आत्मनिर्भर बन्दै बाराली महिला, व्यवसाय गर्न ८० लाख अनुदान प्रदान

नेपाल सरकार तथा गैरसरकारी संस्थाद्वारा तालिम प्रदान, १५ गाविसमा २५५ नागरिक सचेतना केन्द्र गठन
निर्माण सञ्चार, बारा | पहिला पुरुषको आम्दानीमा भरपर्ने बारा लगायत तराई मधेशका महिलाहरु हिजोआज आर्थिक रुपले घरको जिम्मेवारी बहन गर्न थालेका छन् ।

बाराली महिलाहरु विभिन्न गैरसरकारी संस्थाबाट तालिम लिएर व्यवसाय गर्दै आत्मनिर्भर हुन थालेका छन् ।

बाराको खोप्वा बस्ने ३७ बर्षीय सोना मण्डलले गाउँमै भुजापकौडाको पसल सञ्चालन गरेकी छन् ।

सामुदायिक विकास कार्यक्रमले संञ्चालन गरेको जिविकोपार्जन सम्बन्धी सचेतनामुलक तालिम लिएर मण्डलले व्यवसाय गर्ने जाँगर देखाएकी हुन् ।

पहिला यतिकै दिनभरी घरमा बस्नुपरेको थियो, हाल भने आफ्नै व्यापारमा व्यस्त छु, उनले भनिन् ।श्रीमानको आम्दानीले घरव्यवहार चलाउन गाह्रो मात्र हैन खर्च धान्न समेत कठिनाइ हुने गरेको अनुभव उनले बताइन् ।

व्यवसायबाट आम्दनी भएको रकमले ३ जना सन्तानको शिक्षा र घर खर्च टाल्न मद्दत पुगेको उनको भनाइ छ ।

उनले भनिन् ‘आफूले कमाएको रकमले छोराछोरी पढाइ र घरव्यवहारमा खर्च भइरहेको छ, श्रीमानको कमाइ बचत हुन्छ ।’

उनीलगायत अन्य महिलाहरु पनि विभिन्न समुहमा आवद्ध भएर सचेतनामुलक तालिम लिएर व्यावसाय गर्न थालेका छन् ।

गैर सरकारी संस्थाहरुले तालिममा सहभागी भएका महिलाहरुलाई व्यवसाय गर्न आधारभुत ज्ञान दिनुको साथै अनुदान समेत प्रदान गर्ने गरेका छन् ।

यसैबीच नेपाल सरकार तथा बेलायत सरकारको सहयोग तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन)द्वारा संचालित सामुदायिक विकास कार्यक्रम (सि.डी.पी)ले जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत जिल्लमा ८० ओटा विभिन्न महिलाहरुको संगठित नागरिक सचेतना केन्द्रहरुलाई व्यवसाय गर्न एकमुस्ट ८० लाख अनुदान प्रदान गरेको छ ।

बेरोजगार तथा गरिब ग्रामीण महिलाहरुलाई लक्षित गरेर व्यपार व्यवसाय गर्न उक्त रकम प्रदान गरेको सामुदायिक विकास कार्यक्रमका बारा जिल्ला संयोजक विपिन दासले बताए ।

‘साविकको १५ गाविसमा महिलाहरुका लागि २५५ नागरिक सचेतना केन्द्र गठन गरि तालीमसहित व्यवसाय गर्नको लागि प्रत्येक केन्द्रलाई एक लाखको दरले ८० लाख प्रदान गरिसकेको र अझै १ करोड ७५ लाख अनुदान वितरण गर्न बाँकी रहेको संयोजक दासले बताए ।

महिलाहरु आर्थिक रुपले सवल भए मात्रै समाजको विकास हुने उनको तर्क छ ।

यद्यपी महिलाहरुलाई उपयुक्त प्राविधिक ज्ञान, सीपमूलक तालिम र लघु कर्जाको व्यवस्था गरीदिने हो भने महिलाहरु पूर्ण रुपमा आत्म निर्भर हुने महिला अगुवा सुनिला पंडित दाबी गर्छिन् ।

बाराबाट राजु शाहको रिपोर्ट

...

बिहीबार, १३ पुष ०७४ 

प्रतिक्रिया

Related