प्राधिकरणले तीनवटै आयोजना एकद्वार प्रणालीबाट अगाडि बढाउँदै

निर्माण सञ्चार, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका विभिन्न तीन आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको छ ।

प्राधिकरणले गौतम बुद्ध विमानस्थल (भैरहवा) सुदृढीकरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा) र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) आयोजना एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने भएको हो ।

योजनाअनुसार कामलाई अगाडि बढाउन नसकेपछि प्राधिकरणले एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको हो । तीन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन एउटा अलग्गै संयन्त्र विकास गरिने जानकारी प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

संयन्त्र बनाई तोकिएकै समयमा कामलाई तिब्रता दिइने गरी अगाडि बढिएको बताएका छन् ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ इस्ट सिभिल एभिएसनसँग आयोजनाको बारेमा भएको सम्झौताको अवधि सकिन ६ महिनामात्र बाँकी छ । तर, हालसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति ४० प्रतिशत पनि भएको छैन ।

राष्ट्रिय गौरवका तीनवटै आयोजनाको काम सुस्त हुँदा प्राधिकरणले गत आर्थिक वर्ष ३० अर्ब ८२ करोड ९४ लाख बजेटमध्ये जम्मा ४ अर्ब ३८ करोड ४० लाख रुपैयाँ मात्र खर्च गरेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्ष ३६ अर्ब १८ करोड २८ लाख बजेट प्रस्ताव गरेको छ । पुँजिगततर्फ ३२ अर्ब ६५ करोड १४ लाख तथा कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड १५ लाख बजेट प्रस्ताव गरेको हो ।

प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा सम्पन्न गर्ने र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गा तथा घरटहराको मुआब्जा चालू आर्थिक वर्षभित्र वितरण गरिसक्ने बताएको छ ।

विमानस्थल निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जग्गा तथा घर टहराको लागि कोहल्वी नगरपालिका वडा नम्बर ५, ८ को ८४ विगाही जग्गा तथा ती जग्गामा निर्मित १ सय ३४ वटा घर अधिग्रहण गर्नुपर्ने देखिएको छ । अधिग्रहण गरिने जग्गालाई बारा जिल्ला प्रशासन कार्यालयले तीन भागमा वर्गीकरण गरेको छ ।

तीन भागमा वर्गीकरण गरी प्रतिकठ्ठा २ लाख ४१ हजार ५ सयदेखि ४ लाख ६० हजार रुपियाँका दरले मुआब्जाका लागि आह्वान गरेको तर नगन्य जग्गाधनीले मात्र निवेदन दिएका छन् ।

प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने पनि बताएको छ । विमानस्थलको डीपीआर कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाइड (एलएमडब्लु) ले ६ वर्षपहिले नै तयार पारे पनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।

एलएमडब्लुले डीपीआरमा विमानस्थल निर्माणमा ३ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

...

मंगलबार, १२ मंसिर ०७४

प्रतिक्रिया

Related