चालू आर्थिक वर्षमा व्यापारघाटा ९ खर्ब पुग्ने अनुमान

चुलिँदै व्यापारघाटाः निर्यात/आयात अनुपातमा निर्यातको हिस्सा ४ प्रतिशत कम
निर्माण सञ्चार, काठमाडौँ | देशमा निर्यातको तुलनामा आयात बढ्दै गएकाले व्यापारघाटा चुलिने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष ०७४/०७५ मा देशको कूल व्यापारघाटा ९ खर्ब ५६ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

आपूर्ति मन्त्रालयका अनुसार गत आवमा भने यस किसिमको घाटा ९ खर्ब १२ अर्ब रुपियाँ पुगेको थियो ।

आर्थिक वर्ष ०७३/७४ मा वैदेशिक व्यापारअन्तर्गत कूल वस्तु निर्यात ७३ अर्ब १२ करोड रुपियाँ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो आवको तुलनामा यो २.८ प्रतिशत बढी हो ।

त्यसैगरी, सोही आर्थिक वर्षमा कूल वस्तु आयात ९ खर्ब ८५ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो । अघिल्लो आवको तुलनामा यो २६.२ प्रतिशत बढी हो ।

निर्यात/आयात अनुपातमा निर्यातको हिस्सा ४ प्रतिशतभन्दा कम देखिएको छ ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार कूल निर्यातमा भारत, युएइ, टर्की, जर्मनी र बेलायतको हिस्सा करिब ८२५ रहेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा भएको सचिवस्तरीय बैठकमा सचिव घिमिरेले कूल आयातमा भारत, चीन, युएइ, फ्रान्स र इन्डोनेशियाको हिस्सा करिब ८४ प्रतिशत रहेको बताए ।

जसअनुसार चौधौं आवधिक योजनामा कूल गार्हस्थ उत्पादनमा व्यापारघाटाको अनुपात ३० प्रतिशतमा झार्ने (गत आवमा ७८० अर्ब रुपियाँ व्यापारघाटा हुनुपर्ने) लक्ष्य लिएकोमा ९ खर्ब १२ अर्ब रुपियाँ पुगेको थियो ।

मुख्यतः नेपालबाट निर्यात हुने वस्तुहरू चिया, जडिबुटी, कफी, अलैंची, अदुवा, ऊनी गलैंचा, जुत्ता, च्याङग्रा, पश्मिना धागो, तयारी पोशाक, हस्तकलाका सामान र तयारी चाउचाउको आयात र निर्यातको अवस्थाबारे पनि घिमिरेले स्पष्ट पारेका थिए ।

उनले नेपालबाट फर्निचर, अल्कोहलिक पेय पदार्थ, सुर्तीजन्य वस्तु, मोबाइल, पहेंलो धातु लगायतको आयातको विस्तारमा जोड दिनुपर्ने बताए ।

...

बिहीबार, १४ मंसिर ०७४

प्रतिक्रिया

Related