गोरखा निर्माण व्यवसायी संघ प्रादेशिक संरचनामा– नयाँ नेतृत्व चयन

निर्माण सञ्चार, गोरखा | मुलुक संघीय प्रणालीमा गएसँगै गोरखा निर्माण व्यवसायी संघ पनि प्रादेशिक संरचनामा जाने भएको छ । यसँसगै संघले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

गत शुक्रबार (पुष २१) सम्पन्न २१ औँ साधारण सभाले विधानअनुसार नै १ अध्यक्ष र ११ सदस्यसहितको नेतृत्व चयन गरेको गोरखा निर्माण व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिए ।

१४ अञ्चल, ७५ जिल्ला सहित वस्तुगत तथा एसोसिएटको अभ्यास गर्दै आएको निर्माण व्यवसायी महासंघले अब ७ ओटा प्रदेशलाई नै आधार मानी प्रदेशहरुका महासंघ सहितको छाता अर्गनाइजेसनको रुप पाएको छ ।

सोहीअनुसार नै गोरखा निर्माण व्यवसायी संघ पनि अघि बढ्ने अध्यक्ष श्रेष्ठले निर्माण सञ्चारसँगको कुराकानीमा भने ।

यससँगै केहीदिन यता चर्को रुपमा बढेको निर्माण सामाग्रीको मूल्यवृद्धि तथा दररेटका विषयमा समेत छलफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

चर्को मूल्यवृद्धि भएकोमा आपत्ति जनाउँदै अब यसको समाधानमा जानुपर्ने सभाले निक्र्यौल गरेको छ ।

‘उक्त सभाले निर्माण सामाग्रीको दररेट सम्बन्धमा वर्षमा २ पटक बैठक राखिने निणर्य गरेको छ’ उनले भने ‘यदि कुनैपनि निर्माण सामाग्रीको मूल्य तोकिएको मूल्यभन्दा १५–२० प्रतिशत बढी गरिएको पाइएमा सरकारको ध्यानाकर्षण गराइनेछ ।’

देश संघियतामा गइसकेको र पूर्वाधार विकास तथा निर्माण कार्य पनि तीव्र रुपमा बढ्ने समय आएको भन्दै अध्यक्ष श्रेष्ठले राजनीतिक स्थायीत्व हुने भएपछि निर्माण व्यवसायीको झनै महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

अध्यक्षको नेतृत्वबाट ११ पदाधिकारीको मनोनयन भइसकेको बताउँदै अध्यक्ष श्रेष्ठले आगामी २६ गते सपथ तथा पदहस्तान्तरणको कार्यक्रम समेत रहेको जानकारी दिए ।

निर्वाचित सदस्यहरुमा राजु बाबु लामिछाने, सुर्यबहादुर भण्डारी, उद्यव भट्ट, भोलाप्रसाद मरहठ्ठा, किरण बहादुर श्रेष्ठ, लेखबहादुर, डमर सिंह गुरुङ, विनेश गुरुङ, लक्ष्मणकाजी श्रेष्ठ, शुरेन्द्र वस्नेत, अनिल कुवँर रहेका छन् ।

सो कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ, महासंघका महासचिव रामशरण देउजा, महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र शर्मा, महासंघका उपाध्यक्ष निकोलस पाण्डे, लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

...

आइतबार, २३ पुष ०७४ 

प्रतिक्रिया

Related