केरुङ-काठमाडौ रेलमार्ग चर्चा हुँदै गर्दा रसुवागढीमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह

डिजाइन स्वीकृत
निर्माण सञ्चार, काठमाडौं । छिमेकी मुलुक चीन र नेपालको व्यापारिक नाका रसुवागढीमा अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।

सुख्खा बन्दरगाह बनेपछि अन्तर्राष्ट्रिय स्तरको बन्ने उक्त सुख्ख बन्दरगाहको डिजाइन स्वीकृत भएको छ । योसँगै, प्रकृया अगाडि बढेको हो ।

सुख्खा बन्दरगाह टिमुरेमा निर्माण हुने छ ।

यो चीनको सहयोगमा निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले निर्माण सञ्चारलाई बताए ।

बस्नेतले बन्दरगाहको डिजाइन स्वीकृत भइसकेको जानकारी दिएका हुन् । अब दुर्इ महिनाभित्रै निर्माण कार्यका लागि टेन्डर आह्वान गरिने उनले बताए ।

उनले भने, ‘चिनियाँ परामर्शदाता कम्पनीले डिजाइन तयार गरेको थियो । त्यसलाई हामीले अन्तिम रुप दिइसकेका छौं । अब छिट्टै दुर्इ देशको संयुक्त टोली बसेर ठेक्का प्रकृया अघि बढाइनेछ ।’

बन्दरगाह दुर्इ वर्षमा बन्ने प्रारम्भिक अनुमान छ ।

चिनियाँ पक्षले तयार गरेको डिजाइनमा नेपाल पक्षले पनि आवश्यक पूर्वाधार थपघट गरेको थियो । आवश्यक पर्दा थप पूर्वाधार निर्माण गर्न सकिने उनको दाबी छ ।

उक्त सुख्ख बन्दरगाहको डिजानइका लागि सन् २०१४ मा सम्झौता भएको थियो भने २०१५ डिसेम्बरमा नेपाल र चीनबीच सहमति भएको थियो ।

केरुङ–काठमाडौं रेल मार्गका लागि समेत अध्ययन अघि बढाइसकेको चीनले सुख्खा बन्दरगाहको आवश्यकता महसुस गरेको विज्ञ बताउँछन् ।

यो बन्दरगाह चीनको उच्च प्राथमिकतामा रहेको छ । उसका लागि व्यापार तथा सामरिक रणनीतिक महत्त्वको बन्दरगाह बन्ने चिनियाँ बुझाइ छ ।

निर्माण हुने सुख्खा बन्दरगाह रसुवागढीबाट साढे दुर्इ किलोमिटर टाढा रहेको छ । जबकि, रसुवागढी तिब्वतको केरुङबाट २६ किलोमिटर टाढा पर्छ । चीनको सिगात्सेदेखि केरुङसम्म साढे चार सय किलोमिटर दूरी रहेको छ ।

ओली सरकारकै पालामा केरुङ-काठमाडौ रेलमार्ग निर्माणको कुरा अघि बढेको थियो ।

केही समय अघि चिनियाँ टोलीले यसको सम्भाव्यता अध्ययन समेत गर्दै केरुङ–काठमाडौं र पोखरासम्मको नाप नक्सा समेत गरेको गएको छ ।

केरुङ हुदै काठमाडौ-पोखरा-लुम्विनी रेलमार्ग निर्माण गर्न चीन सकारात्मक रहेको देखिएको छ । त्यसका लागि पनि यो बन्दरगाह चीनले रणनीतिक महत्वका रुपमा लिएको विश्लेषकहरु बताउँछन् ।

उक्त सुख्खा बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा बन्ने छ । यसका लागि जग्गा अधिग्रहण भइसकेको छ ।

कन्सल्टिङ पक्ष रहेको चिनियाँ परामर्शदाताले तयार पारेको डिजाइन अनुसार उक्त बन्दरगाहमा पाँच तले प्रशासनिक भवन बन्ने छ भने ५० वटा गाडी अटाउने पार्किङ स्थल पनि रहने छ ।

७५० वर्गमिटर क्षेत्रफलमा गोदाम निर्माण हुने छ भने मालसामान चेक जाँच गर्ने टर्मिनल, चेकपोस्ट, पानी, विद्युत जस्ता आधारभूत कुराका लागि आवश्यक पूर्वाधार निर्माण हुने छ ।

यतिबेला नेपाल सरकारका तर्फबाट भने रसुवागढीसम्म पुग्ने बाटो विस्तार र स्तरोन्नतिको काम भइरहेको छ।

 

 

...

बुधबार, १९ पुस, ०७४

 

प्रतिक्रिया

Related