भैरहवा–तौलीहवा सडक स्तरोन्नतीको काम तीव्र गतिमा, २ वर्षमै सम्पन्न

व्यापारिक क्रियाकलापमा ठूलो योगदान, छोटो समयमै गन्तव्यमा पुगिने
निर्माण सञ्चार, काठमाडौँ | अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो ।

भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।

सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताए ।

उनका अनुसार पहिलो चरणअन्र्तगत उक्त सडकका दायाँबायाँ पुर्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ ।

भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी ६ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म ४ लेनको बनाउन लागिएको छ ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी, लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ ।

उक्त सडक अहिले एक लेनको रहेको छ । हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दयाँबायाँ चौडा बनाइने छ ।

सडकको काम आगामी साढे दुई वर्ष अर्थात २०१९ डिसेम्बर सम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनु पर्ने भएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडलले जानकारी दिए ।

कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर ४ लेन र बाँकी पर्साचोक देखि तौलिहवा सम्मको २३ दशमलव ३० किलोमिटर २ लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ ।

६ लेन सडकको बीच भागमा ‘ग्रिन वेल्ट’, दूई–दूई लेनको सडक र दायाँबायाँ एक–एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ ।

सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालय बनाउनुका साथै काटिएका दुई हजार एकसय रुखको बदला पाँचहजार एकसय रुख रोप्ने योजना छ ।

सडकको कोरिया इन्जिनीयरिङ कन्सलटेन्टले प्राविधिक कामहरुको समन्वय, निगरानी र परीक्षण गर्ने छ । हाल योजनामा ५०÷६० जना प्रविधिज्ञहरु लागेका छन् ।

आवश्यकता अनुसार थप प्रविधिज्ञ परिचालन गर्ने आयोजनाका आवासीय इन्जिनियर राजेन्द्रसिंह मोनीले बताए ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुन लागेको यो सडकको लागत भ्याटसहित करिब एक अर्ब ९३ करोड रहेको छ ।

स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तराष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

सडक निर्माण पूरा भएपछि यो सडक निकै सुन्दर देखिने आयोजनाको दाबी छ । यसले लुम्बिनीसम्म पुग्ने पर्यटकलाई पनि निकै सहज हुने देखिएको छ भने छोटो अवधिमै गन्तव्यसम्म पुग्न सकिने छ ।

भैरहवा–लुम्बिनी सडक दुई लेन र लुम्बिनी–तौलिहवा सडक एक लेन भएकाले निकै साँघुरो एवं जीर्ण हुँदा आवागमनमा कठिनाइ उत्पन्न भएको छ जसका कारण सडक दुर्घटनासमेत बढ्दै गएको छ ।

सडक योजनाअन्तर्गत पर्ने ४१ दशमलव १३० किलोमिटर सडक स्तरोन्नति गर्न गवार कन्सट्रक्सन लिमिटेड गुणगाँव भारतले १ अर्ब ९३ करोड ६ लाखमा ठेक्का सम्झौता गरेको छ ।

हालसम्म सडकको दुवैतर्फ पुर्ने, सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रसर उद्योग, प्रयोगशाला तथा आवश्यक अस्थायी स्थलहरुको निर्माण गरिसकेको बताइएको छ ।

योजनाअनुसार पहिला लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर दुई लेन सडक कालोपत्र गरेर यही मंसिरभित्र सम्पन्न गरिने गवार कन्सट्रक्सनका कन्ट्रयाक्ट म्यानेजर पी भी श्रीनिवासनले बताए ।

योजनाअन्तर्गत पर्ने सडकको दुवैतर्फ भएका रुखहरुको प्रतिवेदन वन विभाग पठाइएको र अनुमति आउनासाथ रुख काटेर कामलाई तीव्रता दिइने योजना प्रमुख पौडेलले जानकारी दिए ।

आयोजनाका अनुसार सम्झौता गरे लगत्तै खेती किसानी र धान काट्ने समय शुरु भएको कारण कात्तिक–मंसिरबाट मात्र सडकको स्तरोन्नति शुरु गरिएको र अहिलेसम्म ३–४ प्रतिशत भौतिक काम भइसकेको छ ।

योजना सम्पन्न गर्न करिब साढे ४ लाख वर्गमिटर कच्चा पदार्थ आवश्यक पर्ने बताइन्छ ।

रासस

...

मंगलबार, १८ पुस ०७४ 

प्रतिक्रिया

Related