सिसि क्यामेरा हुँदाहुँदै हरायो मूर्ति

७ सिसि क्यामेरा जडान, हालसम्म २७ बढि मुर्ति चोरी
निर्माण सञ्चार, जुम्ला | कर्णालीकै प्रसिद्ध तथा पर्यटकिय क्षेत्र चन्दननाथ मन्दिरमा गएको २०७३ साल मंसिर १० गते बहुमुल्य मुर्तिहरु चोरी भए ।

झण्डै १६ दान्नीको सबैभन्दा ठुलो दत्रातयको मुर्ति सहित अन्य २७ बढि मुर्ति चोरी भएका थिए ।

मुर्ति खोजीका लागि जुम्लाबासीले सडक तताएपछि सिआईबीको टोलीले मुर्ति हराएको झण्डै १० दिन पछि जुम्लाको पुर्वी क्षेत्र गोठीचौर गाउँपालिकाको देपालगाउँमा मुर्ति भेटाए ।

भव्य बाजा गाँजाका साथ मन्दिरमा मुर्ति पुन राखियो । त्यस लगत्तै मन्दिरको सुरक्षाका लागि सिसि क्यामरा फिट गर्नु पर्ने भन्दै प्रशासनको दबाबमा ७ वटा सिसि क्यामरा राखियो ।

सुरक्षा चुनौतीलाई सामान्य बनाउन र मन्दिरलाई सुरक्षा दिनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिसि क्यामरा राख्न निर्देश दिए संगै सिसि क्यामरा फिट गरियो ।

मन्दिरमा सिसि क्यामरा राखेबाट झन् सुरक्षा चुनौती बढेको पाइएको छ । ७ वटै सिसिक्यामराका डिभिआर मेसिनले काम नगरेपछि अहिलेसम्म एउटा फुटेज पनि रेर्कड छैन ।

सिसि क्यामरा राखेको झण्डै डेढवर्ष वितिसक्दा पनि सिसि क्यामरामा कुनै दिनको रेर्कड भने छैन ।

जसले गर्दा अझै मन्दिरको सुरक्षामा समस्या देखिएको चन्दननाथ भैरबनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद आर्चायले बताए ।

वर्ष दिन वित्दा पनि मन्दिरका बारेमा कुनै प्रमाण रेर्कड नभएपछि मन्दिरमा कुनै पनि बेला अप्रिय घटना हुनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

सुरक्षाका लागि सिभिलमा दैनिक प्रहरी पनि खटाउने गरिएको छ ।

गएको मंसिरमा सुरक्षामा खटिएका प्रहरीको आँखा छली चोरी भएपछि सिसि क्यामराको सहायताबाट मन्दिरलाई सुरक्षा दिन सकिने सरोकारवालाको अपेक्षा थियो ।

तर, सिसि क्यामरा फिट भएको वर्ष वित्दा पनि कुनै फुटेजहरु रेर्कड नदेखिएपछि सुरक्षामा निकै चुनौति थपिएको अध्यक्ष आर्चायको भनाई छ ।

चन्ददननाथ नगरपालिकाको ५ लाख, गुठीको ३ लाख, तथा अन्य निकायको झण्डै ४ लाख गरी १२ लाखको लागतमा सिसि क्यामरा खरिद गरिएको हो ।

७ वटा सिसि क्यामरा संचालनका लागि आवश्यक उर्जा शक्ति नभएकाले डिभिआर मेसिनमा खराबी आई रेर्कड नभएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

मन्दिरमा सिसि क्यामरा जडान गरिसकेपछि त्यसको व्याकप व्यवस्थापनदेखि अन्य कुरामा गुठी व्यवस्थापन समिति र प्रशासन मौन भएपछि यस्तो समस्या निम्तिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

मन्दिर परिसरमा दिनरात हुने विभिन्न गतिविधिको रेर्कड राख्न जडान गरिएका सिसि क्यामराहरु प्रयाप्त व्याकप नभएका कारण विग्रीने अवस्थामा पुगेको चन्दनाथ भैरबनाथ गुठी व्यवस्थापन समितिका खरिदार रत्नलाल आचार्यले बताए ।

जुम्लाको इतिहास रचेको चन्दननाथ मन्दिरका भगवानको सुरक्षामा हालै देखिएको सुरक्षा चुनौतीलाई समाधान गर्न र सिसि क्यामराको डिभिआर मेसिन संचालनमा ल्याउन माग भइरहेको छ ।

डिभिआर मेसिनको खराबीको कारण देखाउँदै कुनै बेला आफू उम्कने चाजोपाजो हुनसक्ने आशंका गर्दै सिसि क्यामरा संचालनका लागि प्रशासनलाई समेत दबाब दिइएको छ ।

गत वर्ष मंसिर महिनामा भएको मुर्ति चोरीको आरोपमा जुम्लाका दुईजना स्थानिय अगुवा व्यक्ति जेल चलान भईसकेका छन् ।

चन्दननाथ भैरवनाथ मन्दिरको सुरक्षाका साथै यसको विकासका लागि पुरातत्व विभागदेखि मन्त्रालयसम्मको ध्यानर्कषण गराइएको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बिहिबार, २० पुष ०७४

प्रतिक्रिया

Related