मंगलबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द

निर्माण कार्यलाई तिव्रता दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म बन्द, हालसम्म ६७.६७ प्रतिशत काम सम्पन्न
निर्माण सञ्चार, काठमाडौँ | मंगलबार (पुष १८) रातिदेखि निर्माणधीन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ ।

निर्माण कार्यलाई तिव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने भएको हो ।

पुस १२ मा जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदार र आयोजना प्रमुखसहित प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको आयोजनाले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको व्यवस्था गरी काम अघि बढाउन लागिएको हो ।

कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको प्रवन्ध गरी कटिङको काम आज रातिदेखि नै थालनी गर्ने भएका छन् ।

यता २९ किलो र ३३ किलोमा भने विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

उक्त सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी नै छ ।

कसरी मिलाइँदै ट्राफिक व्यवस्थापन ?

मंगलबार रातिबाट सडक बन्द हुने भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघ मार्फत् सुझाइसकेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार तोकिएको अवधिभन्दा ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको छ ।

यसैगरी, तनहुँतर्फबाट आउने सवारी साधनहरुमध्ये बसलाई मुग्लिनमा र अन्यलाई आँबुखैरेनीतर्फ नै रोक्ने गरी समन्वय गरिएको छ ।

यता नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने सवारी साधनमध्ये बस र साना सवारीलाई दासढुंगाको मदन आश्रित पार्क नजिक र ट्रकहरुलाई रामनगरको ओरालो नजिकको भतेरी जंगलमा एकतर्फी बनाएर रोकिने ट्राफिक प्रहरी प्रमुख पन्तले बताए ।

उनले भने,‘सो स्थानमा ट्रक नअटाएमा केन्द्रीय बस टर्मिनल भरतपुरको खाली चौरमा रोकिने छ ।’

अझै थपिदै म्याद

चैत महिनाभित्र एकसरो पिच निर्माणको काम गरिसक्ने गरी ठेकेदार कम्पनीको म्याद थप गरिने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

विश्व बैंकको २ अर्ब ९० करोड रुपियाँको आर्थिक सहयोगमा २०७२ वैशाखबाट यस सडक निर्माणको काम सुरु गरिएको थियो ।

हालसम्स आयोजनको काम ६७.६७ प्रतिशत सम्पन्न भएको छ ।

...

मंगलबार, १८ पुस ०७४ 

 

प्रतिक्रिया

Related