उत्तर कोरियाले गर्यो अमेरिकासम्म मार हान्ने ‘ह्वासोङ–१५’ क्षेप्यास्त्र परीक्षण, अमेरिकामा बढ्यो त्रास

उत्तरकोरियाली सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको दाबी गरिएको छ
निर्माण सञ्चार, प्योङयाङ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने गरी नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेपछि यसले सबैभन्दा बढी अमेरिकालाई छोएको छ ।

उत्तरकोरियाली सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको दाबी गरिएको छ ।

ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र कोरियाले बुधबार बिहान प्रक्षेपण गरेको थियो । जापानी समुद्रमा खसेपछि उक्त परीक्षणको सर्वत्र आलोचना भएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयलका अधिकारीले उत्तर कोरियाको उक्त परीक्षणको कडा आलोचना गरेको छ । चीनले यसलाई सर्वपक्षीय छलफलबाट मात्रै समाधान खोज्नु पर्ने आग्रह गरेको छ ।

उसको क्षेप्यास्त्र परीक्षणको जापान र दक्षिण कोरियाले पनि विरोध गरेका छन् ।

प्योङयाङका अनुसार नेता किम जोङ–उन आफैले उक्त प्रक्षेपणमा भाग लिएका थिए ।

दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्र ४५०० किलोमिटर उचाईबाट ९६० किलोमिटर टाढासम्म पुगेको थियो । उत्तरले पछिल्लो समय श्रृंखलाबद्ध रुपमा यस्ता परीक्षणहरु गर्दै आइरहेको छ ।

जसको कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ । गत सेप्टेम्बरमा पनि कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नका साथै छैटौँ परमाणु बमको परीक्षण समेत गरेको थियो ।

यस अघिको उसको परीक्षण कार्यलाई लिएर कोरियामाथि थप प्रतिबन्ध लगाइएको छ । तर पनि उसले परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई रोकेको छैन ।

 

 

...

बुधबार, १३ मंसिर, २०७४

 

प्रतिक्रिया

Related