२ वर्षभित्र सक्ने गरी मुगु कर्णाली आयोजनाको अध्ययन बिपिसीलाई

आगामी ५ वर्षमा हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
निर्माण सञ्चार, काठमाडौँ | विद्युत विकास विभागले मुगु जिल्लामा पहिचान भएको १५९.६२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र बुटवल पावर कम्पनी (बिपिसी)लाई दिएको छ ।

उक्त आयोजनाको अनुमतिपत्र आगामी दुई वर्षभित्र अध्ययन पूरा गर्ने गरी दिइएको हो ।

१०० मेगावाटभन्दा ठूला आयोजनाको अनुमति विद्युत विकास विभागको सिफारिसमा ऊर्जा सचिवले सदर गर्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार बिहीबार (मंसिर ७) गते सचिव अनुपकुमार उपाध्यायले अनुमतिपत्र दिने निर्णय सदर गरेका थिए ।

विभागले प्रारम्भिक डेस्क अध्ययन प्रतिवेदनका आधारमा अनुमतिपत्र दिइएको बताएको छ ।

उक्त आयोजनाबाट मुगुको जिमा, कलाई, नाथार्पु, धैना, भियी, श्रीनगर, रारा, रुघालगायत गाविस प्रभावित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

यस आयोजनाको नदी प्रवाही (आरओआर), अर्धजलाशय (पि–आरओआर) र जलाशय तीन छुट्टा–छुट्टै क्षमतामा अध्ययन हुने भएको छ ।

बिपिसीले नदी प्रवाही आयोजना निर्माण गर्दा क्षमता १५९.६२ मेगावाट प्रस्ताव गरेको छ ।

सोअनुसार ९ मिटर डायमिटरको ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसैगरी, आयोजना जलाशय बनाउँदा क्षमता ४ सय ३९ मेगावाट पुग्नेछ ।

यसबाट वार्षिक २ हजार ५ सय ८९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । अर्धजलाशय बनाउँदा क्षमता करिब २ सय ३३ मेगावाट हुनेछ भने वार्षिक १ हजार ३ सय २१ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

आयोजना नदी प्रवाही बनाउँदा १५९.६२ मेगावाटमा वार्षिक ८ सय ८९ गिगावाट घन्टा उत्पादन हुनेछ । हालसम्म बिपिसीले साढे १२ मेगावाटको झिमरुक र साढे ९ मेगावाटको आँधीखोला निर्माण गरिसकेको छ ।

साथै ३७.६ मेगावाटका काबेली ‘ए’ र ३० मेगावाटको निर्माणाधीन छन् । सोही कम्पनीद्वारा मनाङमा निर्माण हुने १०० मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी पनि अघि बढिरहेको छ ।

देशको जलविद्युत् विकासलाई गति दिने उद्देश्यअनुसार बिपिसीले आगामी ५ वर्षमा झण्डै २ खर्ब रुपियाँ चिनियाँ लगानी भित्र्याउने योजना बनाएको छ ।

यसका लागि गत बुधबार एससिआइजी इन्टरनेशनल हाइड्रो पावर डेभलपमेन्ट कम्पनी दर्ता भइसकेको छ ।

त्यस कम्पनीमा बिपिसीको २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीहरूको लगानी हुने भएको छ ।

सोही कम्पनीमार्फत् आगामी ५ वर्षमा हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । बिपिसीका अनुसार यस योजनाअनुसार नै मुगु कर्णाली पनि अघि बढाइने छ ।

...

सोमबार, ११ मंसिर ०७४ 

प्रतिक्रिया

Related