अछाममा मधुमेह रोगी बढ्दोः दैनिक बिरामीमध्ये १५ प्रतिशत मधुमेह रोगी

अधिकांश बिरामी बालबालिका तथा वृद्धवृद्धा, निमोनिया, ज्वरो, खोकी, मधुमेहको समस्या
निर्माण सञ्चार, अछाम | दैनिक ६० देखि ७० जनाको हाराहारीमा विभिन्न रोगका बिरामी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आउने अधिकांश बिरामीमध्ये १५ प्रतिशत मधुमेहका बिरामी रहेको कार्यालयले बताएका छ ।

देशभरिकै मौसम बदलिएसँगै अछाममा चिसोको मात्रा दिनप्रति दिन बढ्दै गैरहेको छ ।

यसको असर भने वृद्धवृद्धा, बालबालिकामा परेको जिल्ला जनस्वास्थ्य अधिकृत झनक राज ढुङ्गानाले बताए ।

उपचार गराउन आउने अधिकांश बिरामी २ देखी १५ वर्षसम्मका बालबालिका आउने गरेका र ति बालबालिकाहरुमा निमोनिया, ज्वरो, खोकी लगायतका समस्या रहेका छन् । यस्तै, ५० वर्षमाथीका वृद्धवृद्धाहरु पनि बढी आउने गरेका छन् ।

उनीहरुमा भने दम, मधुमेह, खोकी, ज्वरोजस्ता समस्या देखापर्ने ढुंगानालेको भनाइ छ ।

उनका अनुसार पछिल्लो समयमा करिब ५१ प्रतिशत बिरामी नसर्ने रोगका रहेका र त्यसमा मधुमेह रोगका बिरामी १५ प्रतिशत हुने गरेका छन् ।

तथ्यांकअनुसार हाल नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात करिव २५ लाख मानिसमा मधुमेहको समस्या रहेको अनुमान छ ।

पहिले वृद्धलाई मात्र मधुमेह हुने भनिए पनि अहिले सबै उमेरका व्यक्तिमा यो समस्या पाईएको ढुंगानाले बताए ।

के हो मधुमेह ? के कारण हुन्छ ?

मधुमेह रगतमा चिनीको मात्र बढी हुने रोग हो । ‘इन्सुलिन’ नामक हर्माेनको उत्पादमा कमी आउँदा वा ‘इन्सुलिन’ले काम गर्न नसक्दा मधुमेह हुने गरेको ढुंगानाले बताए । ‘इन्सुलिन’ले रगतको ग्लुकोजलाई शक्तिका रुपमा प्रयोग गर्ने सहयोग गर्दछ ।’

साथै बढी भएको ग्लुकोजलाई ग्लादकोजनमा परिणत गरी संचालन गर्छ ।

हदसम्म ‘इन्सुलिन’को कमी भएपछि शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लुलाकोजनको पम्पमा संचालन गर्न सक्दैन । र रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ ।

चिनीको मात्रा कति मिलिग्राम हुँदा ‘सुगर’ ?

खालि पेटमा रगत जाँच्दा चिनीको मात्रा १ सय २८ मिलिग्राम भन्दा बढी देखियो भने ‘सुगर’ बढेको मानिन्छ ।

एक सयदेखि एकसय २६ मिलिग्रामको बिचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएको मानिन्छ ।

त्यस्तै, खाना खाएपछि सुगर दुई सय मिलिग्राम भन्दा बढि देखिएमा पनि ‘सुगर’ बढेको मानिन्छ भने एक सय ४० देखि एक सय ९९ सम्म भएमा मधुमेहको जोखिम मानिने ढुंगानाको भनाइ छ ।

उनले अत्याधिक चिसो बढेकोले बालबालिका तथा वृद्धवृद्धालाई निमोनिया, मधुमेह, खोकी, ज्वरो, टाउको, छाला लगायतमा समस्या आउने हुँदा यसबाट सचेत रहन आग्रह गरे ।

अछामबाट गोविन्द कुँवरको रिर्पोट

...

बिहीबार, १३ पुष ०७४ 

प्रतिक्रिया

Related