रुपन्देहीका हाडवेयर व्यवसायी आन्दोलित–मौका छोपेर उद्योगीले निर्माण सामाग्रीको मूल्यवृद्धि गरेको आरोप

सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपियाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपियाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपियाँ मूल्यवृद्धि
निर्माण सञ्चार, काठमाडौँ | निर्माण सामाग्री उत्पादक कम्पनीहरुले केही दिनयता विनाकारण मूल्यवृद्धि बढाएकोमा रुपन्देहीका हाडवेयर व्यवसायी आन्दोलित बनेका छन् ।

विशेषगरी छड र सिमेन्ट उद्योगले चर्को रुपमा विनाआधार नै मूल्यवृद्धि गरेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका हुन् ।

जसअन्तर्गत पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपियाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपियाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपियाँ मूल्यवृद्धि गरेको हाडवेयर व्यवसायी बताउँछन् ।

पत्रकार सम्मेलन गरेर हाडवेयर व्यवसायी संघले मूल्यवृद्धिको विरोध गर्दै हरेक हाडवेयर पसल बन्द गराएको छ ।

छड तथा सिमेन्ट उद्योगले अचाक्ली मूल्यवृद्धि गरेकाले शनिबारदेखि नै व्यवसाय बन्द गरेको रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताए । उनले अनिश्चितकालीन आन्दोलन गर्न बाध्य भएको दाबी गरे ।

यस जिल्लामा करिब १ हजार २ सय व्यवसायी छन् । मूल्यवृद्धिका कारण प्रत्यक्ष असर उपभोक्ता र हाडवेयर व्यवसायीमा परेको संघले बतायो ।

मूल्यवृद्धिको चौतर्फी विरोध भइरहँदासमेत सम्बन्धीत निकायबाट अनुगमन, छानबिन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालेको भन्दै संघले आरोप लगाएको छ ।

संघका उपाध्यक्ष विष्णु बरालले भने ‘विद्यमान अवस्थामा लोडसेडिङ पनि छैन, डलरको भाउ पनि बढेको छैन, क्लिंकरको भाउ समेत बढेको छैन र स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको अवस्थामा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाइएको छ ।’

उपभोक्तालाई चर्को मूल्यमा नपार्न नै आन्दोलित भएको उपाध्यक्ष बरालको भनाइ छ ।

यस समयमा निर्माण सामग्रीको माग अत्याधिक हुने हुँदा मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेको संघको आरोप छ ।

उद्योगहरूले वीरगन्ज नाकाबाट सहज रूपमा क्लिंकर नभित्रिएको भन्दै कृत्रिम अभाव देखाएर मूल्यवृद्धि गरेको बताइएको छ ।

यससँगै संघले मूल्यवृद्धि नियन्त्रण गर्न र अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र समेत बुझाएको छ ।

...

आइतबार, २३ पुष ०७४ 

प्रतिक्रिया

Related