इन्जिनियर तथा प्राविधिक महिलाहरुको अब छुट्टै मञ्च आवश्यक छ, म यसको नेतृत्व गरेरै छाड्छु– विन्दिया कार्की

प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा महिलाबारे नीतिकै खाँचो
निर्माण सञ्चार, महिला सवाल । ‘एकै रथका दुई पांग्राका रुपमा लिइन्छ महिला र पुरुषलाई । जब दुवै सक्षम हुन्छन् तबमात्र जिन्दगीको गाडी सफलतापूर्वक गुड्न सक्छ’ भन्छिन् विन्दिया कार्की । तर, यही उखानलाई पनि फरक कोणबाट बुझ्नु पर्ने बेला आएको उनको तर्क छ ।

‘प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा कार्यरत महिला सवाल’ अन्तर्गत निर्माण मिडियाको छलफलमा बोल्दै इन्जिनियर कार्कीले भनिन्, ‘कुनै युग थियो महिला घरकी रखवाली मात्र बनाउने । कुनै युग आयो महिला अधिकार संविधानसम्म लेखाउने । तर अब युग आएको छ हातमा फरक फरक सीप र दक्षता भएका प्राविधिक महिलाहरुलाई सोही अनुसारको क्षेत्रको नेतृत्व पनि दिने ।’

विन्दिया कार्की अर्थात्, डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालका पूर्व महासचिव समेत रहेकी कार्की अब दक्ष प्राविधिक महिलाहरुलाई पनि संगठित गरेर अवसर तथा समाज सेवाका लागि अघि बढाउने ठिक बेला आएको उनको बुझाइ छ ।

प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा संलग्न महिलाको छुट्टै संसार छ, छुट्टै विशेषता र विशिष्ट समस्या पनि छन् ।

यो क्षेत्रमा कार्यरत महिलाको सशक्तीकरण गर्ने अब बेला आएको महसुस भइरहेकै बेला निर्माण मिडियाले यसमाथि बहस नै आरम्भ गरेको छ ।

यस बहसमा सरिक कार्की यो कन्सेप्टका लागि प्रथम पात्र हुन् ।

विगतका तुलनामा अहिले प्राविधिक तथा अप्राविधक विभिन्न क्षेत्रमा महिलाको उपस्थिति बढेको छ तर पनि संख्या र गुणस्तरका हिसाबले यो सन्तोषप्रद नरहेको बताउँछिन् प्राविधिक महिला कार्की ।

तपाईले के कस्ता क्षेत्रमा महिला प्राविधिकको पहिचान गर्नुभएको छ भन्ने निर्माण मिडियाको प्रश्नमा उनको जवाफ छ, ‘यसलाई मूलत दुई क्षेत्र भित्र गएर हेर्नु पर्ने हुन्छ । पहिलो हो सरकारी र दोस्रो हो निजी क्षेत्र ।’

लोकसेवा आयोगले छनोट गर्ने विधिदेखि सरकारी सेवामा छिरिसक्तासम्मका समस्या अघि सार्दै कार्की थप्छिन्, ‘सरकारीका हकमा भन्नु पर्दा त्यहाँ प्रशासनिक क्षेत्रमा चाहिँ सरकारले विभिन्न सीप दक्षता बढाउने तालिम दिन्छ । तर, आफ्नै कर्मचारीलाई प्राविधिक भएकै हकमा सरकारले विभेद गरेको छ ।

सरकारको दिमागमा प्राविधिकलाई सीप र दक्षताबारे अपडेट गराउनु पर्छ भन्ने नै छिरेको देखिदैन । जबकि प्रविधि दिन र रातकै बीचमा फरक फरक किसिमले विकास भइरहेको छ । यसमा जतिसक्तो चाँडो अपडेट नहुने हो भने सरकारी कामहरु पनि समयमै सम्पन्न नहुने हुन्छ । न त प्रभावकारी नै काम हुन्छ ।’

निजी क्षेत्रका हकमा विभिन्न प्राविधिक क्षेत्र रहेको उनको भनाइ छ ।

उनले अघि भनिन्, ‘जस्तै घरकी आमा भित्र पनि प्राविधिक सीप र दक्षता छ । यो कुरा किचेनमा काम नगर्ने पुरुषहरुले अब स्वीकार गर्नु पर्दैन ? विना सीप र दक्षता मीठो भन्ने जुन कुरा छ नि, त्यो न भातै पाक्न सक्छ, न रोटी नै न कुनै परिकार । परिकार बनाउने कुनै पनि सीप प्राविधिक ज्ञान हैन ?’

उनको यस्तो जवाफ पछि एकछिन चकमन्न भयो बहस !

वास्तवमै किचेनदेखि क्याबिनेटसम्म महिला उपस्थिति बढिरहेको छ । तर, ती दुवैलाई मानिसहरु प्रोफेसनल तरिकाले हेर्ने बानी अझै बनिसकेको देखिदैन ।

कार्कीको जवाफ र स्थानीय तहको निर्वाचनसँगै जुटेको महिला नेतृत्वको विशाल पंक्तिलाई ती दलहरुले, यो सरकारले व्यवस्थापन गर्ने, गुणात्मक रुपले विकास गर्ने, क्षमता अभिवृद्धि गर्नेबारे कुनै नयाँ सोच आघि सारेको छ त ?

यो प्रश्नमा कार्की भन्छिन्, ‘सोच अघि सार्न सक्ने सरकारहरुलाई यहाँ टिक्नै दिइन्न नि ! समस्या यो पो छ त । तर सोच भने विस्तारै विकास भइरहेको उनको दाबी छ ।

निजी क्षेत्रमा कार्यरत महिला प्राविधिकबारे थप धारणा राख्दै उनले भनिन्, ‘जस्तै पाइलट, को–पाइलट र एअर होस्टेससम्म सीप र दक्षता भएका पनि एकखाले प्राविधिक नै हुन् । अब तिनलाई कसरी सशक्तीकरण गर्ने भन्ने अबको चासोको विषय हुनै पर्छ । किनकि त्यहाँ पनि तिनका समस्या छन् । उनीहरुलाई पनि समय अनुसारको प्राविधिक ज्ञानको अपडेट गराउने र अझै उन्नत बनाउने चलन हामी कहाँ छैन ।’

यही समस्याले गर्दा नै महिला प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा रहेका महिलाहरुले यसबारे लिडिङ गर्नु पर्ने इन्जिनियर कार्कीको धारणा छ ।

उनी अझै अघि भन्छिन्, ‘तर निजी क्षेत्रमा पनि म आफूले काम गरेको क्षेत्र र रिलेटेड अन्य सेक्टर भित्र केन्द्रित रही भन्नु पर्दा यसमा डिन, एनइए, स्काफ, सोना, एफक्यान जस्ता यति धेरै निजी क्षेत्रहरु छन्, जहाँबाट प्राविधिक महिला जनशक्तिलाई अझै सशक्तीकरण गर्न आवश्यक छ ।

एकै ठाउँमा संगठित गर्न आवश्यक छ । र, उनीहरुको सीप, दक्षता बढाउँदै नेतृत्व विकासकै जिम्मा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।’

लोकतान्त्रिक गणतन्त्र पछि राज्यका तिनओटै निकाय– व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपति (कार्यपालिका) का प्रथम पर्सनालिटी महिला नै बने ।

यो नेपालको लागि त उपलब्धि थियो नै, विश्वमै यस्तो संयोग कहिँ कतै पनि जुरेको आजसम्म छैन ।

संविधानमै ३३ प्रतिशतको प्रावधानले गर्दा स्थानीय निर्वाचन पछि महिलाहरु स्थानीय तहबाटै नेतृत्वका क्षेत्रमा जुटिसकेको अवस्था छ ।

एकातिर नेपालको ७ दशक लामो लोकतन्त्र प्राप्तिको सुन्दर उपलब्धिका रुपमा यो कुरा पाइएको छ ।

तर, अझै पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा भने अझै पनि परिवर्तन नभइसकेको कार्कीको धारणा छ ।

जस्तै ?

‘जस्तै, नेपाल निर्माण व्यवसायी महासंघ र महिला अभिवृद्धिको कुरा गरौं । त्यहाँ महिलाको उपस्थिति कति छ ? अत्यन्तै न्यून । यही कुरा लागू हुन्छ स्काफ र नेपाल इन्जिनियर्स एसोसिएसनमा र डिनमा पनि ।

तर डिनले अलि फरक रुपले यतिबेला महिला प्राविधिकका हकमा केही काम गर्ला कि भन्ने लागेको थियो । तर, साधारण सभा निर्वाचनमा भएको धाँधलीपूर्ण प्रहारले त्यहाँ पनि महिलालाई माथि उठ्न नदिने गरी बज्र हानिएको मैले अनुभूति गरेकी छु ।’

निर्माण व्यवसायमा महिला हुनुकै कारण के के भोग्नु पर्छ ?

बहसमा निर्माण मिडियाले राख्दै आएको यो प्रश्नमा केही निर्माण व्यवसायी महिलाहरुले आफूलाई बलात्कार गरिदिनेसम्मका धम्की आएको बताएका थिए ।

निर्माण व्यवसायी महिलाहरुले तिज विशेष गरेको कार्यक्रममा बोल्दै यस्तो समस्या बताएका थिए । यस पछाडि विल्कुलै कृत्रिम कारणहरु रहेको निर्माण मिडियाको धारणा छ ।

कार्कीसँगको छलफलमा हामीले भन्यौं, ‘निर्माण व्यवसायका हकमा त महिलाहरु रात बिरात हिँड्न नसक्ने, ठेक्का लिने काममा पुरुषहरु नै गोली खाइरहेको रिस्की अवस्थामा महिलाको सुरक्षा झनै संवेदनशील देखिएको छ ।

किनकि कुनै महिला ‘मलाई टेन्डर चाहियो’ भनेर आफ्नो सबै योग्यता लडाउन पुगिन् भने पनि कर्मचारीदेखि गुण्डासम्मको सेटिङ हुने परिचक्र भित्र उनी पस्नै सक्तिनन् ।

उस्तै परे, टेन्डरकर्मीदेखि गुण्डा र सरकारी अधिकारीले समेत यौन शोषण गर्ने सबैभन्दा खतरनाक समस्या अघिल्तिर आइपर्छ । महिलाहरु महिला भएकै कारण यसरी पछि हुन बाध्य छन् ।

किनकि कुनै पनि पेसाभित्र यी सबै विकृति भित्र्याउने भनेको पुरुषहरु नै हुन् ।

त्यो पनि प्रोफेसनका पनि नैतिक मर्यादा र सामाजिक दायित्व हुन्छन् भन्ने नबुझ्नेहरुको झुण्डले यस्ता विकृति भित्राएका छन् ।

जसले गर्दा गोली हानेर मार्ने र मर्नेसम्म हुन्छन् ।

अब भन्नुस् प्राविधिक तथा निर्माण क्षेत्रमा पनि महिला कसरी अघि बढ्न सक्छन् ?

गरिब महिला, त्यो पनि पाखुरामा बल भएकी रहिछन् भने पुल बनाउने र घर बनाउने ठाउँमा इँटाको भारी बोक्ने मात्रै हो ? यस प्रश्नमा कार्की गम्भीर बनिन् ।

उनको भनाइ छ, ‘घरानीयाका छोरीहरुलाई त पढ्न खाँचो थिएन नि । तर, किन इन्जिनियरिङ क्षेत्रमा पढ्दा छोरीहरुलाई आर्किटेक्ट तिर पढ्न प्रेरित गरिन्छ त ?

टेबुल वर्क मात्र गर्न सकिने भित्री काम, उही किचेन शैलीका कामका लागि मात्रै महिला पाढउने चलन अझै छ । पछिल्ला दिनमा सिभिल तिर पढ्नेहरु बढे पनि हस्तक्षेपकारी भूमिकाको कल्पना अझै टाढै छ ।’

मतलब ?

‘मेरो भनाइको मतलब के हो भने, डिप्लोमा इन्जिनियरहरु नै बढी फिल्डमा जानु पर्छ । तर, त्यसमा हुने सबैखाले रिस्क बियर गर्नेबारे निजी क्षेत्रले अहिलेसम्म सोचेकै छैनन् । मेरो कुरा यही हो ।’

भनेपछि तपाई यो सोचका साथ अघि बढ्ने प्रणमा हुनुहुन्छ ?

हो । अब बेला पनि भएको छ जस्तो मलाई लाग्छ । किनकि नेपालमा राजनीतिक परिवर्तनले अब स्थिरिता लिन्छ यदि भने अवसरका लागि गुणात्मक प्रतिस्पर्धा दिनानुदिन बढिहेको छ ।

त्यसले गर्दा सरकारीदेखि निजी क्षेत्रसम्मले अब नयाँ तौरतरिकाले सोच्नु बाहेक के छ त भन्नुस् त ?’

 

 

 

...

कार्की, ०४२ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा सकेर सरकारी सेवामा प्रवेश गरेकी र निजी क्षेत्रको डिन जस्तो संस्थाको समेत उच्च जिम्मेवारी सम्हालेकी अनुभवी महिला प्राविधिक हुन् ।

...

सोमबार, १८ मंसिर, ०७४

 

प्रतिक्रिया

Related