अछामलाई च्याउमा आत्मनिर्भर बनाउने सपना साँधेका कृषक युवाको कथा

उनले भने, ‘सपना नदेखी विपना हुँदो रहेनछ । दुख नगरी सुख पनि नहुने रहेछ’
निर्माण सञ्चार, अछाम । नेपालमा रोजगारीको अवसर छैन भन्दै विदेश जाने युवालाई ठाडो चुनौती दिने एक अछामी युवा हुन् गुमान सिंह बटाला ।

उनी भन्छन्, ‘आफूमा काम गरी खाने जाँगर हुँदैन अनि विदेशमा चाहिँ आकासबार्ट पैसा झर्छ जस्तो ठान्छन् नेपाली युवा ।’

‘नेपालमा रोजगार छैन अब विदेश जानु पर्यो’ भन्ने वाक्य त नेपाली युवाका लागि मन्त्र जस्तै बनिसकेको छ । तर यो मुलुकमा काम नपाएर बेरोजगार हुनेको संख्या कमी छैन, कामका लागि खोजेजस्तो मानिस पनि पाइन्न ।

धेरैजसो व्यवसायीको गुनासो छ, ‘यहाँ कामले कामदार खोजिरहन्छ, काम गर्नेले काम खोजिरहन्छन्, तर यी दुईका बीचमा भेट नै हुँदैन । कारण, हातमा सीप भएको सक्षम युवा पनि नभएर हो ।’

विदेशी भूमिमा ९० डिग्रीको चर्को घाममा १२/१४ घन्टा पसिना तप्पतप्प चुहाउन तयार हुने युवाहरु आफूमै सीप तिखार्ने र मुलुकमै केही गर्ने आँट सपना बोक्नेहरु थोरै हुनछन् ।

तिनै मध्ये एक हुन् अछामलाई च्याउको आत्मनिर्भर बनाउने सपना बोकेका युवा व्यवसायी बटाला ।

उनी भन्छन्, ‘पराईको देशमा रगत र पसिना १६ घन्टा चुहाउनु भन्दा त घरको अन्न खाएर आफ्नो देशमा ४ घन्टा काम गर्न किन लजाउँछन् हाम्रा युवा ?’

अछाम जिल्ला विनायक पञ्चदेवल नगरपालिका वडा नम्बर–७ पुनेतोला बस्ने गुमान सिंह बटाला यतिबेला सदरमुकाम मंगलसेन बजारमा उनले आफ्नो च्याउलाई ब्रान्ड बनाइरहेका छन् ।

मंगलसेन नगरपालिका वडा नम्बर–५ मा उनको सन्तला बारीमा २ लाख १० हजारको लगानीमा च्याउ खेती सुरु गरेका उनले नेपाली युवाहरुमा आफ्नै देशका लागि काम गर्ने सपना र जाँगर नभएको गुनासो गरे ।

आज भन्दा करिव २० वर्ष पहिला भारत गएका थिए उनी । १४ वर्ष काम गरे त्यहाँ उनले । तर मनले मानेन न त विदेशमा कमाएको पैसाले नै पुग्यो । अनि फर्किए आफ्नै जन्मभूमि ।

जुन भूमिमा उनी यतिबेला पैसैपैसा फलाइरहेका छन् । बटालाले आफ्नो च्याउ खेतीमा २ जना युवालाई रोजगारी पनि दिइरहेका छन् ।

विदेशी भूमिमा अर्काको काम गर्नु भन्दा आफ्नै देशमा केही काम गर्नु उत्तम भन्ने सोच राखेर २०७१ सालमा उनले च्याउ खतीमा गर्ने सपना बुने ।

उनले भने, ‘सपना नदेखी विपना हुँदो रहेनछ । दुख नगरी सुख पनि नहुने रहेछ ।’

यतिबेला उनका ५ ओटा दुर्गा च्याउ फार्म छन् । एउटा फार्मलाई चाहिँ सञ्चालनमा ल्याएका छन् । यौटा फार्मबाट अनुभव बटुलेका उनी अब बाँकी चारओटा च्याउ फार्ममा पनि च्याउ खेती गर्ने तयारीमा छन् ।

उनले भने, ‘हामीले विदेशमा पसिना चुहाएर पाउने भन्दा रामै्र पैसा आफ्नै ठाउँमा गर्ने हो भने पाउन सक्छौं भन्ने मैले राम्ररी बुझें । कामले मलाई सिकाएको छ ।’

उनले थपे, ‘अब च्याउ खेतीबाट आफू आत्मनिर्भर बन्छु अनि अछामलाई नै आत्मनिर्भर बनाउने गरी अघि बढ्छु ।’

राम्रो सहयोग नै गर्दैनन् सरकारका यी निकाय, कसरी लोभियून नेपाली युवा ?

आफ्नै बलबुताले यति धेरै काम गरेका बटालाको सरकारी सहयोगको पाटो भने दुखलाग्दो छ । नेपालको राष्ट्र बैंकले कृषि क्षेत्रमा दिने सहुलियत ऋण पनि यहाँको स्थानीय बैंकबाट पाउन नसकिएको उनको गुनासो छ ।

उनका अनुसार स्थानीय नगरापालिका, जिल्ला समन्य समिति, कृषि विकास कार्यालय, कृषि क्षेत्रमा काम गर्न संघ–संस्थाहरु कसैले पनि उनलाई केही पनि सहयोग नै गरेनन् ।

उनले भने, ‘केही गर्छु भनी आफ्नै माटोमा लागिपरेको मजस्तो युवालाई न त बैंकले ऋण माग्दा दियो, न त नगरपालिकाले नै केही सहयोग गर्यो । कृषिका लागि खुलेका कृषि विकास बैंकहरु समेत यहाँ ब्याज लगाएर नाफा खाने खेतीबाहेक केही गर्दैनन् । एनजिओ र आइएनजीओ आउँछन्। कृषिमा क्रान्ति गर्ने गफ लाउँछन् । तर, केही गरौं भनेर पाखुरी बजार्ने मजस्तो युवालाई भने सहयोग गरेनन् ।’

यतिबेला जिल्लामा च्याउ खेतीको बजार पनि सुकेको छ । तैपनि आफु सन्तुष्ट रहेको उनको भनाइ छ । धेरथोर बिक्री गर्दै उनी आफ्नो व्यवसाय चलाइ रहेका छन् ।

आउने दिनमा उनी अछाम बाहिर पनि च्याउ पठाउने सोचमा काम गरिरहेका छन् यतिबेला । बटालाले अहिले पनि सदरमुकाम मंगलसेनमा दैनिक २० देखि २५ केजी च्याउ बिक्री गर्ने गरेका बताए ।

किन भारत छोड्नु भयो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘भारतीयहरुले नेपालीलाई ज्यादै हेप्छन् । उनीहरुको हप्काइ र हेपाइ कति दिन सहने भनेर म आफ्नै मुलुकमा केही गर्ने सपना बोकेर आएँ ।’

यतिबोल स्थानीय कृषकहरुको जग्गामा भडामा लिएर उनले च्याउ खेती गरेका हुन् ।

 

___

अछामबाट गोविन्द कुँवरको रिपोर्ट

 

 

...

आइतबार, ९ पुस, ०७४

 

प्रतिक्रिया

Related