आयकर नर्तिने टेलियाको नियत उदाङ्गिदैँ, ६५ अर्ब कर तिर्न १५ दिने अल्टिमेटम

तोकिएको अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपियाँ ४० करोड रुपियाँ कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

स्वीडेनस्थित टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपियाँ कायम गरेको छ ।

मंगलवार ठूला करदाता कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि जेठ १३ मा कर कार्यालयले टेलियालाइ कर तिर्न पत्रचार गरे पनि सम्पर्कमा नआएपछि असारमा १५ दिने सूचना जारी गरेको थियो ।

पटक–पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराईका अनुसार १५ दिनसम्म कर दाखिला गर्न नआएमा उक्त कम्पनीका सबै कारोबार रोक्का गर्ने अधिकार कार्यालयलाई छ ।

‘टेलियाको मुख्य कार्यालय स्वीडेनमै विभिन्न माध्यमबाट पत्राचार गरेको र पत्र बुझेको रसिदसमेत कार्यालयलाई प्राप्त भएको छ’ उनले भने ‘पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा आएन ।’

एनसलेको मुख्य कम्पनी टेलिया सोनेराका नाममा जारी गरिएको सूचनामा भनिएको छ, ‘टेलियाले आफ्नो स्वामित्वको सेयर हिस्सा मलेसियाको एक्जियाटाको नाममा बिक्री गर्दा लागेको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपियाँ १५ दिनभित्र तिर्नु पर्नेछ ।’

कार्यालयले गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत जोडेर ६० अर्ब ७१ करोड रुपियाँ पूँजीगत लाभकर कायम गरेको थियो ।

त्यसयता ६ महिनासम्म कर दाखिला नगरेपछि कार्यालयले त्यसमा लाग्ने १५ प्रतिशत ब्याज जोडेर नयाँ दायित्व सार्वजनिक गरेको कार्यालयले जानकारी दियो ।

कार्यालयले यसअघि पनि कर नतिर्ने कम्पनीको सूचीमा उक्त कम्पनीलाई राखेको थियो । नियमअनुसार कर तिर्न नआएमा कानुनी कारवाही गरिने करदाता कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो २ वर्ष एनसेलको स्वामित्व परिवर्तनमा तिनुपर्ने करको विषयमा विवाद चल्दै आएको छ । हाल एनसेलको स्वामित्व परिवर्तनमा कर तिर्ने विषयको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।

लाभकर नतिर्दासम्म लाभांश रकम लैजान करदाता कार्यालयले रोक लगाएपनि लाभांश रकम लैजान दिनुपर्ने फैसला सर्बोच्च अदालतले गरेको छ ।

यसअघि कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत स्वीडेनको परराष्ट्र मन्त्रालयलाई पनि कर तिराउने प्रक्रियामा सहयोग पुर्याउन कुटनीतिक पत्राचार गरेको थियो ।

यद्यपि, हालसम्म टेलियाबाट कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ ।

२०७२ चैतमा टेलिया सोनेराले एक्जियाटा एनसेलको ८० प्रतिशत शेयर बिक्री गरी नेपालबाट बाहिरिएको थियो ।

१ खर्ब ४३ अर्बमा सो सेयर बिक्रीबापत टेलियाले दुइपटक गरी हालसम्म करिब २४ अर्ब रुपियाँ मात्रै कर दाखिला गरेको छ ।

...

बुधबार, १९ पुस ०७४ 

प्रतिक्रिया

Related