कालिकाेटमा जिप दुर्घटनाः ३ को मृत्यु, ६ जना घाइते

निर्माण सञ्चार, कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालिकोट जिल्लाको जिल्ला अस्पताल नजिकै दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै ज्यान गएको छ ।

दुर्घटना स्थलमै मृत्यु हुनेहरुमा मुगु रारा छाँयानाथ नगरपालिका १ का ४६ वर्षीया नरविक्रम मल्ल, मुगु सोरु गाउँपालिका ३ का ४५ वर्षीय जयरुप बुमी र जुम्ला चन्दनाथ नगरपालिका निवासी ४५ वर्षीय यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइते हुनेहरुमा मुगु सोरु गाउँपालिका ३ का बिष्णुराज धामी, सोही गाउँकी किसिम कार्की, मुगु बालै गाउँपालिका ६ की लक्ष्मी रावल, मुगु साविकको श्रीनगर गाविस निवासी गर्भवती मायालक्ष्मी मल्ल र नेपालगञ्ज नगरपालिका ५ का जिप चालक इन्द्र चौधरी रहेका छन् ।

जिप चालक चौधरीको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । चालक चौधरीलाई तत्काल हेलिकोप्टरबाट नेपालगन्ज लैजाने तयारी भएको छ भने अन्य घाइतेहरुको कालिकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुगु सोरु गाउँपालिका ३ की जिपको यात्री किसिम कार्कीले रातिको समयमा निद्रामा भएकाले जिप दुर्घटना भएको थाहै नपाएको बताइन ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कालिकोटको मान्ममै रात परेपनि प्रहरीलाई डेलिभरी केस लिएर सुर्खेत जाने भनेर राती आएको जिप करिब राती साडे १० बजेतिर कालिकोटको जिल्ला अस्पताल नजिकैको मोडमा दुर्घटना भएको हो ।

दुर्घटनाको मुख्य कारणको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– सागर परियार

...

बुधबार, १३ मंसिर ०७४ 

प्रतिक्रिया

Related