रेसले गरेन अब वामशक्तिहरुबाटै मुलुकको मुहार फेरिन्छ भनेर मुलुक चलाउने अभिभारा दिएका हुन् ।

अब कुरा रह्यो, सरकार गठन पूर्व नै आइपरेका अवरोधहरु । यसलाई २ कोणबाट हेरिनु पर्छ ।

यस्तै विवाद सुरु होस् र अब बन्ने सरकार स्थायित्व र विकास दिनबाट टाढा होस् भन्ने काँग्रेसको इच्छाशक्तिले पनि यसमा केही न केही मलजल गरेको छ ।

काम गर्नका लागि बन्नु पर्ने नयाँ सरकार हो, तर सरकार गठन गर्ने बाटोमा तगारो बनेर काँग्रेस उभिएको छ ।

दोस्रो, जनताहरुले स्वाभाविक रुपमै आफ्नो क्षेत्रलाई माया गर्ने गर्छन् र अब बन्ने प्रदेशको राजधानी आफू बसेकै जमिन बनोस् भन्ने चाहन्छन् ।

त्यसलाई अन्यथा लिन पनि मिल्दैन ।

तर, प्रदेशको राजधानी कुन ठाउँमा उपयुक्त हुन्छ भन्नेबारे जनताको आवाज उठेपछि जनतालाई बुझाएर सही समाधान दिने जिम्मेवारी त नेतृत्व तहको हो नि !

तपाईले भनेजस्तै राजधानीका नाउँमा कतै राजनीति त सुर भएको छैन जसरी समाधानका लागि भन्दा पनि विवादका लागि विवाद तन्क्याउने काम भएको देखिएको छ जुन शोभनिय छैन ।

जनताले दिएको म्यान्डेट के हो भनी सम्झने र जिम्मेवारी बोध गर्ने बित्तिकै नेतृत्व पंक्तिमा यदि रहेछन् भने पनि यी समस्या समाधान हुने म देख्दछु ।

र, वामगठबन्धनले जनताको स्थायित्व, विकास र समृद्धिको चाहन सम्बोधन नगरे यो मुलुकमा अरुले गर्न सक्ने छैनन् भन्ने पनि प्रमाणित भएकाले हामीहरु गम्भीर र जिम्मेवार हुनुको विकल्प पनि म देख्दिनँ ।

प्रदेश नम्बर–१ को राजधानी कुन हुने भन्ने विवादको सही विकल्प के हो त ?

वर्तमान विवादको विकल्प हो गोठ गाउँ । मोरङको गोठ गाउँ विभिन्न कोणबाट सही साबित हुन्छ पनि । राजधानी तोक्नेबारे अहिले उठेको विवादको चुरो आ–आफ्नै स्वार्थबाट प्रेरित देखिएका छन् ।

तर, प्रदेश नम्बर १ भित्रका हरेक उपयुक्त स्थानहरु मध्ये पनि गोठगाउँ सबैभन्दा बढी उपयुक्त हो भन्ने मलाई लाग्छ ।

साथीहरुले उठाउनु भएको तर्कमा पनि यो वा ऊ अनुपयुक्त भन्नु पर्ने कारण छैन तथापि सबै सहीहरुका बीचमा सबैभन्दा उपयुक्त विकल्प अन्तिममा रोज्नु पर्ने नै हुन्छ ।

त्यतिबेला सबैले सच्चाइलाई स्वीकार गर्नु पर्ने पनि हुन्छ ।

राजधानी कुन हुने भन्ने कुनै वैज्ञानिक मापदण्ड निर्धारण गर्न तिर लाग्ने कि मेरो र तेरो भनेर समय बर्बाद गर्ने, केही प्रकाश पारिदिनु हुन्थ्यो कि !

एकदम सही सवाल उठाउनु भयो । यसबारे हामीकहाँ अध्ययन र अनुसन्धान गरेर आवश्यकताका आधारमा उपयुक्त मोडेल छनोट गर्ने तिर हाम्रो ध्यान गएको छैन ।

वास्तवमा तपाईले भनेजस्तै प्रदेशका राजधानीहरु कुन हुने, केको आधारमा राजधानी तोकिने, कति वर्षसम्म तोकिने, विकासको माडेल कुन हुने र कस्तो खाले लक्ष्य हासिल गर्न कस्तो खाले क्षेत्र निर्धारण गर्ने भन्नेमा न त कामचलाउ सरकारले सोचेको देखिन्छ ।

न राजधानी यही नै हुनु पर्छ भनी मुट्ठी कसेर उभिएका मित्रहरुले सोच्नु पर्छ नै भन्ठानेका छन् ।

यही तर्कमा उभिएर नै मैले पनि प्रदेश नम्बर १ को राजधानीका सवालमा केही मापदण्डहरुकै आधारमा गोठ गाउँ निर्धारण गरिनु उपयुक्त हुने निष्कर्ष निकालेको हुँ ।

के हुन् त ती निष्कर्षहरु ?

केही विज्ञ साथीहरु नै लागेर एउटा अध्ययन पछि हामी गोठगाउँ उपयुक्त स्थान हो भन्ने निष्कर्षमा पुगेका हौं ।

यो सानो अन्तर्वार्तामा प्रदेश नम्बर १ का एकसे एक ठाउँहरुको नाम, विवरण, फिजिबिलिटी दिइरहन सम्भव पनि कति होल र !

तर, तुलनात्मक रुपमा भन्नुपर्दा मोरङको यो क्षेत्र हरेक हिसाबले उचित छ ।

सबैभन्दा पहिलो तर्क, तात्कालिक राजधानी धनकुटा हुनु पर्छ भन्ने साथीहरु र बृहत्तर विराटनगर भन्ने तर्क राख्नुहुने माननीयहरु सबैलाई समेट्ने भु–भाग हो गोठ गाउँ ।

राजधानी कुन हुने भन्नेबारे त्यसको ऐतिहासिकता, भौगोलिक विशेषता, सम्भाव्यता र भौतिक संरचना, सुरक्षा र जनताको पहुँच सुगम्यता जस्ता विभिन्न इन्डिकेटरहरु यसमा पर्छन् भन्ने हाम्रो बुझाइ छ ।

जनताको एक्सेसका हिसाबले बृहत्तर विराटनगर भित्र समेट्न चाहेका सबै भु–भागको केन्द्र हो गोठ गाउँ । दुवैतिरको केन्द्र, संगम र सुगम्यता पनि हो यो क्षेत्र ।

सुन्दर हरैचाको ऐतिहासिकता पनि कम सुन्दर छैन ।

के के हुन् त ?

जस्तै, यो ठाउँ द्वन्द्वकालमा पनि कुनै पनि हिंसा नभएको सुरक्षित र संरक्षित स्थान बनेर रह्यो ।

त्यस्तो बेलामा पनि यहाँ कुनै दिन बन्द हड्ताल जस्ता अर्थतन्त्रमा नकारात्मक असर पार्ने, उद्योग अमैत्री वातावरण यहाँ हुन पाएन । यो शान्ति क्षेत्र समान छ ।

किन यस्तो भयो भन्नेमा पनि तर्क छ । यहाँको जनताको चेतना स्तर प्रमुख कुरा हो ।

विकास र उन्नतिका लागि यो क्षेत्रका जनताहरुको नेपालमै अनुपम उदाहरण के छ भने कुनै क्षेत्रको विकास गर्नु छ भने नेपाल सरकारले जति बजेट र कामको विभाजन गर्छ त्यसको लगभग तेब्बर योगदान मोरङको यो क्षेत्रले गर्दै आएको छ ।

राजधानीका लागि सबैभन्दा बढी चाहिने कुरा नै त्यहाँ बस्ने जनमानसले सिर्जना गर्ने उच्च तहको सभ्यता नै हो । जसले गर्दा विदेशीहरु पनि त्यहाँ आउन लालयित हुन्छन् ।

त्यहाँ शिक्षित समुदायहरुको वर्चश्व छ । ती सचेत छन् । आफ्नो अधिकारका लागि मात्र नभई यहाँका जनता उत्तरदायित्वका लागि पनि जिम्मेवार छन् भन्ने यहाँको अनुपम उदाहरण कसैले नाइनास्ती गर्न सक्तैन ।

अब रह्यो कुरा, भौतिक पूर्वाधारको ।

राजधानी कुन हुने भन्ने कुरा भौतिक पूर्वाधारको उपलब्धता पनि हो । पूर्वाञ्चल विश्वविद्यालयसँग रहेको ८०५ बिगहा जमिन मध्ये प्रदेश सरकारका लागि तत्कालै ३०० बिगहा जमिन दिन सक्ने अवस्था त छँदै छ ।

त्यो भन्दा पनि रोचक कुरा के छ भने, जमिन खाली जमिन मात्रै छैन । यहाँ भवनहरु पनि छन् ।

अब रह्यो, एक्सेसिबिलिटीको कुरा । झापाको केचना, नेपालकै सबैभन्दा गहिरो स्थान । समुद्र सतहदेखि सबैभन्दा गहिरो र सबैभन्दा उच्च स्थान सगरमाथा यही क्षेत्रमा पर्छ । यी दुवैका लागि उपयुक्त मध्यबिन्दु हो गोठ गाउँ ।

हावापानीको कुरा, न अचाक्ली चिसो न त अचाक्ली तातो । यी दुवै खाले भौगोेलिकता र आवहवाको संगम हो गोठगाउँ । त्यो भन्दा पनि अझै महत्त्वपूर्ण कुरा अर्काे छ ।

के हो त्यो महत्त्वपूर्ण कुरा ?

त्यो मापदण्ड भनेको अन्तर्राष्ट्रिय मापदण्ड नै हो । राजधानी निर्धारण गर्नेबारे छिमेकी देशसँगको बोर्डर र शान्ति सुरक्षा । यो अत्यन्त संवेदनशील कुरा हो ।

यसलाई कम आँक्न मिल्दैन । हाम्रो छिमेकी राष्ट्रलाई हेरेर हामीले पनि आफ्नो सुरक्षा संवेदनशीलता नअपनाउने भन्ने कुरै हुँदैन ।

अन्तर्राष्ट्रिय मापदण्डले कुनै पनि देश वा प्रदेशको राजधानी ती दुई देशको सिमाना भन्दा ३० किलो मिटर टाढा हुनु पर्ने मान्यता राख्छ ।

विराटनगर यस हकमा अत्यन्त संवेदनशील प्वाइन्ट हो भने धनकुटा जनताको एक्सेसदेखि भौगोलिक सुगम्यता, भौतिक पूर्वाधार र विविध पक्षले निकै टाढा भएको अनुभव हुन जान्छ ।

त्यसैले यस्ता वैज्ञानिक मापदण्डको कसीमा हेर्दा गोठगाउँ प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त विकल्प हो ।

किनकि यहाँको बसेको समथर भूमि बजारका लागि, कृषिका लागि, पर्यटनका लागि, हावापानीका लागि, बोर्डर डिस्ट्यान्सका दृष्टिले, अस्पतालदेखि अन्य भौतिक संरचना विस्तारसम्मका हिसाबले उपयुक्त विकल्प नै हो भन्नेमा लगभग सिंगो प्रदेश नम्बर एक नै कन्भिन्स्ड छ भन्ने मलाई लाग्छ ।

कसरी ?

हैन, जे हो त्यही त स्वीकार गर्नु पर्छ नि ।

विवाद गर्दा गर्दा जब थाक्छ, मान्छे त्यतिबेला आफ्नो वस्तुगत हैसियत जे हो त्यही स्वीकार गरेर समाधानका लागि शान्ति वार्तामा त आउनु पर्दाे रहेछ नि, हैन र ?

त्यसैले हामी राजधानी यहाँ र उहाँ राख्ने झगडाका लागि जनताको यो अभिमत लिएर आएका हैनौं, सही विकल्प सहितको समृद्ध मुलुकका लागि विकास र अमन चैन दिन आएका हौ भन्ने बोध हुने बित्तिकै झिनामसिना कुरामा कोही पनि अल्झेर समय बर्बाद गर्दैन जस्तो मलाई लाग्छ भनेर मैले अघि पनि बताएको हुँ ।

आफ्नै प्रदेशको विकासका कस्तो छ खाका ?

मैले दुई कोणबाट यहाँको विकास बारे सोचेको छु । एक त समग्र प्रदेशको उन्नति, विकास र समृद्धिबारे मैले सोच्नै पर्छ । भोलि बन्ने प्रदेश सभामा मेरो पनि दायित्व यसमा जोडिएर आउँछ ।

दोस्रो हो, मोरङ–३ को ‘२’ का जनताको अपेक्षा मैले सबैभन्दा पहिलो प्राथमिकताका साथ समेट्नु पर्ने हुन्छ । यो प्रदेश हजारौं सम्भावनाले युक्त छ ।

मैले अघि पनि भने, यहाँको भौगोलिक सुगम्यता, जनताको विकास र चेतनाको स्तर, विकासमा जनसहभागिता र जनलहर, उत्साह, द्वन्द्वकालीन समयमा पनि बन्द हड्ताल जस्तो अप्रिय हिंसा नहुनु यी कुराले यो क्षेत्र जो सुकैलाई लागि पनि लोभ्याउने पक्षहरु हुन् ।

यहाँको जमिनको वर्गीकरण, यहाँको माटोमा हुने उब्जी, यहाँको हावापानीले दिएको वरदान, यहाँ हुने माछा पालनदेखि जंगल, जमिन, जल र जनशक्तिको सही परिचालनका लागि मसँग एउटा योजनाबद्ध खाका छ ।

जुन कुरा मैले जनता माझ पनि स्पष्ट राखेर आएको छु । त्यसकै आधारमा मैले यो क्षेत्रको विकास, उन्नति र समृद्धिका लागि काम गर्ने छु ।

राष्ट्रिय र प्रदेश तहमा प्रदेश सरकार, केन्द्र सकारका नीति कार्यक्रमबाट म पनि निर्देशित हुनै पर्छ भने हामीले चुनावताका घोषणा गरेको कार्यक्रमहरु मेरा लागि सधै प्राथमिकतामा रहने छन् ।

तपाईको विकासको प्राथमिकता चाहिँ के हुन् त ?

यस क्षेत्रमा सम्भावना र समस्या दुवै छन् । यहाँको बर्सेनी समस्याका रुपमा रहेको कुरा हो सुकुम्बासी समस्या । झन्डै १२ हजार हाराहारीमा रहेका सुकुम्बासीहरुको दीर्घकालीन सेटलमेन्ट मेरो प्राथमिकता हो ।

दलित, जनजाति, लोपोन्मुख र सुकुम्बासी सहित जसको जग्गाधनीपूर्जा छैन, यहाँको प्रदेश सरकारले निर्धारण गरेपछि वर्गीकरण गरिएको जमिन जहाँ ऐलानी जग्गा छन्, जसको सदुपयोग गर्न जरुरी छ, त्यहाँ व्यवस्थापन गरिने छ ।

त्यस्तै, लोहन्द्रा खोलाको बर्सेनी हुने समस्या ।

यसको दीर्घकालीन समाधान दिने गरी मैले काम गर्ने छु । यसको अल्पकालीन र दीर्घकालीन समाधान गरिने छ । स्थायी तटबन्ध गरेर जनलाई आवासीयस सुविधा दिन सकिने अवस्था छन् ।

किसानका लागि चिस्यान केन्द्रको स्थापना, आदिवासी जनजातिको केन्द्र नै रहेको यस स्थानको लागि आदिवासी जनजाति प्रतिष्ठानको निर्माण, यहाका सिमसार क्षेत्रको संरक्षण र पर्यटकीय, धार्मिक र सांस्कृति स्थलको विकास ।

यो क्षेत्रको सम्भावना पनि त्यतिकै छ ।

सुकुना बहुमुखी र बेलबारी बहुमुखी २ ओटा त राष्ट्रिय स्तरका क्याम्पस छन् । भौतिक उपकरण र संरचनाले युक्त ३ सय बेडको पूर्वाञ्चल विश्वविद्यालयसँग जोडिएको अस्पताल ।

यसै पनि विराटनगर आर्थिक केन्द्र पनि हो ।

त्यसमा पनि सुन्दर हरैचाको वडा नम्बर ११ मा पर्ने औषधी उत्पादन केन्द्र, जसलाई सही ढंगले चलाउँदा मुलुकलाई नै कतिपय औषधीमा आत्मनिर्भर बनाउन मद्दत पुग्छ ।

आफ्नो क्षेत्रमा औषधी वितरणका हकमा त नयाँ युगमै फड्को मार्ने ताकत यो क्षेत्रमा छ ।

यसरी प्राथमिकता, स्रोत साधन, उपलब्धता र आवश्यकताका आधारमा योजनाबद्ध विकासको युग यो प्रदेशमा भित्रिने छ भन्नेमा म विश्वस्त छु ।

 

 

...

शनिबार, ८ पुस, ०७४

 

प्रतिक्रिया

Related