१३ जना कविद्वारा संयुक्त यात्रा गरिएको ‘आरोहण’ महाकाव्य बजारमा

१३ जना कविद्वारा लेखिएको ‘आरोहण’ नेपालको पहिलो महाकाव्य
निर्माण सञ्चार, काठमाडौँ । १३ जना कविद्वारा लिखित ‘आरोहण’ संयुक्त महाकाव्य आज (शुक्रबार) राजधानीको राष्ट्रिय नाचघरबाट सार्वजनिक गरियो ।

प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् भने कार्यक्रमको अध्यक्षता प्रा. घनश्याम कँडेलले गरेका थिए ।

महाकाव्य ‘आरोहण’का लेखकहरू क्रमशः प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, डा. जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी हुन् ।

लोकार्पणपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले भने, ‘महाकाव्यजस्तो गहन विधा लेखनलाई जनभावना र नेपालीको साझा संवेदनाजस्तो विषयलाई ऐतिहासिक महत्व बोकेको गोर्खा जिल्ला, त्यसको भौगोलिक र ऐतिहासिक महत्वलाई काव्यको कथावस्तु बनाइनु कम प्रशंसनीय कुरा होइन ।’

उनले थपे, ‘विश्वबाट छन्द लेखन नै हटिसकेको समयमा यसको गीत्यात्मक लयात्मक महत्ता नेपालले बुझेको छ र यी १३ जना कविले छन्दको फूलबारीजस्तै बनाएर यो काव्य सिर्जना गर्नुभएकोमा बधाई दिन्छु । यो पाठ वर्तमान पुस्ताले सिक्नुपर्छ भन्ने मेरो आग्रह हो ।’

पुस्तकको समिक्षात्मक टिप्पणी गर्दै प्रा. ठाकुरप्रसाद पराजुलीले भने, ‘यो १३ जनाको संयुक्त अनुष्ठान हो । यसमा प्रायः सबै अलङ्कारको कुशल प्रयोग छ । यो महाकाव्य भाषिक समायोजनका दृष्टिले प्रशंसनीय छ ।

उनले थपे, ‘लोक जनजीवनको प्र्रत्यक्ष संवेदनालाई विषय बनाएर भाषा र छन्दको मानक अनुशासन कायम गरी संयुक्त काव्य लेख्नु कम साधनाले हुँदैन । व्यक्तिगत विषयमा बरालिएको समुदायलाई विकास र निर्माणमा लाग्न संयुक्त बल लिएर उभिनु यो समयको लागि सबल निर्देशन र प्रेरणा हो ।’

आरोहणकै कवि भुवनहरि सिग्देलले आरोहण महाकाव्यको रचनागर्भ र काव्यांश वाचन गरे ।

अाराेहणकै कवि प्रा. राजेन्द्र सुवेदीले सामूहिक लेखनको औचित्यबारे प्रष्ट पारे ।

साथै, अाराेहणकै कवि डा. रामप्रसाद ज्ञवाली, नारायणप्रसाद पोखरेल, रमेश शुभेच्छु, देवी नेपाल, प्रकाश चापागाईंले काव्यांश वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए । 

यति धेरै कविद्वारा लेखिएको ‘आरोहण’ नेपालको पहिलो महाकाव्य हो ।

शिखा बुक्सद्वारा प्रकाशित उक्त पुस्तकको मूल्य रु. ३७५/– रहेको छ । 

...

शुक्रबार, १५ मंसिर, २०७४

प्रतिक्रिया

Related