रोकिएको नाै वर्षपछि लिखु ४ को काम अघि बढ्यो

साँढे २ वर्षमा प्रसारण लाइनमा जोडिने
निमार्ण सञ्चार, काठमाडौं । ९ वर्षदेखि विभिन्न बहाना बनाएर अवरोध भइरहेको लिखु ४ जलविद्युत् आयोजनाको काम अघि बढेको छ ।

रामेछाप र ओखलढुंगाको सीमा नदी लिखुमा ५२.४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको आयोजना प्रमुख बद्री रिजालले बताए ।

भारतको भिल्बरा ग्रुप र नेपालको त्रिवेणी समूहले ग्रिन भेन्चर्स प्रालिमार्फत आयोजना निर्माण गर्न लागेको हो । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व रहने छ ।

भारतीय निर्माण कम्पनी ग्रिन भेन्चरका त्रिलोचन अग्रवाल, सुवास संघईद्वारा बुधबार आयोजनाको सुरुवात गरेका हुन ।

करिब ९ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी सम्झौता हुने काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख रिजालले बताए । भिल्बराले भारतीय बैंकबाटै कर्जा लिने तयारी गरे पनि विद्युत् प्राधिकरणसँग नेपाली मुद्रामै पिपिए भएपछि नेपाली बैंकबाटै कर्जा लिने प्रक्रिया अघि बढाएको हो ।

आयोजनामा ग्रिन भेन्चर्सले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ । आयोजनाको व्यवस्थापन भने नेपालको त्रिवेणी समूहले हेर्नेछ । प्राधिकरण र ग्रिन भेन्चर्सबीच वर्षातको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पिपिए भएको छ ।

ग्रिन भेन्चर्सले सुरुमा भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेको भए पनि बजार, बिजुलीको मूल्य, प्रसारण लाइन, पूर्वाधारलगायतका कारण देखाउँदै नेपालमै बिजुली बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पिपिए गरेको हो ।

प्रस्ताव बमोजिम काम नभएपछि करिब ९ वर्षदेखि सो आयोजनाको सबै काम ठप्प भएको थियो । निर्माणको पुनः डिजाइन र विद्युत् प्राधिकरणसँग पिपिए भएपछि आयोजनाको कामले गति लिएको रिजालले बताए । ग्रिन भेन्चर्सलाई विद्युत् विकास विभागले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको थियो ।

आफैँ निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि विसं २०९८ फागुनसम्म रहेको छ । कम्पनीले अबको ३० महिनाभित्र आयोजना निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने जनाएको छ ।

यसअघि प्रवर्द्धक ग्रिन भेन्चर्सले आयोजनाबाट १६ पुस २०७१ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि पिपिए एक वर्षअघि मात्र भएको हो । आयोजनाले वातावरणीय अध्ययन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लगायत जग्गाको समस्या समाधान पनि गरिसकेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा जोडिने गरी आयोजनाको काम अघि बढेको छ ।

आयोजनाले लिखुमा एउटा पक्की पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण र ४ सय ५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

...

बिहीबार १५, मंसिर ०७४

प्रतिक्रिया

Related