चुनाव भएको ८ महिना बित्दा पनि स्थानीय तहको केन्द्र राख्नेबारे अझै लागेन टुंगो

जुम्लामा स्थानीय तहको केन्द्र राख्नेमा दलहरु बीच विवाद, जुम्लाका सात वटा स्थानीय तहहरु अहिले भाडाकै घरमा काम कट्टा गरिरहेका छन्
निर्माण सञ्चार, जुम्ला । विवादका कारण स्थानीय सरकारको केन्द्र कहाँ रहने भन्नेमा जुम्लामा कुनै पत्तो छैन ।

स्थानीय तहको चुनाव भएको ८ महिना वितिसक्न लाग्दा पनि स्थानीय सरकार केन्द्र कहाँ राख्ने भन्ने बारे निक्र्यौल भएको छैन ।

जुम्लाका सात वटा स्थानीय तहहरु अहिले भाडाकै घरमा काम कट्टा गरिरहेका छन् ।

स्थानीय तहको संरचनागत विकास निमार्णका लागि जग्गा कहाँ कस्तो ठाँउमा लिने भन्दा भन्दै ८ महिना बितिसकेको छ ।

तर एक गाउँपालिमा पर्ने ९ वटै वडालाई पायक पर्ने गरी गाउँपालिका केन्द्र तोक्नु पर्ने भन्दै उठेको विवादले जुम्लाका सातै स्थानीय तह भाडाकै घरमा काम चलाएका छन् ।

यस आर्थिक वर्षमै भवन निमार्ण नभए पनि केन्द्र तोकिएको खण्डमा पछिका लागि ढुक्क हुने स्थानीयको बुझाइ छ ।

तर यता जनप्रतिनिधिहरु कहाँ राख्दा सबैलाई पायक पर्छ, जग्गा दिन कसले मान्छ, मोलमोलाइमा हुने विवाद झेल्दा झेल्दै गाउँपालिकाको केन्द्र तोक्न ढिलाइ भएको विज्ञहरु बताउँछन् ।

तातोपानी गाउँपालिकाको जर्मी, तिला गाउँपालिकाको रारालिही, हिमा गाउँपालिकाको कालिकाखेतु, सिंजा गाउँपापिलकाको नराकोट, कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी, पातारासी गाउँपालिकाको डिल्लीचौर र गोठीचौर गाउँपालिकाको झारज्ववालमा केन्द्र राख्ने प्रारम्भीक छलफल भएपनि जग्गाको बिबादले आधिकारिक केन्द्र कहाँ हुने भन्ने बारे अझै दुविधा रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउँछन् ।

किन विवाद ? ढिलाइ किन ?

गाउँपालिका केन्द्र तोकिएको क्षेत्रमा पर्ने जग्गा दिने घरधुरीहरुलाई रोजगारीको व्यवस्था गर्ने अबधारण ल्याउदा पनि अन्यौल रहेको न्यौपानेको भनाइ छ ।

स्थानीय तहमा रहने सम्पूर्ण विषयगत कार्यालय अटाउने गरी निमार्ण हुने संरचनाका लागि आवश्यक जग्गा नपाएको र पाए पनि पायक पर्ने ठाँउ नभएको, पायक पर्ने ठाउँ भएपनि जग्गा दिन नमान्ने जस्ता समस्याले गर्दा स्थानीय तहको केन्द्र तोक्न निकै ढिलाइ भएको हो ।

केन्द्र तोक्नमा भएको ढिलाइका कारण गाउँपालिका कार्यालयदेखि वडा कार्यालयहरु भाडाकै घरमा कार्य संचालन गरिरहेको अवस्था छ । यसले विकासमा जाने सरकारी रकम घरभाडामा सकिने समस्या देखिएको छ ।

गुनासो बढ्दै

सेवाग्राही आउदाँ सफा बस्ने ठाउँ नभएको, खानेपानी तथा शौचालयको उस्तै समस्या भएको घरभाडा लिएर बस्दा अर्झै सेवा पाउनमा निकै ग्राह्रो भएको नागरिकहरुको गुनासो छ ।

गाउँमै वडा कार्यालय भएपनि व्यवस्थित नहुँदा समस्या भएको हो । त्यसैले चाडो भन्दा चाडो स्थानीय तहको केन्द्र तोकेर आफ्नै भवनबाट सबै स्थानीय तहले सेवा प्रवाह गर्नु पर्ने जुम्लाबासीको माग छ ।

 

 

___

जुम्लाबाट सागर परियारको रिपोर्ट

 

 

...

आइतबार, १७ मंसिर, ०७४

 

 

प्रतिक्रिया

Related