दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी चिनियाँ हुवाजिनसँग लगानी बोर्डको सम्झौता

५ पुस ०७२ मा वैदेशिक लगानी स्वीकृत भइसकेको उक्त कम्पनीको अहिले आएर प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको हो
निर्माण सञ्चार, काठमाडौं । नारायणी अञ्चलमा सिमेन्ट फ्याक्ट्री उत्पादन गर्ने योजना सहित नेपालको लगानी बोर्ड र चिनियाँ सिमेन्ट उत्पादक कम्पनी हुवाजिन बीच प्रारम्भिक आयोजना लगानी सम्झौता सम्पन्न भएको छ ।

यस अघि ५ पुस ०७२ मै नेपाल सरकार र उक्त कम्पनी बीच वैदेशिक लगानी स्वीकृत भइसकेको थियो । यसबीचमा उद्योग सञ्चालनका लागि खानीस्थल नपाएका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसैबीच गत मंसिर १२ गते धादिङको पानीखर्कमा रहेको खानी उत्खनन् गर्न हुवाजिनलाई खानी विभागले अनुमति दिएपछि दुवै पक्षबीच आयोजना लगानी सम्झौताको प्रक्रिया अघि बढाइएको हो ।

दैनिक ३ हजार टर सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको उक्त चिनियाँ कम्पनीसँग बुधबार लगानी बोर्डले प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको हो ।

प्रारम्भिक लगानी सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत *(सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले हस्ताक्षर गरेका छन् ।

अब यो सम्झौता नेपालकोे तर्फबाट लगानी बोर्डको बोर्ड मिटिङ र हुवाजिनका तर्फबाट पनि उनीहरुको बोर्डले पास गर्ने छ । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार त्यसपछि यो अन्तिम सम्झौता हुने छ ।

जग्गा खरिद स्वीकृति यस अघि नै

यस सिमेन्ट उद्योग सञ्चालनका लागि ३२ हेक्टर जग्गा आवश्यक पर्ने लगानी बोर्डको भनाइ छ । यसैबीच उद्योगका लागि चाहिने जग्गा खरिद गर्न सरकारले यस अघि नै स्वीकृति दिइसकेको थियो ।

त्यस अघि हदबन्दी भन्दा बढी जग्गा खरिद गर्न नेपाल सरकारले स्वीकृति नदिएका कारण जग्गा खरिद प्रक्रिया पनि रोकिएको थियो । तर, सरकारले जग्गाको हदबन्दी पनि यसअघि नै फुकाइसकेको प्रवक्ता वाग्ले बताउँछन् ।

शतप्रतिशत विदेशी लगानी, ‘हुवाजिन सिमेन्ट नारायणी’ कम्पनीको नाम

निकट भविष्यमा खुल्ने सिमेन्ट उद्योगका लागि ‘हुवाजिन सिमेन्ट नारायणी’ नामक कम्पनी पनि दर्ता भइसकेको छ ।

यो कम्पनीमा शतप्रतिशत विदेशी लगानी रहने छ भने उक्त आयोजना २० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी सेयरमा सञ्चालन गर्ने योजना अनुरुप कम्पनी अघि बढेको छ ।

आत्म निर्भर बन्दै, कतिले पाउँछन् रोजगार ?

पछिल्ला दिनमा क्लिंकर उत्पादन बाहेक नेपाल सिमेन्टमा झन्डै ७० प्रतिशतले आत्मनिर्भर बन्दै गएको सिमेन्ट उत्पादकहरु बताउँछन् ।

यही रुपले सिमेन्ट उत्पादन हुँदै गए नेपाल सिमेन्टमा आत्मनिर्भर बन्न सक्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाइ छ ।

यद्यपि यतिबेला क्लिंकर आयातमा भारतले अघोषित प्रतिबन्ध लगाएको छ । उत्पादन सुरु भएसँग यस उद्योगबाट ३ सय ५० ले प्रत्यक्ष रोजागारी पाउने आयोजकको दाबी छ ।

 

 

...

बुधबार, १२ पुस, ०७४

 

प्रतिक्रिया

Related