आकासिँदै प्याजको भाउ, कालिमाटीमै एक सय पाँच रुपियाँ

उपभोक्ताको हातमा पुग्दा एक सय ३० रुपियाँ
निमार्ण सञ्चार, काठमाडौं । भारतमा प्याजको कमी हुँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।

भारतमा उत्पादन भएको प्याज केही महिना अघिकाे बाढीका कारण र भण्डारण गृहमा पानीले भिजेर नष्ट भएकाे थियाे । प्याज नष्ट भएपछि भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याउँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारलाई परेको छ ।

भारतमै माग अनुसारको प्याजको आपूर्ति नभएपछि भारतको विदेश व्यापार महानिर्देशनालयले एमईपी प्रणाली लागु गरी प्रतिटन प्याजको निर्यात मूल्य ४६ हजार चार सय ९२ नेपाली रुपियाँ निर्धारण गरेको छ ।

भारतमै स्थानीय प्याजको मार्ग अनुसारको आपूर्ति हुन नसकेपछि नेपाल, बंगलादेश र पाकिस्तानमा गर्ने निर्यातमा कमि ल्याउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतमा पछिल्लो समयमा थोक मूल्य प्रतिकेजी ४० (नेपाली ६४ रुपियाँ) बाट बढेर ५५ (८८ रुपियाँ नेपाली) प्रतिकेजी पुगेको छ । यसैगरी, खुद्रामा ७५ (नेपाली एक सय २० रुपियाँ) पुगेको छ ।

ठूलो परिणाममा भारतबाट अन्य मुलुकमा निर्यात भइरहेको प्याजको मात्रालाई कम गरी स्थानीय जनतालाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउन भारत सरकारले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतको चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३.८६ टन प्याज निर्यात गरेको छ । यसैगरी, यही अवधिमा गत वर्ष १०.६३ टन प्याज निर्यात गरेको थियो ।

भारतले यो वर्ष ३० प्रतिशत बढी प्याज निर्यात गरेको छ । भारतका राजस्थान, महाराष्ट्र, गुजरात, तमिलनाडु, मध्य प्रदेश र कर्नाटकमा सबैभन्दा बढी प्याज उत्पादन हुने स्थान हुन । काठमाडौंको खुद्रा पसलमा प्याज १ सय ३० भारतीय नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ ।

पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले महँगीको मारमा पिल्सीनु परेको कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता सुनिल महर्जनले बताए ।

कात्तिक अन्तिम साता प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।

भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएसँगै खुद्रा व्यापारीले पनि त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई मात्रै धानेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए।

नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत प्याज भारतबाट आयात गर्ने गरेको छ। उनका अनुसार नेपालमा भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ ।

प्याजको अभाव हुँदा यस्ता स्थानबाट अहिले दैनिक चार ट्रकको हाराहारीमा प्याज कालिमाटी तरकारी बजारमा भित्रिने गरेको छ । पहिले दैनिक ३० ट्रकसम्म प्याज आउने गर्थ्याे ।

नेपाली उपभोक्तालाई सस्तोमा प्याज उपलब्ध गराउन थोक आयातकर्ताले चीनबाट प्याज आयात गर्ने प्रक्रिया सुरु गरेका छन् । तर, नेपाली उपभोक्ताले चीनको प्याज उपभोग गर्न कम्तीमा एक महिना कुर्नुपर्नेछ ।

एलसी खोलेर चीनबाट प्याज आयात गर्न कम्तिमा एक महिनाको समय लाग्छ । चीनको प्याजमा अत्यधिक परिमाणमा पानीको मात्रा हुने र हेर्दा कालोजस्तो देखिने हुनाले नेपाली उपभोक्ताले चीनको प्याज त्यति रुचाउन नसकेको व्यवसायीको भनाइ छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामै भारत र चीनबाट ९४ करोड मूल्यबराबरको चार लाख ८६ हजार दुई सय ६४ किलो प्याज आयात भएको छ ।

यसमध्ये भारतबाट ९२ करोड ९५ लाख ५२ हजार मूल्यबराबरको दुई लाख ८८ हजार दुई सय १५ र चीनबाट एक करोड नौं लाख १४ हजार मूल्यबराबरको एक लाख ९८ हजार किलो प्याज आयात भएको थियो ।

महासंघका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब एक करोड ७० लाख मूल्य बराबरको दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ।

...

मंगलबार १२, मंसिर ०७४

प्रतिक्रिया

Related