सुन्दरमणिको पण्डित्याईँदेखि गायनसम्मको यात्रा

गायक, रचनाकार तथा संगीतकार सुन्दरमणि खतिवडा परिवारका माइला छोरा हुन् । उनको परिवारमा आमा, ३ दाजुभाइ ३ दिदीबहिनी हुनुहुन्छ । उनी दोलखाको श्री हिलेपानी संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरी काठमाडौं छिरेका हुन । उनले संगीतमा २०६३ मा आर. आर. क्याम्पसबाट आइ. ए. पास गरेका हुन् । २०७३ सालमा उनको ‘परदेशीको छोरा’ गीति सङ्ग्रह बजारमा आएको छ । काठमाडौँ बसाइका क्रममा खतिवडाले पण्डित्याईं, दोहोरी गायक, फार्मेसीसम्मको कामको अनुभव लिएका छन् । उनको विचारमा सांगीतिक क्षमता भनेको ‘जन्मजात प्राप्त’ हुने कुरा हो । सांगीतिक विषयमा सुन्दरमणि खतिवडासँग गरिएको कुराकानीमा आधारितः

तपाईंको पारिवारीक पृष्ठभूमि बताइदिनुस् न ।

म मध्यम वर्गीय परिवारको सन्तान हुँ । म २ वर्ष र मेरो भाइ ११ महिनाको हुँदा मेरो बुबा बित्नुभयो । शिक्षादिक्षामा राम्रै थियो । घाँसदाउरा गर्दै एसएलसी गरेर काठमाडौँ आइ दाइसँग बसेर पढेँ । आर. आर. बाट २०६३ सालमा संगीत विषयमा आइ. ए. गरेको छु ।आर्थिक अवस्था कमजोर हुँदा मैले काठमाडौँको यजमान, फार्मेसी र दोहोरी साँझमा गाउने, होटलसम्म रोजगार गरेको छु । आर्थिक अभाव, स्वास्थ्यमा समस्याका कारण संगीतलाई समय दिन सकिरहेको थिइन । अहिले त्यसलाई पुनः निरन्तरता दिँदैछु ।

तपाईंको विचारमा संगीत के हो ?

संगीत भनेको जन्मजात प्राप्त हुने लयात्मक प्रस्तुति हो । संगीतका लागि रहरले भन्दा पनि जन्मजात वा बाल्यकालदेखिकै शोख, चासो र उक्त क्षेत्रमा लगाव हुनुपर्छ ।

संगीतको क्षेत्रमा लाग्न तपाईंले कसबाट प्रेरणा पाउनु भयो ?

आमाले गीत राम्रो गाउनुहुन्छ । आमाको प्रेरणाले मनमा सांगीतिक वातावरण बनाइदियो । त्यसपछि गायक नारायण गोपाल, बिमा कुमारी दुरा, भगवान भण्डारीजस्ता गायकबाट प्रभावित भएर गायनको क्षेत्रमा लागेको हो ।

संगीतमा भविष्य कस्तो देख्नुभएको छ नि ?

यस क्षेत्रमा भित्रिँदैमा सम्पत्ति कमाइने होइन । यसमा निरन्तर साधना गर्नुपर्छ । सालघारी दोहोरी साँझमा १ वर्ष गायनको अनुभव छ । अहिले संगीतको कक्षा र रियाजमा निरन्तरता लिइरहेको छु । निरन्तर प्रयास र लगनशीलताबाट सफल हुने सम्भावना देखेको छु ।

संगीतले मात्र बाँच्न गाह्रो छ भन्छन् नि यसको अलावा के गर्नुहुन्छ नि ?

हो । संगीतले मात्र पेट पाल्न मुस्किल छ । म संगीतको अलावा अहिले होटल क्षेत्रमा काम गर्दैछुु । सिडी बिक्री हुँदैनन् । यो सञ्चार माध्यामको युग हो । स्रोताको चाहनाअनुसारका गीत बनेभने गायकलाई केही राहत हुन्छ । त्यसको लागि कडा मेहनत गर्नुपर्छ ।

सरकारले सांगीतिक क्षेत्रमा कस्तो सहुलियत दिएको छ ? अझै सुधार्नुपर्ने अवस्था के देख्नुभएको छ ?

सरकारले गायनको क्षेत्रमा लागेकालाई त्यस्तो सहुलियत दिन सकेको छैन । सांगीतिक चाह गायकको नसा नसामा सञ्चार हुन सक्नुपर्छ । जो पायो त्यही संगीतकार तथा गायक चाहेर पनि बन्न सक्तैनन् । यसर्थ, सरकारले गायकको चाहनालाई बुझी स्वर परीक्षण गरेर आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक सहयोग गरी अगाडि बढ्न हौसला दिनुपर्छ । सरकारले अहिलेसम्म गाउँलेका रुची तथा भावना बुझ्न सकेको छैन । गायन तथा संगीत सर्जकमा आफैँ आउने प्राकृतिक कुरा हो । आर्थिक अभावका कारण प्राकृतिक शक्तिलाई एल्बममा ल्याउन नसक्नेलाई सरकारले प्रकाशित प्रसारित गर्न सहयोग गर्नुपर्छ ।

तपाईंले संगीतको क्षेत्रमा प्रयाप्त अभ्यास बिनै म्युजिक भिडियो निकाल्नु भएको छ । अहिले फर्केर हेर्दा आफ्नै म्युजिक भिडियोमा केही कमजोरी देख्नुभएको छ ?

मैले आइ. ए. संगीतमा पास गरेपछि भिडियो निकालेको हुँ । त्यसबेला मैले अन्य म्युजिकको कक्षा लिएको थिइन । त्यस म्युजिक भिडियोको अहिले लय र स्वरमा केही कमी देखिन्छ । त्यसर्थ, रियाजले आधुनिक संगीततिर लान सकिन्छ भनेर अहिले संगीतको कक्षा लिइरहेको छु ।

अहिले गल्ली गल्लीमा खुलेका रेकर्डिङ स्टुडियोबाट तापईँजस्ता गायक तथा संगीतकारलाई कस्तो असर परिरहेको छ ?

गल्ली गल्लीमा खुलेको रेकर्डिङ स्टुडियोबाट बजारमा छ्यासछ्यासती म्युजिक भिडियो निस्किएका छन् । १० हजारको लगानीमा गीत निकालिदिन्छु भनेर लिने अनि अडियोमा गुणस्तर कम गर्ने, स्वर, संगीत भनेजस्तो नहुनेजस्ता समस्या हुन्छन् । यसैगरी, स्वर र संगीतमा सामान्य जानकारी नभएका व्यक्तिले पनि पैसा खर्च गरेर एल्बम निकाल्ने परिपाटी व्यापक भएको छ । यस्तो विकृति हट्नुपर्छ । स्वर परीक्षण गराएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।

गायनको क्षेत्रमा लागेका नव गायकलाई के सुझाव दिन चाहनुहुन्छ ?

संगीत जन्मजात र प्रकृतिले दिने कुरा हो । लहैलहैमा लागेर हैन कुन कुरामा बढी रुची हुन्छ त्यसलाई बुझेर आफ्नो क्षेत्र निर्धारण गरी अगाडि बढ्न अनुरोध गर्दछु ।

...

अाइतबार ९, पुस ०७४

प्रतिक्रिया

Related