हाइड्रो एक्स्पो सोचेभन्दा उपलब्धिपूर्णः सरकारले बोलेको तर सहयोग नगरेको ऊर्जा उद्यमीको आवाज (भिडियो सहित)

५० हजार बढीले गरे भिजिट, विद्यार्थीहरुको ‘कन्सेप्ट प्रदर्शनी’मा साउथ वेस्टर्न बिजनेस कलेज सर्वाेत्कृष्ट
निर्माण सञ्चार, काठमाडौं । निजी क्षेत्रबाटै जलविद्युत्मा नयाँ फड्को मार्न सकिने संकेत गरेको स्वतन्त्र विद्युत् उत्पादकहरुको साझा संस्था इपानले गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ५० हजार बढीले अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त प्रदर्शनीले आफूहरुमा नयाँ उत्साह, जोश र जाँगर थपेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

अध्यक्ष गुरागाईंले जलविद्युत् सम्बन्धी थेउरी, टेक्नोलोजी, लगानी तथा लगानीकर्ताहरु सबैलाई एकै ठाउँमा भेला पारेर राज्य र निजी क्षेत्रलाई आफूहरुले दिन चाहेको सन्देश बलियोसँग दिन सकेको समेत दाबी गरेका छन् ।

नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने बेला बैंक तथा वित्तीय क्षेत्रदेखि सरकार पनि आफूले गर्न नसक्ने भन्दै पन्छिने गरेको तर निजी क्षेत्रले कुछ गर्न सक्ने ल्याकत राख्छ भन्ने सन्देश दिन आफूहरु सफल रहेको अध्यक्ष गुरागाईंको दाबी छ ।

‘सरकार त के बैंकहरु पनि अझै जलविद्युत् मैत्री देखिएका छैनन्, सरकार त विदेशी मात्रै गुहार्दै हिड्छ, हामी भन्छौं, हामीसँग हातेमालो गर, वातावरण देऊ, नेपालमा जलविद्युत् सक्तो उत्पादन, खपत र बिक्री वितरण गर्न हामी सक्षम छौं,’ उनले भने ।

अध्यक्ष गुरागाईका अनुसार यही गलत सोच र प्रवृत्ति हटाउन शक्तिशाली जवाफ बन्यो हाइड्रो एक्स्पो ।

व्यवस्थापकीय जिम्मेवारी लिएको इभेन्ट सोलुसनका प्रबन्धक विजय सागर श्रेष्ठले नेपालमै पहिलो पटक यस्तो किसिमको ‘हिमालयन हाइड्रो एक्स्पो’ गर्न सकिएको र आफूहरु अत्यन्तै उत्साही भएको प्रतिक्रिया दिए ।

३ दिनसम्म चलेको प्रदर्शनीको आइतबार समापन गर्दै आयोजक तथा व्यवस्थापकले प्रदर्शनीमा ५० हजार बढीले अवलोकन गरेको बताएको छ ।

सञ्चारकर्मीहरुको छोटो साक्षात्कारमा प्रबन्धक श्रेष्ठले जलविद्युत् क्षेत्रमा आफूहरुले थोपा थोेपा सँगालेर घैला भर्ने नीति लिएर अघि बढेको र ५ मेगावाटदेखि थालेको यात्रा यतिबेला निजी क्षेत्रकै सबैभन्दा ठूलो हाइड्रो परियोजना (सोलुमा ८६ मेवा) को नेतृत्व गर्न सफल रहेको दाबी गरे ।

उनले सरकार र बैंकिङ नीति निजी क्षेत्रमैत्री अझै पनि हुन नसकेको बताए । उनले निजी क्षेत्रका जलविद्युत् उत्पादनका लागि सरकार आफूले बोलेको सहुलियत ऋण वा सहयोग कुनै पनि नदिएको भन्दै यस प्रति आवाज उठाउन सञ्चारकर्मीसँग अनुरोध समेत गरेका छन् ।

भिडियो 

उनले भने, ‘प्रतिमेगावाट निजी क्षेत्रलाई ५० लाख दिने भनेको दिएको छैन, ५ लाख एवार्ड गर्ने भन्यो, त्यो पनि भएको छैन । २ करोड ७५ लाख ५ मेगावाटमा हामी घाटा खाइकनै पनि यसरी उत्साही भएर काम गरिरहेका छौं । तर बैंकिङ क्षेत्र हेर्नाेस् न हाइड्रो क्षेत्रमा लगानी गर्ने भनेपछि कति ब्याजदर लिन तयार भएर बसेको छ ? यो त सबै सुध्रनु पर्यो नि !’

उक्त प्रदर्शनीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित स्वदेशी, विदेशी तथा क्याम्पस र विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरुको समेत सहभागिता रह्यो ।

जलविद्युत् उत्पादन, वितरण तथा उपभोगबारे नयाँ नयाँ अवधारणाहरु समेत उक्त प्रदर्शनीमा प्रस्तुत भएका छन् । एक्स्पोले नयाँ नयाँ टेक्नोलोजी र नीतिबारे बहस तथा प्रदर्शनी गरेको थियो ।

पूर्वाधार निर्माणका लागि चाहिने विभिन्न हेभी उपकरणहरु समेत प्रर्दशनीमा सबैका लागि आकर्षणको केन्द्र बन्न सफल भयो ।

जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने ठूला उपकरणको बजार मूल्य प्रतिस्र्धात्मक देखिँदा प्रवद्र्धकले सस्तो रेटमा पनि औजारहरु खरिद गर्न सक्ने सम्भावना देखाएको आयोजको भनाइ छ ।

एक्स्पोमा गुणस्तरीय सूचना सेयरिङ भएको आयोजको भनाइ छ ।

आयोजकका अनुसार जलविद्युत्को क्षेत्रमा भविष्यमा लगानी गर्न चाहने जो कोही प्रवर्द्धकको यात्रा सहज बनाउन एक्स्पो सहयोगी बनेको छ ।

एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, ऋण लगानी गर्ने बैंक, इक्युपमेन्ट सप्लायर, विदेशी लगानीकर्ताको सहभागिता रह्यो ।

चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक जस्ता देशहरुले समेत नेपालका एक्स्पोमा भाग लिएको आयोजकले जानकारी दियो ।

विद्यार्थी पनि अब बन्न सक्नेछन् जलविद्युत्का लगानीकर्ता, कसरी ?

प्रदर्शनीले विभिन्न नयाँ सोच समेत दिएको छ । नयाँ पुस्ताले नयाँ कुरा दिन सक्छन् भन्ने सत्य प्रमाणित गरेका छन् विभिन्न विश्वविद्यालयबाट प्रदर्शनीमा फरक खाले कन्सेप्ट दिने विद्यार्थी प्रतिस्पर्धीहरुले ।

त्यस मध्ये साउथ वेष्ट्रन विजनेस कलेजले घरदेखि विद्यार्थीसम्म पनि कसरी जलविद्युत्का लागनीकर्ता बन्न सक्नेछन् र निश्चित समयमा मुलुकलाई नै अन्धकारमुक्त बनाउने छन् भन्ने कन्सेप्ट दिएका छन् ।

उनीहरुको कन्सेप्ट उत्कृष्ट बन्यो र हिमालयन हाइड्रो एक्स्पोको अवार्ड जित्न सफल बनेको छ ।

एक्स्पोले आयोजना गरेको अन्तर कलेज जलविद्युत् सोच प्रतिस्पर्धामा साउथ वेस्टर्न बिजनेस कलेज उत्कृष्ट भएको हो । उनीहरुले जलविद्युत उत्पादनमा स्वदेशी लगानी कसरी उठाउन सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए ।

विजेता कलेजले ५५ हजार ५ सय ५५ रुपियाँ ५५ पैसा राशीको पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, प्रतिस्पर्धामा काठमाडौं विश्व विद्यालयको समूह ‘सी’ दोस्रो भएको छ ।

यो समुहले ‘लो हेड’ भएका आयोजनाका लागि प्रयोग हुने टर्वाइनको डिजाइन तथा निर्माण गरेको थियो ।

दोस्रो बनेको यो समूहले २२ हजार २ सय २२ रुपियाँ २२ पैसा राशीको पुरस्कार पाएको छ ।

त्यसैगरी, तेस्रो हुने काठमाडौं विश्व विद्यालयकै समूह ‘ई’ ११ हजार १ सय ११ रुपियाँ ११ पैसा पाएको छ । यो समूहले नदीको पानी पम्पिङ गरेर ग्रामीण क्षेत्रमा सिंचाई गर्न सकिने प्रविधि आविष्कार गरेको हो ।

प्रतियोगितामा काठमाडौ विश्व विद्यालयको समूह ‘डी’ ‘सी’, ‘ए’ क्रमशः चौंथो, पाँचौं र छैटौं भएका छन् । अन्य विद्यार्थी समूहले सहभागिता प्रमाणपत्र पाएका छन्।


विजेतालाई इपान अध्यक्ष गुरागाईंले नगद पुरस्कार प्रदान गरे भने पूर्व अध्यक्ष खड्ग बिस्टले प्रतिस्पर्धीहरुको नाम घोषणा गरेका थिए ।

 

 

 

  

  

 

 

 

 

...

आइतबार, २३ पुस, ०७४

 

प्रतिक्रिया

Related