यसरी सबैभन्दा धनी बन्छ प्रदेश नम्बर ७ ?

४५ प्रतिशत जनता गरिबीको रेखामुनि, समृद्धिको सम्भावना प्रचुर
निर्माण सञ्चार, काठमाडौँ | विकासको हिसाबले अन्य क्षेत्रको तुलनामा पछाडि रहेको क्षेत्र हो, प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम ।

४५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको यस क्षेत्रमा समृद्धिको सम्भावना भने प्रचुर मात्रमा रहेको छ ।

किनकी यहाँ देशभरकै झण्डै एक तिहाई विद्युत् उत्पादन गर्न सकिन्छ भने अतिआवश्यक जडिबुटीको भण्डार पनि यसै प्रदेशमा रहेको छ ।

साथै प्राकृतिक सम्पदा तथा धार्मिक स्थलमा पनि सो प्रदेश धनी मानिन्छ । २०५१ सालमा कर्णाली पुल बनेपछि भौगोलिक रुपमा देशका अन्य भूभागसँग जोडिएको सुदूरपश्चिम विकास र भावनाले राज्यको मूल प्रवाहमा भने जोडिन सकेको छैन ।

तर, भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले भने प्रदेश ७ समृद्ध बन्ने बाटो खुला गरिदिएको छ ।

 कस्तो छ जलविद्युत्को सम्भावना ?

७ नम्बर प्रदेशमा देशभरको उत्पादन क्षमताको झण्डै एकतिहाइ विद्युत् उत्पादन गर्न सकिन्छ ।

यस क्षेत्रमा जलविद्युत्को सबैभन्दा ठूलो सम्भावना रहेको बताउँछन् सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त ।

‘सोही क्षमताले मात्रै यो प्रदेश समृद्ध बन्न सक्ने डा. पन्त दाबी गर्छन् ।

जसअन्तर्गत प्रदेश ७ मा १० हजार मेगावाटको कर्णाली, ६ हजार ७ सय ८० मेगावाटको पञ्चेश्वर, ७ सय ५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटको चमेलिया छन् ।

साथै निजी क्षेत्रबाट अपी हाइड्रो पावरले विद्युत् निकासी समेत गरिसकेको छ । यसैगरी साना तथा मझौला हाइड्रोपावरको पनि यहाँ प्रशस्त सम्भावना रहेको छ ।

यसअनुसार प्रदेश ७ मा ३३ हजार मेगावाट विद्युत्को क्षमता छ । पर्यटन, जडिबुटी र हाइड्रोपावरको पनि प्रचूर सम्भावना रहेको छ, यस क्षेत्रमा ।

यस्तो छ धार्मिक पर्यटनको अवस्था ?

प्रदेश नम्बर ७ मा समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको अर्को क्षेत्र हो पर्यटन ।

सो प्रदेशमा करिब ८ देखि १० घन्टा सडक दुरीमा छिमेकी विशाल मुलुक भारतको राजधानी नयाँदिल्लीसहित करिब आधा दर्जन बढी ठूला सहर छन् ।

यहाँ भारतबाट नै लाखौं पर्यटन ल्याउन सकिने सम्भावना रहको छ । वर्षेनि लाखौँको संख्यामा भारतीयहरु यस क्षेत्रमा भ्रमण गर्दछन् ।

पर्यटन व्यवसायी कृष्ण महरा भन्छन्, ‘भारतबाट मानसरोवर यात्रा गर्ने सबैभन्दा छोटो, सुलभ र सस्तो मार्ग प्रदेश नम्बर ७ हो ।

बझाङको चैनपुर हुँदै चीन जोड्ने ताक्लाकोट नाकासम्म सडक सञ्जाल विस्तार गरेमा लाखौं भारतीय तीर्थयात्री मानसरोवर यात्रामा जान सक्ने महारा बताउँछन् ।

‘दक्षिणबाट उत्तर जोड्ने नाकाको दुरी ३ सय किलोमिटर छ,’ डा. पन्तले भने । हाल मानसरोवर जाने भारतीय पर्यटक लामो र झन्झटिलो बाटो प्रयोग गर्न बाध्य छन् ।

त्यस्तै, बाजुराको बढीमालिका, कैलालीको बेहेडावावा, डोटीको बढीकेदारलगायतका धार्मिक स्थलमा ठूलो संख्यामा भारतीय नागरिक पुग्ने गरेका छन् ।

‘प्रदेश नम्बर ७ सँग जोडिएका भारतका उत्तर प्रदेशलगायतका ठाउँमा मात्र करिब ३२ करोड बढी आवादी छ ।

सोही क्षेत्रबाट वर्षेनि दसौँ लाख धार्मिक पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी सञ्जय चौधरीले जानकारी दिए ।

अर्बभन्दा बढी जनसंख्या भएका भारत र चीन दुई देशका बीचमा हामी भएकाले यहाँ पर्यटक भित्रिने सम्भावना धेरै रहेको उनको भनाइ छ ।

सुदूरपश्चिमबाट ८–१० घन्टाको सडक दुरीमा भारतको आधा दर्जन बढी ठूलाठूला सहर रहेकाले ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ ।

लखनउ, रुद्रपुर, बरेली, दिल्ली, गुडगाउँ, कानपुरलगायतका भारतका सहरबाट सुदूरपश्चिममा पर्यटक आउन सक्छन् ।

खप्तड, रामारोशन, बढीमालिका, शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, अपी र सैपाल हिमाल यहीं छन् । भारतमा गर्मी छल्न एक महिना बिदा हुन्छ । भारतमा गर्मी छल्ने ठाउँ नैनिताल र सिमला मात्र छन् ।

भारतीय पर्यटक गर्मी छल्न यहाँ आउन सक्छन् । कैलालीकै खानीडाँडालगायत पहाडी जिल्लाका ठाउँ गर्मी छल्न उपयुक्त छन् । यस्तै प्रदेश ७ मा शुक्लाफाँटा, घोडाघोडी ताल, टीकापुर पार्क छन् ।

उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, निगलासैनी, बढीमालिकालगायतका शक्तिपीठ यसै प्रदेशमा छन् ।

 जडिबुटी

दार्चुला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य यार्सागुम्बा पाइन्छ । यसैगरी पाँचऔँले, केशरलगायतका अमूल्य जडिबुटी यहाँ छन् ।

उचित नीति र व्यवस्थापनको अभावमा यी जुडिबुटीबाट देशले फाइदा लिन सकेको छैन । ठूलो परिमाणमा जडिबुटी तस्करी हुने र अन्य जडिबुटी पनि प्रशोधन गर्ने व्यवस्था नहुँदा सस्तोमा निर्यात हुने गरेका छन् ।

जडिबुटी प्रशोधन गरेमा यसले आर्थिक विकासमा ठूलो मद्दत गर्ने ऐश्वर्य बहुमुखी क्याम्पसमा प्रमुख धर्मदेव भट्ट बताउँछन् । देशभरमै धेरै तालतलैया भएको जिल्ला कैलाली यहीं छ ।

यहाँ माछापालन र मौरीपालनको धेरै सम्भावना छ । कैलालीमा माहुरी चराउन चितवनदेखि ल्याउने गरिएको छ । ० कृषि कैलाली र कञ्चनपुर तराईका दुई जिल्लामा धान, गहुँ, दलहनलगायतका खाद्यान्न उत्पादन राम्रो छ ।

यहाँको उत्पादनले प्रदेश नम्बर ७ लाई खाद्यान्नमा आत्मनिर्भर बनाएको छ । पहाडी जिल्लामा स्याउ, सुन्तलालगायतका फलफूल, अदुवाको राम्रो उत्पादन हुने गरेको छ ।

कृषि निर्देशनालयका अनुसार पहाडी जिल्लामा पनि नदी कोेरिडोरमा (महाकाली, सेती, बूढीगंगा, नदीका कोरिडोर) २५ हेक्टरदेखि सयौं हेक्टरका फाँट छन् ।

ती फाँटमा सिँचाइ, बाटो, सञ्चार, बिजुली पुर्याउन सकिएको छैन । सिँचाइ, उन्नत बिउ, मलखाद र वैज्ञानिक कृषि प्रणाली गरेमा अझै तीनगुणा बढी उत्पादन बढाउन सकिने कृषि विज्ञ बताउँछन् ।

 वन क्षेत्र

घना वनजंगल क्षेत्र पनि प्रदेश ७ को समृद्धिको महत्वपूर्ण आधार रहेको डा. हेमराज पन्त बताउँछन् । ‘वनमा आधारित उद्योग स्थापना गरेर यहाँको समृद्धि गर्न सकिन्छ,’ उनले भने ।

नेपालको कुल क्षेत्रफलमध्ये ३९.६ प्रतिशत वनले ओगटेको छ । प्रदेश ७ मा ९ हजार ४ सय ७६.६९ वर्ग किलोमिटर वन क्षेत्र रहेको छ, जुन ४८.५ प्रतिशत हो ।

राष्ट्रिय क्षेत्रफलको दाँजोमा प्रदेश नम्बर सातमा ९ प्रतिशत बढी वन क्षेत्र छ ।

 चुनौती

प्रदेश नम्बर ७ मा मुख्य चुनौती दक्षिण र उत्तरतिरका नाकासम्म जोड्ने सडक सञ्जाल विस्तार गर्नु रहेको डा. पन्त बताउँछन् ।

‘सबैतिर सडक सञ्जाल विस्तार गर्नुपर्ने चुनौती छ,’ उनले भने । यसैगरी अहिले पनि यस प्रदेशका दुरदराजका भेगमा १७–१८ औं शताब्दीको झझल्को दिने जीवनस्तर रहेको उनी बताउँछन् ।

गौरीफन्टा र वनबासा नाकाबाट १०–१२ वर्षका बालबालिका स्कुले पोसाकमै भारततिर मजदुरी गर्न गइरहेका देखिन्छन् ।

‘बाजेका पालामा पनि यसरी नै जान्थे, अहिले पनि यसरी जाँदैछन्,’ उनले भने, ‘भारतमा तिनीहरु अमानवीय काम गर्न बाध्य हुने गरेका छन् ।’

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट राजनीतिक दलहरुले विकासका मुद्दामा साझा धारणा बनाउन नसक्नु प्रमुख चुनौती रहेको बताउँछन् । ‘यहाँ प्रशस्त सम्भावना छन् ।

पार्टीगत स्वार्थभन्दा माथि उठेर यी सम्भावनालाई कार्यरुपमा बदल्न एक हुनुपर्ने चुनौती देखिन्छ,’ उनले भने ।

 

नागरिकको सहयोगमा

....

मंगलबार, ११ पुष ०७४ 

प्रतिक्रिया

Related