थापा खोलाको उत्पादन सुरु, राष्ट्रिय प्रसारणलाइनमा थपियो १३ मेगावाट

कुल लागत २ अर्ब ६० करोड
निर्माण सञ्चार, काठमाडौँ | थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

मुस्ताङको टुकुचेमा निर्माण भएको यस आयोजनाबाट उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३.६ मेगावाट थप भएको छ ।

सो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

माउण्ट कैलाश हाइड्रोपावरद्वारा निर्मित उक्त आयोजनाको आफ्नो व्यवसायिक उत्पादन भने मंसिर २१ गतेदेखि थालिने बिद्युत् प्राधिकरणले बताएको छ ।

जसअन्तर्गत अब १५ दिन भने परीक्षणका रुपमा विद्युत उत्पादन गर्दैछ ।

बिद्युत् प्राधिकरणका अनुसार १५ दिनको परीक्षण उत्पादन पछि आयोजनाले आफ्नो कमर्सियल उत्पादन थाल्नेछ ।

माउण्ट कैलाशले निर्माण गरेको यो आयोजना पहिलो हो । यसको कुल लागत २ अर्ब ६० करोड रहेको माउण्ट कैलाश हाइड्रोपावरका सिईओ भरत खड्काले बताए ।

उनका अनुसार सुरुवातमा २ अर्ब ४६ करोडमा निर्माण गर्ने लक्ष्य लिएपनि समयमै निर्माण कार्य अघि बढाउन नसक्दा १४ करोड रकम थप बढि खर्च भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण पनि आयोजनाको लागत बढ्न गएको सिईयो खड्को भनाई छ ।

‘सरकारी निकायले काम समयमै अघि नबढाइदिँदा पनि समयमै निर्माण गर्न सकिएन खड्काले भने’, ‘यसै कारण योजना अनुरुप २०७१ सालमा निर्माण सम्पन्न गर्न सकिएन ।’

प्राधिकरणका अनुसार वर्षातका समयमा यो आयोजनाले १३ मेगावाट उत्पादन गर्ने भएपनि हाल यसले ५ मेगावाट मात्रै उत्पादन गरेको छ ।

हिउँदमा भने आयोजनाले कुल क्षमताको एक तिहाई मात्रै उत्पादन गर्छ ।

उक्त आयोजनाले २०६६ सालबाट निर्माणका लागि प्रक्रिया अघि बढाएको भएपनि निर्माण भने २०७० सालबाट मात्रै सुरु भएको हो ।

...

सोमबार, १८ मंसिर ०७४ 

प्रतिक्रिया

Related