अकासिदै प्याजको भाउ, स्वदेशी उत्पादनले १५ दिनको मागलाई मात्रै धान्ने

बजारमा आइपुग्दा प्याजको मूल्य १५०, मारमा सर्वसाधरण
निर्माण सञ्चार, काठमाडौँ | भारतमा प्याजको कमी हुँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।

भारतमा उत्पादन भएको प्याज केही महिना अघिको बाढीका कारण र भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो ।

प्याज नष्ट भएपछि भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याउँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारलाई परेको छ ।

भारतमै माग अनुसारको प्याजको आपूर्ति नभएपछि भारतको विदेश व्यापार महानिर्देशनालयले एमईपी प्रणाली लागु गरी प्रतिटन प्याजको निर्यात मूल्य ४६ हजार चार सय ९२ नेपाली रुपियाँ निर्धारण गरेको बताइएको छ ।

भारतमै स्थानीय प्याजको मार्ग अनुसारको आपूर्ति हुन नसकेपछि नेपाल, बंगलादेश र पाकिस्तानमा गर्ने निर्यातमा कमि ल्याउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतमा पछिल्लो समयमा थोक मूल्य प्रतिकेजी ४० (नेपाली ६४ रुपियाँ) बाट बढेर ५५ (८८ रुपियाँ नेपाली) प्रतिकेजी पुगेको छ ।

यसैगरी, खुद्रामा ७५ (नेपाली एक सय २० रुपियाँ) पुगेको छ ।

ठूलो परिणाममा भारतबाट अन्य मुलुकमा निर्यात भइरहेको प्याजको मात्रालाई कम गरी स्थानीय जनतालाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउन भारत सरकारले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतको चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३.८६ टन प्याज निर्यात गरेको छ ।

यसैगरी, यही अवधिमा गत वर्ष १०.६३ टन प्याज निर्यात गरेको थियो । भारतले यो वर्ष ३० प्रतिशत बढी प्याज निर्यात गरेको छ ।

भारतका राजस्थान, महाराष्ट्र, गुजरात, तमिलनाडु, मध्य प्रदेश र कर्नाटकमा सबैभन्दा बढी प्याज उत्पादन हुने स्थान हुन । भारतीय नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ ।

विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) का अनुसार प्याजको यस्तो न्यूनतम निर्यात मूल्य १६ पुस (३१ डिसेम्बर) सम्म कायम रहनेछ ।

पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले महँगीको मारमा पिल्सीनु परेको कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता सुनिल महर्जनले बताए ।

कात्तिक अन्तिम साता प्रतिकिलो ६४ रुपियाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा बिहीबार १२० पुगेको छ ।

भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपियाँ थपिएसँगै खुद्रा व्यापारीले पनि त्यही थोक मूल्यमा थप ३० रुपियाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय १५० रुपियाँमा बिक्री गर्दै आएका छन् ।

नेपालको स्वदेशी उत्पादनले १५ दिनको मागलाई मात्रै धानेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए। नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत प्याज भारतबाट आयात गर्ने गरेको छ ।

उनका अनुसार नेपालमा भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ ।

प्याजको अभाव हुँदा यस्ता स्थानबाट अहिले दैनिक चार ट्रकको हाराहारीमा प्याज कालिमाटी तरकारी बजारमा भित्रिने गरेको छ ।

पहिले दैनिक ३० ट्रकसम्म प्याज आउने गर्थ्यो । नेपाली उपभोक्तालाई सस्तोमा प्याज उपलब्ध गराउन थोक आयातकर्ताले चीनबाट प्याज आयात गर्ने प्रक्रिया सुरु गरेका छन् ।

तर, नेपाली उपभोक्ताले चीनको प्याज उपभोग गर्न कम्तीमा एक महिना कुर्नुपर्नेछ । एलसी खोलेर चीनबाट प्याज आयात गर्न कम्तिमा एक महिनाको समय लाग्छ ।

चीनको प्याजमा अत्यधिक परिमाणमा पानीको मात्रा हुने र हेर्दा कालोजस्तो देखिने हुनाले नेपाली उपभोक्ताले चीनको प्याज त्यति रुचाउन नसकेको व्यवसायीको भनाइ छ ।

प्याज आयात कति ?

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामै भारत र चीनबाट ९४ करोड मूल्यबराबरको चार लाख ८६ हजार दुई सय ६४ किलो प्याज आयात भएको छ ।

यसमध्ये भारतबाट ९२ करोड ९५ लाख ५२ हजार मूल्यबराबरको दुई लाख ८८ हजार दुई सय १५ र चीनबाट एक करोड नौं लाख १४ हजार मूल्यबराबरको एक लाख ९८ हजार किलो प्याज आयात भएको थियो ।

महासंघका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब एक करोड ७० लाख मूल्य बराबरको दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ ।

...

बिहीबार, १४ मंसिर ०७४ 

प्रतिक्रिया

Related