पकेट क्षेत्रमै सुन्तलाको अभाव, सरोकारवाला मौन

एकातिर उत्पादित सुन्तला सस्तोमा अन्य जिल्लामा बिक्री, अर्कोतर्फ बाहिरबाट आयत गरिएका सुन्तला सो मूल्यभन्दा ७ गुणा बढी मुल्य
निर्माण सञ्चार, अछाम | सुन्तलाको लागि पकेट क्षेत्रको रुपमा परिचित मानिने अछाम जिल्लामा हाल सुन्तलाको सिजनमा पनि बाहिरबाट आयत गर्नुपर्ने अवस्था आएको छ ।

७–८ बर्ष पहिले प्रशस्त सुन्तला उत्पादन हुने यस जिल्लाका कतिपय स्थानमा सुन्तलाको बोट पनि देखिन छोडेका छन् भने स्थानीयहरुले पनि बाहिरबाट आयत गरिएका सुन्तला महँगोमा किनेर खानपर्ने अवस्था छ ।

कृषि विकास कार्यालय अछामका अनुसार जलवायु परिवर्तन, सुन्तलामा लाग्ने लाई किराका कारण, ग्रिनिका भाइरसका कारण व्यावस्थापन नहुनु तथा रोगका कारण सुन्तलाका पुराना बोटहरु नष्ट भएको कारण सुन्तला उत्पादनमा वृद्धि नभएको हो ।

अब नयाँ कलमी गरिएका विरुवा नलगायसम्म सुन्तला उत्पादनमा वृद्धि नहुने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख विष्णुहरि देवकोटाले बताए ।

जिल्लाको सदरमुकाम मंगलसेन तथा तोषि, तुर्माखाद, मार्कु, सिउडी, पायल, कुन्तिबन्डाली, बुढाकोट, लुग्रा लगायतका ठाउँमा आत्याधिक रुपमा सुन्तला उत्पादन हुने गरेका थियो ।

हाल तोषि, तुर्माखाद, लुग्रा, कुन्तिबण्डाली, मार्कु गाविसमा सुन्तला प्रशस्त मात्रामा उत्पादन भएपनी बाँकी स्थानमा सुन्तला खासै उत्पादन हुन छोडेका छन् ।

अत्याधिक सुन्तला उत्पादन हुनेगरेको सदरमुकाम मंगलसेनमा समेत अहिले जिल्ला बाहिरबाट आयत गरिएको सुन्तलाले माग धान्नुपर्ने अवस्था आएको छ ।

कृषि विकास कार्यालयले यो वर्ष जिल्लाका विभिन्न नर्सरीबाट ३ हजार ६ सयको हाराहारीमा सुन्तलाका विरुवा वितरण गरेको बताए पनि मंगलसेन र आसपासकै क्षेत्रमा सुन्तलाको बोट देखिएका छैनन् ।

उक्त विरुवाहरुको अवस्था के छ भनेर कार्यालयले अनुगमन पनी गरेको देखिएको छैन ।

कार्यालयले दिएको आँकडा विपरित तोषिका सुन्तला कृषकखम्म चलाउनेले भने उक्त क्षेत्रमा ३० वर्ष पुराना बोटबाट राम्रो उत्पादन भएको बताए ।

नयाँ विरुवा पनि स्थानीय स्तरमै उत्पादन हुने गरेको कृषक चलाउनेलेको भनाइ छ ।

कृषि कार्यालयले कलमी गरिएका नयाँ विरुवा लगाउन कृषकलाई सुझाव दिए पनि कृषकहरु ती कलमी विरुवाले लामो समय फल नदिने र स्थानीय जातको जस्तो रसिलो र स्वाद नहुने बताउँछन् ।

जिल्लामा माग भए स्थानीय जातका १० देखि १२ हजार विरुवा तोषि क्षेत्रबाटै विक्रि गर्न सकिने कृषक चलाउनेको दाबी छ । सदरमुकाम लगायतका शहरी क्षेत्रमा अहिले बाहिरबाट आयत गरिएका सुन्तला प्रति गोटा १० देखि १५ रुपियाँमा विक्रि भईरहेको छ ।

यता तोषि, तुर्माखादमा उत्पादन भएका सुन्तला भने दैलेख तथा जुम्ला जिल्लाका ग्राहकहरुले बोटमै आएर २ रुपियाँ गोटाले किन्ने गरेका छन् ।

यसअनुसार अछाममा एकातिर उत्पादित सुन्तला सस्तोमा अन्य जिल्लामा बिक्री भैरहेको छ, अर्कोतर्फ बाहिरबाट आयत गरिएका सुन्तलालाई स्थानीयले सो मूल्यभन्दा ७ गुणा बढी मुल्य हालेर सुन्तला खान बाध्य छन् ।

मौसमअनुसार सुन्तला नबेचे भण्डारन गर्न समस्या हुने हुँदा दैलेख जुम्लालगायत जिल्लाका ग्राहक आएर बोटमै मुल्य दिँदा सस्तो भाउमै भएपनि सुन्तला बेच्न बाध्य भएको कृषक चलाउनेको भनाइ छ ।

कृषकहरुको सहकार्यमा जुस लगायत अन्य पेय पदार्थ उत्पादन गर्ने कारखाना खोल्ने वा भण्डारन गर्ने आधुनिक व्यवस्था गर्नसके अझ राम्रो आम्दानी गर्न सकिने उनको बुझाई छ । तर, त्यसको लागि कृषि विकास कार्यालय लगायतले सहयोग गर्नुपर्ने चलाउनेले बताए ।

उपयुक्त प्राविधिक सहयोग र बजार व्यावस्थापन गर्नसके फेरी यस क्षेत्रलाई सुन्तलामा आत्मनिर्भर बनाएर प्रशस्त आर्थिक लाभ लिन सकिने कुरामा कृषकहरु विश्वस्त छन् ।

पुराना विरुवा के कारणले नष्ट भए, अब कसरी जिल्लालाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले बेलैमा ध्यान दिए आर्थिक विकास हुने पायल चौरपाटी गाउँपालीका ४ का नन्द सिंह कुँवरले बताए ।

अछामलाई गरिबी रेखाबाट माथि उठाउला कि भन्ने आशा रहे पनि सम्बन्धित पक्षको उचित ध्यान नपुगेका कारण यो क्षेत्र अझै पछि परकेो छ । जिल्ला कृषिले दिनु पर्ने चासो नदिएको कृषकहरु गुनासो छ ।

....

अछामबाट गोविन्द कुँवर

...

मंगलबार, ११ पुस ०७४ 

 

प्रतिक्रिया

Related