जनकपूर–जयनगर मार्गमा लिक बिछ्याँइदै, बर्षदिनपछि रेल गुड्ने

अनुभवी जनशक्तिको अभाव, ‘आउटसोर्सिङ मोडालिटी’ प्रस्ताव,
निर्माण सञ्चार, काठमाडौँ | भारत सरकारले विस्तार र नयाँ निर्माण गरिरहेका जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गमा पटरी राखेर लिक बिछ्याउन शुरु गरिएको छ ।

हाल कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माणाधीन छ ।

यस मार्गमा क्रंक्रिटको पटरी राखेर लिक बिछ्याउने काम तीव्र गतिमा भइरहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार ब्रोडगेज विस्तारका लागि पुल र कल्भर्ट बनिसकेका छन् भने स्टेसनहरुको निर्माण पनि लगभग सकिएको छ ।

यस मार्गको निर्माण सम्पन्न अक्टोबर २०१८ सम्ममा सक्ने लक्ष्य लिइएको महानिर्देशक अनन्त आर्चाको भनाइ छ ।

उनले भने ‘त्यसपछि बोगी र इन्जिन ल्याएर गुडाउन सकिनेछ ।’

उक्त रेलमार्ग ३५ किलोमिटर लम्बाइको रहेको छ । कार्यालय भवन, भन्सार र कर्मचारीको आवासगृह पनि भारतीय कम्पनीले बनाइसकेको छ ।

विभागले कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेल गुडाउन योजना बनाएको छ ।

साथै त्यहाँबाट पूर्वपश्चिम राजमार्गको बर्दिवास खण्डमा जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको विभागले बताएको छ ।

त्यस मार्गमा रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भइसकेको छैन ।

विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि ३ अर्ब रुपियाँ लाग्ने जानकारी गराइसकेको छ । यता अर्थ मन्त्रालयले भने लिक तयार भइसकेपछि मात्रै बजेट दिन सकिने बताएको छ ।

रेल विभागले यस वर्षमा ४ अर्ब रुपियाँ मात्र पाएको छ । पूर्व–पश्चिम रेलमार्गका लागि निर्माण कार्य गरिरहेको विभागलाई जनकपुर–जयनगरमा रेल गुडाउन यस वर्ष भने बजेट दिइएको छैन ।

यता भारत सरकारले कुर्ता–जनकपुर–जयनगर मार्गमा रेल सञ्चालन गर्न समेत चासो देखाएको छ । यसअघि विभागले उक्त रुटमा रेल गुडाउन ‘आउटसोर्सिङ मोडालिटी’ प्रस्ताव गरेको थियो ।

उक्त अवधारणा विदेशका अनुभवी कम्पनीलाई सञ्चालन, व्यवस्थापन र सीप हस्तान्तरणमा सहभागी गराउने हो ।

विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले भने ‘स्वदेशमा अनुभवी जनशक्ति अभावका कारण उक्त मोडालिटीमा पनि छलफल भइरहेको छ ।’

हामीसँग रेल चलाउने अनुभवी मान्छे छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन्,’ उपाध्याय भन्ने ‘स्टेसन म्यानेजरलगायत अनुभव बटुलेका जनशक्ति उपलब्ध नभएकाले केही वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनुपर्छ ।’

उनका अनुसार ३ वर्षका लागि ‘आउटसोर्सिङ’ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्ने योजना विभागको छ ।

रेल सञ्चालनसम्बन्धी निर्णय नेपाल–भारतको संयुक्त समितिले लिने महानिर्देशक आचार्यले बताए ।

उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । यसैकारण जनकपुर–जयनगर रेल सेवा ३ वर्षयता बन्द छ ।

...

बुधबार, १९ पुस ०७४

प्रतिक्रिया

Related