मतदान पछाडि पोखरेलले भने, ‘क्षेत्र नम्बर ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैन’

निमार्ण सञ्चार, काठमाडौं । मतदान पछि बोल्दै नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्पमा अरु कोही प्रतिस्पर्धामा नरहेको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफू मख्यमन्त्री बन्ने औपचारिक काम मात्र बाँकी रहेको बताए । प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन बनिसकेपछि प्रक्रियाको हिसाबले औपचारिकता त बाँकी छन् तर अरु ठूलो कुनै कुरा नभएको सञ्चारकर्मीसँग बताए ।

दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा पोखरेल र दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा माओवादी नेता कृष्णबहादुर महराको उम्मेदवारी छ ।

नेता पोखरेलले दाङमा वाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको दाबी गरे । दुईवटा ठूला पार्टीहरु बीच भएको तालमेलले विजयको दोधार टरेको पोखरेलले बताए ।  वाम गठबन्धनले कति मत अन्तरमा जित्छ भन्ने कुरा मुख्य रहेको बताए । पोखरेलले चुनावमा आफ्नो प्रतिस्पर्धा अरु कोही नभएर आफैँसँग भएको बताए ।

उनले भने, ‘मेरो प्रतिस्पर्धी म आफै हुँ । किनकी मैले जनतालाई कति कुरा बुझाउन सक्छु त्यसका आधारमा परिणाम प्राप्त हुन्छ । हाम्रा एजेण्डा यति प्रभावकारी छन् कि जति हामी जनताको बीचमा पुग्न सक्छौं त्यति नै जनताको मत प्राप्त गर्छौं ।’

उनले थपे, ‘दाङको एकीकृत विकासका लागि हाम्रा केही सोचहरु छन् । मुलतः कृष्णबहादुर महरा जी र म मिलेर विकसित र समृद्ध दाङ निर्माण गर्ने संकल्प गरेका छौं । यो परिप्रेक्ष्यमा जनताको साझा उम्मेदवारको रुपमा हामी स्वीकार्य छौं ।’

मध्यपश्चिममै दाङमा मात्र दुईवटा उपमहानगरपालिका भएको, सबैभन्दा सुरक्षित उपत्यका भएको, रुकुमदेखि मर्चवार र बर्दियादेखि नवलपुरसम्मको केन्द्रमा परेको, मानव बसोबासका लागि उपयुक्त भएको र भौतिक पूर्वाधार पनि भएकाले प्रदेश नम्बर ५ को राजधानी दाङ नै उपयुक्त भएको उनले बताए ।

...

बिहीबार २१, मंसिर ०७४

प्रतिक्रिया

Related