सोलु जलविद्युत आयोजनाको ६२ प्रतिशत काम पूरा

एक वर्ष भित्र बत्ती बालिसक्ने याेजना
निमार्ण सञ्चार, काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले एक वर्षभित्र बिजुली उत्पादन गर्ने भएको छ ।

६२ प्रतिशत निर्माण पूरा भएको सोलु आयोजनाले २०७५ कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

६२ प्रतिशत निर्माण सकिएको आयोजनाको सिभिलको ५५ प्रतिशत हाइड्रोमेकानिकलको ६० र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत पूरा भएको छ । यही अनुपातमा काम अघि बढे एक वर्षभित्र उत्पादन सुरु गर्ने सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले बताए ।

आयोजनाको बाँधको काम ७१ प्रतिशत सकिएको छ । ‘एप्रोच क्यानल’ र बालुवा थिग्राउने पोखरी (डिसेण्डर) को काम अन्तिम चरणमा पुगिसकेको छ ।

यसैगरी, ‘लो प्रेसर’ पेनस्टक पाइप बिच्छ्याउने काम ६५ प्रतिशत काम पूरा भइसकेको छ । आयोजनाको ४ हजार ३ सय मिटर पेनस्टक पाईप मध्ये ३ हजार ९ सय मिटर लो प्रेसर र ४ सय मिटर हाई प्रेसर पेनस्टक पाइप रहनेछ । 

यसको बीचमा करिब १ सय ७० मिटर लामो सुरुङ रहनेछ । उक्त सुरुङ निर्माण पनि अघि बढेको छ । आयोजनाको निर्माणाधीन सुरुङ ‘सर्ज ट्याङ्क’ मा ८३ प्रतिशत र विद्युतगृहमा ५५ प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।

लक्ष्मी बैंक लगायतका ८ बैंकले यस आयोजनामा लगानी लगाएका छन् ।

यो आयोजना ४ अर्ब ३० करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणपछि सोलुले वार्षिक १ सय ३२.५ गिगावाट घन्टा बिजुली उत्पादन गर्नेछ ।

उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने कोसी कोरिडोर अन्तर्गतको १३२ केभी लम्माने सबस्टेसनमा लगेर जोडिनेछ ।

विद्युतगृहदेखि सबस्टेसन सम्म ३ किलो मिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । सोलु कोरिडोर प्रसारण लाइन तयार नहुँदा एक वर्ष विद्युत उत्पादन हुन गाह्रो देखिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माणको काम भर्खरै सुरु गरेकाले आयोजनाले उत्पादन थाल्नुअघि तयार नहुने देखिएको हो । यस कारण एक वर्षभित्र पूरा गर्न सम्भव देखिँदैन ।

प्रसारण लाइन निर्माणमा देखिएको सुस्तताले आयोजनाको बिजुली खेर जाने चिन्ता बढेको राजभण्डारीले बताए । 

आयोजनाको बिजुली जोड्न अन्य प्रसारण लाइनको विकल्प हेर्दै गरेको राजभण्डारीले जानकारी दिए ।

बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनको स्तरोन्नती गरेर ३३ केभीमा चार्ज गर्नुपर्ने, ओखलढुङ्गा सबस्टेसनको पूरा गरेर सञ्चालन गर्नुपर्ने, ओखलढुङ्गा–सल्लेरी ३३ केभी प्रसारण तिन्ला सबस्टेसनसम्म जोड्ने गरी निर्माण सम्पन्न गर्नुपर्ने विकल्प कम्पनीले प्राधिकरणलाई दिएको छ ।

आयोजनाको बिजुली वैकल्पिकरुपमा जोड्ने प्रबन्ध मिलाउँदासमेत हिउँदमा ६० देखि ७० प्रतिशत र बर्खामा २५ प्रतिशतमात्रै राष्ट्रिय प्रसारणमा जोड्न सम्भव हुनेछ ।

वन नभएका जिल्लामा टावर निर्माणको काम सुरु भए पनि सिराहा र उदयपुरमा रुख कटानको स्वीकृतिसम्बन्धि फाइल अहिले वन मन्त्रालयमा पुगेको छ ।

मन्त्रालयबाट पास भएको फाइल मन्त्रीपरिषदबाट पारित भएपछि रुख काट्ने स्वीकृति प्राप्त हुनेछ ।

सोलुखोलामा २३.५ मेगावाट क्षमताको सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी, र सोलुको सहायक खोलामा ५.२ मेगावाट क्षमताको जुनबेसी जलविद्युत आयोजना पनि निर्माणको विभिन्न चरणमा छन् ।

...

सोमबार १८, मंसिर ०७४

प्रतिक्रिया

Related