निर्माण साम्रगीको मूल्यवृद्धि फिर्ता लिन महासंघको आग्रह

सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ लागू गर्न महासंघको आग्रह
निर्माण सञ्चार, काठमाडौँ | विगत केही साता अघिदेखि डिजेल सहित सिमेन्ट, डण्डी, गिटी, बालुवालगायतका अत्यावश्यक निर्माण सामाग्रीहरुमा अव्यवहारिक ढंगले मूल्यवृद्धि बढेकातर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण सामाग्रीहरुमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्यहरु प्रभावित भई लागत समेत बढ्ने भएकाले व्यवसायीहरु ठूलो मारमा परेको महासंघको दाबी छ ।

देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्नेमा महासंघको माग रहेको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठद्वारा बिहिवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ लागू गराउनु पर्ने महासंघको माग रहेको छ ।

साथै सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गरिदिन समेत महासंघले अनुरोध गरेको छ ।

मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ ।

त्यस्तै, निर्माण समाग्रीहरु भारतबाट आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गरिदिन महासंघले माग गरेको छ ।

मुलुक नवनिर्माण तथा पुर्ननिर्माणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको वर्तमान अवस्थामा निर्माण व्यवसायीहरुलाई मारमा पर्ने गरी भइरहेका यस प्रकारका सबै गतिविधि तत्काल अन्त्य गर्न महासंघले सुझाएको छ ।

पूर्ण विकास निर्माण र निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गरिदिनका लागि महासंघले सरोकारवाला सबै समक्ष आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

....

शुक्रबार, १४ पुष ०७४ 

प्रतिक्रिया

Related