पुननिर्माणमा अझै साढे ३ खर्ब बजेट अपुग, अर्को दाता सम्मेलन गर्ने तयारी

चालू आर्थिक वर्षभित्र ६० प्रतिशत आवास पुनर्निर्माण गरिसक्ने सिइयो भुसालको दाबी
निर्माण सञ्चार, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट क्षति भएका निजी आवास, सम्पदा र सार्वजनिक भवन पुनर्निर्माणका लागि अझै साढे ३ खर्ब रुपियाँ अपुग हुने बताएको छन् ।

चालू आर्थिक वर्षका लागि बजेटको समस्या नरहेपनि पुनर्निर्माणका सबै काम सम्पन्न गर्न साढे ३ खर्ब बजेट अपुग हुने देखिएको उनको भनाई छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि त्यती रकम चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको बताए ।

उनले भने ‘पुनर्निर्माणका लागि अपुग हुने रकम जुटाउन आगामी आर्थिक वर्षमा दाता सम्मेलन गर्ने योजना बनाइएको छ ।’

सिईओ भुसालले विद्यालयहरूको भवन निर्माणका लागि मात्रै करिब ५० अर्ब रुपियाँ अपुग हुने देखिएको जानकारी गराए ।

भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि ३० महिना पहिले पनि सरकारले दाता सम्मेलन गरेको थियो । सो सम्मेलनमा दाताहरूले ४ खर्ब १० अर्ब ९५ करोड सहयोगको प्रतिवद्धता जनाएका थिए ।

हालसम्म भने ३ खर्ब ३६ अर्ब ६२ करोडको मात्र सम्झौता भएको छ ।

भुसालले भने, ‘०७५ को असारसम्म सम्मेलन हुन्छ, हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौं, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ ।’

उनले ७ खर्बको नोक्सानी भएकोले पुनर्निर्माणको लागि झण्डै ९ खर्ब चाहिने आफूहरुको प्रक्षेपण भएको बताए । उनले भने, ‘४२ अर्ब नेपालको आन्तरिकबाटै र ३०/३२ अर्ब दातृ निकायबाट काम भएको छ, भारतबाट एक खर्ब आउन बाँकी नै छ, २५ अर्ब आउने प्रक्रिया सुरु भैसकेको छ, ७५ अर्ब लाईन अब क्रेडिट भएकोले आउँछ ।’

भूकम्पबाट झण्डै ८ लाख निजी आवास क्षतिग्रस्त भएका थिए । तर, हालसम्म ७९ हजार ५ सय १४ निजी आवास मात्र पुनर्निर्माण गरिएका छन् ।

पुनःनिर्माणमा ४६ प्रतिशत प्रगति

प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणमा ४६ प्रतिशत प्रगति भएको बताएको छ ।

‘हामीले ४६ प्रतिशत समयमा पुनर्निर्माणमा राम्रो प्रगति हासिल गरेका छौं,’ सिइयो भुसालले भने, ‘यही गतिमा काम गर्न पाएको खण्डमा आगामी ५ वर्षमा हामी पुनर्निर्माणको काम सम्पन्न गर्छौं ।’

हाल १ लाख ९४ हजार निजी घर निर्माणको चरणमा रहेको जानकारी दिँदै सिइयो भुसालले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत आवास पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको बताए ।

उनले प्राविधिक कामदारको भने केही अभाव रहेको गुनासो पोखे ।

भुसालले भने, ‘हामीले ५६ हजार कामदारलाई तालिम दिएका थियौं, तर अहिले २५ हजार बाँकी छन्’ कोही विदेश गए, कोही बच्चा तथा महिलाहरु हुनुहुन्छ ।’

उनले धरहरा निर्माण पनि यही आर्थिक वर्षभित्र निर्माण सुरु गर्ने जानकारी दिए ।

उनले भने, ‘हामी विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, हेरिटेज कम्प्लेक्स बनाउने प्राधिकरणको सोच छ ।’

त्यस्तै, उनले रानीपोखरीको पुनर्निर्माणमा अहिले विवाद देखिएकोप्रति टिप्पणी गर्दै भने, ‘राष्ट्रपतिले पहिल्यै नै शिल्यान्यास गर्नुभएको छ, काठमाडौं महानगर र पूरातत्व विभागवीच केही विवाद छ, यसबारेमा अहिले छलफल चलिरहेको छ, छिट्टै यसको काम सुरु हुन्छ ।’

पछिल्लो समय पुनर्निर्माणको प्रगति उत्साहप्रद भएको सीईओ भूसालले दाबी गरे ।

यस्तो छ हालसम्मको पुर्निमाणको प्रगति विवरण ?

पहिलो किस्ता – ६,६४,६४४
दोस्रो किस्ता – ११५,१९२
तेस्रो किस्ता – २६,४५४
निजी आवास पुनर्निर्माण सम्पन्न – ७९,५१४
बन्दै गरेका घरहरू – १,९४,१९६
सरकारी भवन पुनर्निर्माण हुँदै – १२५
सरकारी भवन पुनर्निर्माण सम्पन्न – २०७
शैक्षिक संस्था पुनर्निर्माण हुँदै – १००४
शैक्षिक संस्था पुनर्निर्माण सम्पन्न – २७४१
साँस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै – १११
साँस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न – ७९
स्वास्थ्य संस्थारकेन्द्र पुनर्निर्माण हुँदै – ११९
स्वास्थ्य संस्था र केन्द्र पुनर्निर्माण सम्पन्न – २५७
सुरक्षा निकाय भवन पुनर्निर्माण हुँदै – १४०
सुरक्षा निकाय भवन पुनर्निर्माण सम्पन्न – ४४
खानेपानी पूर्वाधार पुनर्निर्माण हुँदै – ९६५
खानेपानी पूर्वाधार पुनर्निर्माण सम्पन्न – ९०४

 

पढौँ यो पनि
पुनर्निर्माण प्राधिकरणको औचित्यमाथि प्रश्नः पौने ३ वर्षमा ९० अर्ब सकिदा, काम १० प्रतिशत १

...


बिहीबार, १३ पुष ०७४

 

प्रतिक्रिया

Related