राजश्व छलेर इन्डियन नम्बरप्लेटका हेभी इक्विप्मेन्ट भित्रिदा पनि मौन सरकार, राजस्व तिरेर ल्याइने हेभी औजार भने भन्सार पारी नै थन्किए

एफहिन महासचिव शर्मा भन्छन्, ‘सरकारले स्वदेशी व्यवसायीमाथि अन्याय गर्दैछ,’ निर्माण व्यवसायी भन्छन्, ‘हेभी औजार व्यवसायीहरुले अत्याधुनिक इक्विप्मेन्ट पनि भित्राउन सक्नुपर्छ’
निर्माण सञ्चार, काठमाडौं । नेपाललाई यतिबेला ‘पुनर्निर्माणको युग’ प्रवेश गरेको देशका रुपमा चिनिन्छ । विशेष गरी २०७२ वैशाख १२ को गोरखा भूकम्पसँगै नव निर्माण र पुनर्निर्माणले नयाँ आयाम लिएको हो ।

त्यस्तै, २०७२ मै नेपालले नयाँ संविधान पायो । साथै, २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनसँगै भएको प्रदेश तथा प्रतिनिधि सभा चुनाव सम्पन्न भएसँगै नेपालले लामो द्वन्द्व र राजनीतिक खिचातानीको चरण पार गरेर राजनीतिक स्थायित्व र विकासको गति लिने धेरैले आशा गरेका छन् ।

त्यसैले पनि अबको चरण पुनर्निर्माणको रहेको निजी क्षेत्रको पनि बुझाइ छ ।

पछिल्ला दिनमा पुनर्निर्माण र पूर्वाधार विकासले गति लिएसँगै नयाँ युग अनुसारको नयाँ नयाँ हेभी इक्विप्मेन्टहरु पनि भित्रिरहेका छन् ।

बूढो बन्दै पुराना हेभी औजार, भित्रिदै नयाँ नयाँ ब्रान्ड

नेपालको पूर्वाधार विकासमा रेल–वे भित्रिनेदेखि हाइड्रो क्षेत्रमा टनेल निर्माणसम्मको बहस चलिरहेका बेला त्यसका लागि प्रयोग हुने नयाँ नयाँ प्रविधि हेभी इक्विप्मेन्ट पनि भित्रिरहेका छन् ।

राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माणले गति लिन थालेसँगै अरुण तेस्रो र अपर कर्णाली निर्माण समेत हुन गइरहेका छन् ।

यता चीनले केरुङ–काठमाडौंदेखि पोखरा लुम्बिनीसम्म रेल मार्ग विस्तारको अध्ययन अघि बढाएको छ भने रसुवागढीमा अन्तर्राष्ट्रिय स्तरको सुख्खा बन्दरगाह समेत बनाउने तयारी गरिरहेको छ ।

यता स्थानीयदेखि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सके लगत्तै महानगरपालिका र उपमहानगरपालिका भित्र मेट्रो रेल गुडाउने सपना देख्न थालेका छन् नेपाली जनता ।

यसै बीच लगानी बोर्डले समेत काठमाडौंमा मेट्रो रेल गुडाउने कामको अध्ययन सुरु गरिसकेको अवस्था छ । सरसर्ती हेर्दा नेपाल यतिबेला पूर्वाधार विकास र निर्माणको रफ्तारको चरणमा प्रवेश गरिसकेको छ ।

निर्माण तथा पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायीका लागि भने अबको दिन झनै सुवर्ण अवसर बन्नेवाला छ ।

निर्माण र नवनिर्माणको युगमा अब रोजौं नयाँ प्रविधि

नेपाल तीव्र विकासको चरणमा होमिएसँगै नयाँ नयाँ औजार तथा प्रविधिहरु पनि भित्रिरहेका छन् । हजोका दिनमा ठुल्ठूला परियोजनामा मात्र प्रयोग हुने गरेका हेभी इक्विप्मेन्टहरु आज घर बनाउन, करेसाबारीमा तरकारी रोप्न, खन्नदेखि बाटो–घाटो, पुल पुलेसा र अन्तर्राष्ट्रिय स्तरको एअर पोर्टहरु बनाउन समेत अत्याधुनिक हेभी मेसिनको प्रयोग हुन थालेको देखिन्छ ।

जतिसक्तो नयाँ प्रविधिमा जान सबैले मन गर्ने मात्र नभई नयाँ प्रविधिको माइलेज पनि राम्रो हुने धेरैको विश्वास छ ।

तर, नेपालभित्र हेभी इक्विप्मेन्ट व्यवसाय गरिरहेका व्यवसायीहरु भने पुरानै औजार मात्र भाडामा लगाएर खुम्चिरहेको निर्माण व्यवसायीको आरोप छ ।

नाम नखोल्ने सर्तमा एक निर्माण व्यवसायीले भने, ‘नयाँ नयाँ प्रविधि भित्रिएको् छ । तर, हाम्रा हेभी इक्विप्मेन्ट व्यवसायी चाहिँ पुराना मोडेलका औजार भाडामा लगाएर भाडा खान मात्र व्यस्त छन् । हामीले खोजेजस्तो नयाँ नयाँ टेक्नोलोजी पनि भित्राउनु नि ।’
 
पूर्वाधार निर्माणका लागि खोजेजस्तो प्रविधि नपाएपछि भारतबाट होस् या चीन जहाँबाट पनि टेक्नोलोजी आयात गर्न सकिने भन्दै एफहिन जस्तो हेभी औजार व्यवसायीलाई समय अनुसारको नयाँ नयाँ प्रविधि भित्राउन सुझाव दिएका छन् ।
 
बोर्डर नियमन भएन, भारतबाट भाडामा ल्याएर हामी माथि अन्याय भो
 
यता हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले भने सीमापारीबाट भाडामा ल्याइने हेभी औजारहरु बन्द हुनु पर्ने भन्दै आफूहरु माथि अन्याय भएको बताएको छ ।
 
हेभी इक्विप्मेन्ट व्यवसायीले भारतबाट नेपाल भित्रिने हेभी औजारहरुले भन्सार छली गरेको पनि बताएका छन् ।
 
हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका कोषाध्यक्ष सुरेश खत्रीले सीमापारिबाट भन्सार छली गर्दै केही निर्माण व्यवसायी, क्रसर व्यवसायी र इँटा व्यवसायी मिलेर इन्डियन नम्बर प्लेटका हेभी औजार नेपाल ल्याउने र चुरे दोहोन जस्तो गैरकानुनी काममा समेत लागिपरेको भेटिएको बताएका छन् । यस विरुद्ध एफहिन आन्दोलनमै जाने तयारी गरेको उनले बताएका थिए ।
 
निर्माण सञ्चारसँग बोल्दै नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका महासचिव उमाकान्त शर्माले यस्तो अवैध रुपमा विगत ३–४ वर्षदेखि नै भारतबाट भाडाका हेभी इक्विप्मेन्ट नेपाल भित्रिने गरेको जसले गर्दा नेपाली व्यवसायी मर्कामा परेको बताए ।
 
उनले यसरी अवैधरुपमा हेभी औजारहरु नेपाल भित्रिरहँदा पनि सरकार भने मौन बसेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
 
नेपालमा यतिबेला जेसिबी, कोमत्सु, दोसान, अपोलो, भोल्भो जस्ता विभिन्न ठूला औजारहरु भित्रिएका छन् । नेपालमै कम्पनी खडा गरी विदेशी उत्पादक कम्पनीसँग डिलर लिएर साथै वैधानिक ढंगले भन्सार समेत तिरेर हेभी इक्विप्मेन्टहरु भित्रिरहेका हुन् ।
 
तर, इन्डियन नम्बर प्लेटका यस्ता प्रविधिहरु भाडामा नेपाल भित्रिने हो भने नेपाली लगानीकर्ता डुब्ने बिक्रेता तथा डिलरसिपमा रहेको नेपाली व्यवसायीहरु बताउँछन् । यतिबेला महिनौंदेखि भन्सारपारि रहेको हेभी औजारहरु नेपाल भित्राउन नसकेको बिक्रेता व्यवसायीहरुको गुनासो छ ।
 
नेपालमा हाल एफहिन (हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ) अन्तर्गत करिब ८ हजारको संख्यामा व्यवसायी आबद्ध छन् भने यिनीहरुद्वारा दैनिक हजारौंको संख्यामा हेभी इक्विप्मेन्टहरु भाडामा सञ्चालित छन् ।
 
त्यस्तै, भोल्भो, अपोलो, दोसान, जेसिबी, केस, कोमात्सु जस्ता बिक्रेताहरु पनि उत्साही हुँदै दिन प्रतिदिन जसो नयाँ नयाँ प्रविधि भित्राउन प्रतिस्पर्धा गरिरहेका छन् ।
 
सेवा तथा गुणस्तरमा समेत प्रतिस्पर्धा गरेको दाबी गर्दै जेसिबीले केही दिन अघि मात्रै हेभी औजार किन्नका लागि २० प्रतिशत मात्रै डाउन पेमेन्टमा एनसिसी बैंकसँगको सहकार्यमा नयाँ अफर समेत लन्च गरेको थियो ।
 
कर तिरेर पनि ल्याउन सकिएन हेभी इक्विप्मेन्ट
 
पछिल्ला केही महिना यता नेपाल र भारत बोर्डरमा देखिएका समस्याका कारण नेपाली हेभी इक्विप्मेन्ट बिक्रेता तथा डिलरवालाहरुका हजारौं प्रविधि भारतीय बोर्डरबाट पास नहुँदा नेपाली बिक्रेताहरु मर्कामा परेको बिक्रेताहरुको गुनासो छ ।
 
उनीहरुका अनुसार भन्सारमा रहने हाकिमहरुको कमाउ धन्दाका कारण विभिन्न प्रविधि तथा हेभी इक्विप्मेन्टहरुमा ट्याग हुने एक्जिम कोर्डहरु अदल बदल गर्ने र पैसा माग्ने समस्या बढिरहेको छ ।
 
बिक्रेताहरुका अनुसार यतिबेला निर्माण सामग्री लगायत विभिन्न सामानहरु भारतीय बोर्डरमा रोकिएसँगै नेपाली कोडबारे भन्सारमा हुने गरेका लापरबाहीका कारण व्यवसायीहरु मर्कामा परेको गुनासो बढिरहेको छ ।
 
यतिबेला सरकारको उचित अनुगमनको अभावमा बजारमा निर्माण सामग्रीको कालोबजारी बढिरहेको छ भने निर्माण व्यवसायीले समेत निर्माण सामग्रीको भाउ बढेसँगै टेन्डर प्रक्रियामा पनि भाग लिन सकेका छैनन्
 
यसै बीच बारा तथा पर्सा जिल्लामा उद्योमरत नेपाल उद्योग वाणिज्य संघले भारतीय बोर्डरमा निर्माण सामग्री तथा हेभी इक्विप्मेन्टहरु रोकिए प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
 
तर, सरकारले भने ध्यानै नदिएकाले भन्सारमा एकातिर ठगी धन्दा बढिरहेको छ भने अर्काेतिर नाकामा रहेको भारतीय बासिन्दाको अवरोधका कारण निर्माण सामग्री नेपाल भित्रिन सकेको छैन ।
 
सिमेन्टका लागि चाहिने क्लिंकरको यो समस्या ज्यादै बढिरहेको छ ।
 
ज्ञापन पत्र बुझाए पनि सुनिएन
 
यसै बीच हेभी इक्विप्मेन्ट व्यवसायीहरु भने कर तिरेर पनि आफूहरुले चाहिँ यस्ता औजारहरु भित्राउन नपाएको तर भन्सार पारिबाट भाडामा ल्याइने भारतीय नम्बर प्लेटका हेभी इक्विप्मेन्टमा भने कुनै रोकतोक बिनै नेपाल भित्रिनुले सरकारले आफूहरु माथि ठाडै अन्याय गरेको बताएका छन् ।
 
यो समस्या बढ्दै जान थालेपछि महासंघका महासचिव उमाकान्त शर्माको नेतृत्वमा नेपालगन्ज स्थित भन्सार विभागमा हेभी इक्विप्मेन्ट व्यवसायीको डेलिगेसन नै गएको थियो ।
 
हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ अन्तर्गत रहेको विभिन्न जिल्ला संघहरुले आ–आफ्नै स्थानमा पर्ने भन्सारमा समेत ज्ञापन पत्र बुझाएको समाचार प्राप्त भएका छन् ।
 
भन्सार कार्यालयहरुले भने ज्ञापन पत्र बुझेर पनि आफुहरुको सुनुवाइ नगरेको उनीहरुले बताए ।
 
महासचिव शर्माले भने, ‘हामीले यसरी अवैधानिक ढंगले निर्माण प्रविधिहरु भित्रिने क्रम रोक्न निवेदन गरेका छौं, तर सरकारले सुनेको छैन । यो समस्या समाधान नभए हामी आन्दोलनमा जाने छौं ।’

के भन्छ भन्सार ?
 
यता भन्सार विभागले भने आफूहरुले करको दायरा भन्दा बाहिर रहेर काम नगरेको जिकिर गरेको छ ।
 
विभागका एक अधिकारीले निर्माण सञ्चारसँग भने, ‘नेपालका हेभी इक्विप्मेन्ट व्यवसायीहरुले निर्माण कार्यका लागि चाहिने जस्तै आत्याधुनिक औजारहरु भित्राउन नसकेको देखिन्छ । तर पनि विकास र निर्माणका लागि आवश्यक पर्ने त्यस्ता प्रविधि भित्र्याउने कुरामा व्यवसायीले ल्याउनै नहुने भनेर कुर्लनुको कुनै तुक छैन ।’
 
उनका अनुसार सरकारले निर्धारण गरेको आर्थिक विधेयक (बजेट नीति तथा कार्यक्रममै) नेपालको विभिन्न परियोजना विकासका लागि आवश्यक औजार भित्राउन सकिने उल्लेख गरेको छ ।
 
उनले भने, ‘सरकारले बाहेक पनि निर्माण व्यवसायीले पनि यस्ता औजार ल्याउन सक्छन् । यो ३ तरिकाले ल्याउन सकिन्छ । पहिलो हो पूरै भन्सार तिरेर हेभी इक्विप्मेन्ट ल्याउने प्रावधान ।
 
दोस्रो, ठूला परियोजनाका लागि सम्झौतामा उल्लेख भए अनुसार हेभी इक्विप्मेन्ट भित्र्याउने सक्ने कुरा राज्यले नै दिएको अधिकार भित्र पर्छ ।
 
तेस्रो, आर्थिक विधेयक अनुसार तोकिएको दररेटमा परियोजनाका लागि आवश्यक हेभी इक्विप्मेन्ट भाडामा ल्याउने प्रावधान छ ।
 
त्यसैले यसमा भाडामा मात्रै लगाएर हेभी इक्विप्मेन्ट व्यवसायी बनिरहेको साथीहरुले कि त आफूले माग अनुसारको सामान दिन सक्नु पर्यो, हैन भने चाहिएको सामान किन ल्याएको भनेर रोक्न मिल्छ ?’
 
निर्माण सञ्चारसँग बोल्दै भन्सार विभागका ती अधिकारीले भने, ‘यदि सम्बन्धित पक्षले आफूलाई मर्का परेको भन्छ भने लिखित निवेदन सहित अर्थ मन्त्रलाय अन्तर्गतको भन्सार विभागको भन्सार उपसमिति तथा राजस्व व्यवस्थापन महाशाखामा गएर आफ्नो समस्या राख्न सक्ने छन् । मेरो अनुरोध छ कि त्यहाँ नै गएर तपाईहरुले आफ्नो समस्या राख्नुहोला ।’
 
पूर्वाधार विकास र निर्माणका लागि पछिल्ला सरकारहरु मैत्री भए पनि विगत बहुदल कालखण्डका सरकारहरु भने मैत्री बन्न सकेका थिएनन् । 
 
पूर्वाधार निर्माणका लागि प्रयोग हुने हेभी इक्विप्मेन्टमा न्यून भन्सार दर (१देखि २ प्रतिशत मात्रै) मा नेपालमा हेभी औजारहरु भित्राउन सकिने चलन तत्कालीन मनमोहन अधिकारील सरकारले थालनी गरेको थियो ।
 
 
 
...
बिहीबार, २० पुस, ०७४

प्रतिक्रिया

Related