जनमतले वामगठबन्धनको औचित्य पुष्टि गरेको छ, जनताको अपेक्षा पनि वामशक्तिसँगै रहेको स्पष्ट सन्देश गएको छ– जगत् विक

‘जनमतले वामशक्तिहरुको पार्टी एकतालाई पुष्टि मात्र गरेको छैन, एकताका लागि साँच्चिकै नैतिक दबाब पनि दिएको छ’
निर्माण सञ्चार, बहसःः ‘जनमतको सन्देश र अबको राजनीति’ ।। प्रतिनिधिसभा चुनावका हिसाबले काश्की जिल्ला पनि लाल किल्ला नै भएको छ । क्षेत्र-१ मा सबैभन्दा बढी मत अन्तरमा एमाले काश्कीका धरोहर सरह गनिने पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी (४९,२४२) ले निकटतम प्रतिद्वन्द्वी (कांग्रेस उम्मेदवार यज्ञबहादुर थापा–२५, ८२६) भन्दा दोब्बर बढी मतले विजय हासिल गरेका छन् भने क्षेत्र–२ मा एमाले युवा नेता रवीन्द्र अधिकारीले २७, २०७ मतले विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसे ले १८, ६६१ मत पाए ।

त्यस्तै, अर्काे पपुलर निर्वाचन क्षेत्र रह्यो एमाले युवा नेता जगत बहादुर विश्वकर्माको क्षेत्र नम्बर– ३ । उनले ३२, ६९० मत ल्याएर प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्मालाई साँढे आठ हजार मतले पराजित गरे ।

प्रदेश सभा २ को ‘ख’ (काँग्रेस विजेता) बाहेक पाँचै क्षेत्रमा वामगठबन्धनकै उम्मेदवारहरु विजयी बनेको काश्की विगतमा पनि आन्दोलनको केन्द्र र ऊर्जाका हिसाबले वामपन्थीहरु नै बाहुल्य रहेको क्षेत्र हो ।

र, अबको विकासको युगमा भुल्नै नहुने कुरा, मानव विकास सूचकांक तथा जिडिपीमा योगदानका हिसाबले पनि यो क्षेत्र ‘नमूना’ बन्दै आएको मुलुक भित्रको ‘सिंगापुर’ सम्भाव्यता बोकेको क्षेत्र हो ।

प्राकृतिक सौन्दयैले धनी, पर्यटनको केन्द्र पोखरा लेखनाथ महानगरपालिका समेत रहेको यो जिल्लाको अबको विकास कस्तो हुन्छ भन्ने कुरा यहाँका विजेता उम्मेदवारको मुहारले नै छर्लंग पारेको छ ।

स्थानीय चुनावमा काँग्रेस माओवादी केन्द्रको गठबन्धन हुँदा पनि एमाले एक्लैको वर्चश्व रहेको यो क्षेत्रमा वामगठबन्धनले जसरी राष्ट्रिय राजनीतिलाई नै फरक मोडमा उभ्याइदियो, त्यसको प्रभावले वाम रुझान भएको यो क्षेत्रका पनि मतदाताको मनोविज्ञानको पारो ह्वात्तै माथि उठाइदिएको मतपरिणामले नै पुष्टि गरिदियो ।

कुरा रह्यो, मत लिनका लागि मात्रै वामगठबन्धन भएको हो कि जनमतले खोजेजस्तो साँच्चिकै वामगठबन्धन गरिएकोहो भन्नेबारे जसरी राष्ट्रिय राजनीतिमा यतिबेला नयाँ बहस सुरु भएको छ, त्यसैको वरिपरि रही विजय पछिको अबको काश्कीको विकास कस्तो ? भन्ने सवालमा काश्की क्षेत्र नम्बर–३ का नवनिर्वाचित सांसद तथा एमाले नेता जगत् बहादुर विकसँग निर्माण सञ्चारले गरेको ‘जनमतको सन्देश र अबको राजनीति’ को छलफलको संपादित अंश–

माननीयज्यू, निर्वाचनको मतपरिणामलाई कसरी लिनु भएको छ ?

यो मतपरिणाम हाम्रा लागि त अपेक्षित परिणाम नै हो । पराजित मित्रहरुले ठूलै भूकम्प गएजसरी लिए पनि वामगठबन्धनले यही उचाइ प्राप्त गर्ने उद्देश्य सहित नै वामगठबन्धन गरेका थियौं । जनताले दिनुभएको अपार माया प्रति प्रथमतः म आभार व्यक्त पनि गर्न चाहन्छु र ऋणी भएको महसुस पनि भइरहेको छ यतिबेला ।

चुनावका लागि मात्रै थियो कि गठबन्धन पार्टी एकता गर्नेसम्मको लक्ष्य लिएर गरिएको भनेझैं, अब पार्टी एकता गरेरै अघि बढ्लान त दुई दल ?

अब यसमा आशंका नगरौं । किनभने, यो जनमतले वामगठबन्धनको औचित्य पुष्टि गरिसकेको छ एकातिर भने अर्काेतिर, इतिहासमै यो यस्तो जनमत बनेर आएको छ, जनताले अब वामशक्तिले मात्रै मुलुक समृद्धिको सपना साकार पार्न सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

जनमतलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिएला, तर, मुख्य कुरा वामगठबन्धनलाई मुलुुकले अनुमोदन नै गरिसकेको सन्देश दिएको यो जनमतलाई उपेक्षा गरेर कोही पनि अघि बढ्नसक्नेवाला म देख्दिन ।

यतिकि वामगठबन्धनका शक्तिहरु मात्रै किन, प्रतिपक्षी शक्तिका लागि पनि वामगठबन्धनलाई जनताले अनुमोदन गरेको हो भन्नुको विकल्प नभएको बेला वामगठबन्धनका हिमायतीहरुले त अब भविष्यको बाटो हेर्ने बाहेक विगतका तिता र चोटिला कुरा गर्नुको कुनै औचित्य छ र ?

त्यसैले मेरो विचारमा यो जनमतले वामगठबन्धनको अनुमोदन मात्र गरेको हैन कि, पार्टी एकता गर्नैका लागि ठूलो नैतिक दबाब समेत दिइरहेको छ ।

अब भन्नुस्, सुखी नेपाली समृद्ध नेपाल बन्ने र बनाउने भनेकै वामशक्ति हुन् भनी जनताले देखेको यो सपना र जनताले दिएको यो म्यान्डेट बाहिर कुनै कोही जान सक्ला ?  यो म्यान्डेट बाहिर जान कसैलाई अनुमति होला र ?

त्यसैले अब आशंका हैन, विगतबाट पाठ सिकेर आगतको सुन्दर र सफल नेपाल हामीले बनाउनु छ । यसलाई नै अर्जुन दृष्टि बनाएर अघि बढ्नुको विकल्प पनि छैन ।

विगतलाई समीक्षा त गर्नै पर्छ नि, ०१५ सालमा काँग्रेसलाई नै दुई तिहाइ दिएका थिए नेपाली जनताले । ०४८ साल पछि पनि काँग्रेसलाई नै बहुमत दिए । ०५१ सालको मध्यावधिमा एमालेलाई जनताले पहिलो दल बनाए । ०५६ काँग्रेस नै पहिलो दल बन्यो । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी पनि त्यसरी नै पहिलो दल बनेको थियो । तर, जनताले पहिलो बनेकाहरुबाट अपेक्षा गरेजस्तो केही नपाएको इतिहास पनि त छ नि !

बस्, यिनै र यस्तै विगत भएर नै त्यसबाट पाठ सिक्तै आजको वामगठबन्धन भएको हो । यो वामगठबन्धन विगतको जस्तो होइन ।

विल्कुलै नयाँ शिराबाट र नयाँ मोडमा उभिएर भएको गठबन्धन हो । यो गठबन्धन भएसँगै मुुलुक नै पनि नयाँ मोडमा उभिएको छ । यो आजको आवश्यकताले जन्माएको एकीकरणको महाअभियान हो भन्ने मैले बुझेको छु ।

यो मुलुक र जनताले चाहेको गठबन्धन थियो र जनताले चाहेकै दिशामा अघि बढ्नु पर्छ भन्ने स्पष्ट जनादेश पाएको गठबन्धनका रुपमा बुझ्नु नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

जहाँसम्म विगतको पाठ र आजको आवश्यकता बीचको बुझाइ छ यसबारे छर्लंग हुन आवश्यक पनि छ । विगतमा जनताको मत पाएर पहिलो हुने तर काममा पहिलो नहुने जुन रोग थियो, त्यसको उपचार जस्तो बनेर आजको मतपरिणाम व्यक्त भएको हैन र ? यसबाट हामीले पाठ सिकेका छौं कि छैनौं, मुख्य कुरा यो हो ।

मात्र कुरा के हो भने जनताले वामपन्थी शक्तिलाई काँग्रेसलाई जसरी पटक पटक बहुमत दिएका छैनन् । काँग्रेस जनताको मत लिने तर जनतालाई धोखा दिने दलका रुपमा देखिएकाले यतिबेला जनताले उसलाई आज पाठ सिकाइरहेका पनि त हुन्

जहाँसम्म नेकपा एमालेले विगतमा बहुमत पायो भनिएको छ, त्यसलाई वस्तुगत कुरा नबुझी पो भनियो कि भन्ने मलाई लागेको छ ।

किनभने, इतिहास साक्षी छ, काँग्रेसको बहुमतको उन्मादले ०५१ सालमा मध्यावधि चुनाव भयो । जनताले उसलाई पाठ त पढाउन चाहेका थिए । तर एमालेका पक्षमा स्पष्ट बहुमत थिएन ।

संसदमा पहिलो दल त बन्यो, सबैलाई थाहै छ, नेपालको लोकतान्त्रिक सरकारहरुको इतिहासमै सबैभन्दा लोकप्रिय रहेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेर अस्पतालको मृत्यु शैय्यामा रहेका मनमोहनले उपचार गर्न पाउने सुविधा पनि काँग्रेसले दिएन ।

सरकार गिराउने कृतघ्न खेल काँग्रेसले गरेको त नेपाली जनताले देखेकै कुरा हो । त्यसपछि एमाले कहिलै पनि पहिलो दल, स्पष्ट बहुमत सहितको दल बनेर सरकारमा जान पाएको थिएन ।

तर, बिर्सनै नहुने कुरा के हो भने, सानो दल बनेर सरकारमा गए पनि नमूना काम गरेर जनताको मन जित्ने काम गरेकै थियो । जस्तै ओली नेतृत्वको सरकार ।

भारतको नाकाबन्दीमा पनि शिर झुक्न नदिई चीनसँग पनि पारवाहन सन्धी गरेरै अबका दिनमा समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्छ भन्ने नयाँ भिजन त दिन सफल भयो नि !

जनताले आजको चुनावमा त्यही कुराको पनि जज गरेका त हुन् नि !

ओली नेतृत्वको लोकप्रिय सरकार पनि काँग्रेसकै कारण ९ महिनामै ढलेको त जनताले आँखाभरि आँसु पारेर हेरिरहेका त थिए नि !

काँग्रेसले यसबाट पनि पाठ सिक्ता हुन्छ भन्ने जनमतको आजको सन्देश हैन र ?

खैर, मैले यहाँ इतिहासमा जे भएको हो त्यही मात्र भनेको हुँ । यतिबेला जनताले हाम्रो काँधमा जिम्मेवारी दिएको अवस्थामा अरुलाई दोष दिने र आफू उम्कने गरी कुरा गर्ने मनसाय मैले राखेर होन पनि ।

त्यस्तै जतिबेला माओवादी पहिलो दल बनेको थियो, माओवादीले पनि आफूलाई बुझ्न र सन्तुलनमा रहन सकेन ।

यी सबै विगतको निचोड के रह्यो त भन्दा वामपन्थी फुटिरहने र बिग्रेकै काँग्रेसले सुशासन पनि नदिने जनताको समृद्धिको सपना पनि पूरा नहुने भएपछि अब वामपन्थीहरु एक नभई मुलुकले कहिलै पनि मुक्ति पाएन भन्ने निष्कर्ष निकालेर नै एकताबद्ध भई चुनावमा होमिएका हौं हामी ।

यसलाई जनताले अनुमोदन त गरे गरे, तर, यी सबै विगतमा पूरा नभएका अपेक्षा र सपनाको भारी पनि त हाम्रै काँध माथि बिसाएका छन् नि ! अब हामीले कुरा गरेर छुट पाउनेवाला छौं होला र ?

स्थानीय विकासबारे छलफल मोडौं, अबको काश्की कस्तो काश्की बन्ने छ त ? जनतासँग गरेका वाचा कसरी पूरा गर्ने योजना बनाउनु भएको छ ?

अत्यन्तै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । हामी वामगठबन्धनका उम्मेदवारहरुले दुई कुरामा आधारित भई जनता समक्ष भावी काश्कीबारे सपथ नै खाएका छौं भन्दा फरक पर्दैन ।

पहिलो हो, एमालेले हिजोकै दिनदेखि आरम्भ गरेको विकासको अवस्थाका आधारमा अबको विकास जहाँ छ त्यहाँबाट कसरी अघि बढाउने भन्ने ।

यो जिल्ला, पोखरा लेखनाथ महानगरपालिकाको विकासदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसम्मका अवस्थासम्म यसभित्र पर्छन् ।

हामीले स्थानीय निर्वाचन पनि जितेका छौं । हाम्रो प्रतिनिधिहरुले त्यहाँ पनि विकासका कामहरु अघि बढाइरहनु भएको छ ।

त्यहाँको जनतासँग अन्तक्र्रिया गर्दै विकास र निकासका समस्या र समाधानका खाकाहरु कोरिरहनु भएको छ । अर्काे हो, वामगठबन्धनले तय गरेको साझा घोषणा पत्रमा उल्लिखित राष्ट्रिय अन्तर्राष्ट्रि एजेन्डाहरु ।

आजको युग ‘थिङ्क ग्लोबल्ली र एक्ट लोकल्ली’ भन्ने हो नि त ।

त्यसैले हामीले साझा घोषणा पत्र र हाम्रो स्थानीयता बीच सन्तुलन कायम गरेर, आवश्यकता अनुसार जनताले चाहेको जस्तो सुखी नेपाली र समृद्ध नेपालको चाहनालाई नेतृत्व गरेको छौं जस्तो मलाई लाग्छ ।

जहाँसम्म भावी काश्की कस्तो होला भन्ने प्रश्न छ, यही सैद्धान्तिक र वस्तुगत अवस्था बीचमा हुने स्पष्ट मार्ग चित्रले नै भावी मुलुक पनि बन्ने हो भने भावी काश्की पनि बन्ने हो ।

तपाईले यो प्रश्न गरिरहँदा १८–२० वर्ष अघि तत्कालीन पोखरा उपमहानगरपालिकाको नेतृत्व हामीले गर्दाको अवस्था मलाई याद आयो ।

त्यतिबेला हामीले अबको ५, १० देखि २० वर्ष भित्र पोखरालाई कहाँ पुराउने भनी खाका नै तयार गरेर काम गरेका थियौं ।

हिजो हामीले कोरेको नक्सा जस्तै विकासको प्रतिबिम्ब आजको पोखरामा हामी पाउँछौं ।

यहाँ मातृमृत्युदर शून्यमा झार्ने, १५ देखि २० फुटसम्मका चौडा सडक बनाउने, सबैतिर कालोपत्रे र सबैतिर धारा, पानी पुराउने, सबैतिर विद्युत्, सबैतिर खुला दिशामुक्त काश्की, सबैतिर समान र गुणस्तरीय शिक्षा र देशकै सबैभन्दा बढी परक्यापिटा इन्कम वृद्धि गर्ने भन्ने जुन सपना थियो, यतिबेला हामी दाबी नै गर्छौं, मुलुककै परक्यापिटा इन्कममा सबैभन्दा उच्च श्रेणीमा रहेको सहर भित्र पोखरा पर्छ ।

मातृमृत्युदर शून्य भएको स्थानमा यही क्षेत्र पर्छ । यो उदाहरण यहाँ किन दिन मैले चाहेको हुँ भने, हो आज अब हामी भावी ५ वर्षको काश्की कस्तो बनाउने भन्नेमा स्पष्ट छौं ।

त्यसमा पनि म आफू निर्वाचित भएको क्षेत्र–३ लाई कसरी विकास र समृद्धिको नमूना बनाउने भन्नेमा स्पष्ट छु । मसँग स्पष्ट खाका नै छ ।

र, त्यो खाका अनुरुप काश्की त बन्छ, र मेरो क्षेत्र नम्बर ३ पनि बन्छ ।

कसरी त ?

कसरी बन्छ भन्दा, म मात्र तिनओटा आधारभूत कुरा यहाँ गर्न चाहन्छु । पर्यटन, कृषि र जलविद्युत्को । मेरो क्षेत्र अन्नपूर्ण बेसक्याम्पदेखि माछापुच्छे« बेसक्याम्पसम्मको नेटवर्कको केन्द्रमा छ ।

यसले भावी पर्यटनको ट्रान्जिट त बन्ने सम्भावना बोकेको छ नै, यहाँ जलविद्युत्को अपार सम्भावना पनि छ ।

बर्सेनी बगिरहेको हिमनदीको पानी विश्वबजारमै लगेर विक्री गर्न त सकिने सम्भावना बोकेको यहाँ हाइड्रो उत्पादनबारे अब विल्कुलै नयाँ मार्गचित्र लिएर हामी विकासमा होमिने छौं ।

कृषिका हकमा यहाँको एउटै मात्र उदाहरण दिऊँ, पञ्चासेको घना जंगल रहेको नेपालकै एउटै मात्र क्षेत्र हो जसलाई सुनाखरीको राजधानी भनेर चिनिन्छ ।

सयौं थरीका सुनाखरीको खानी रहेको यसको सम्भावना कति होला ? काश्कीको ३ नम्बर ।

यहाँ जडीबुटीदेखि माछा पालन, भेडा, च्यांग्रा, बाख्राको औद्योगिक स्तरमै उठ्न सक्ने गरी उद्योग गर्न सकिन्छ । ह्याङ्जा आलुका लागि राष्ट्रिय स्तरमा प्रसिद्ध आलु उद्योगको केन्द्र बनिसकेको छ ।

त्यस्तै, सार्दी खोला, भुर्जुङ टोल रेन्बो ट्राउट माछाका लागि त्यस्तै प्रसिद्ध भइसकेको छ ।

हिमाली चिया, कफी, च्याउ, जुटदेखि चौरी, छुर्पी, छाला उत्पादन जस्ता साना तर ठूलो व्यावसायिक सम्भावना बोकेको मेरो क्षेत्र नम्बर ३ लाई मैले आगामी दिनमा स्थानीय तह र केन्द्र तथा प्रदेश सरकारको बीच रहेर नयाँ ठाउँमा पुराउन सक्ने छु भन्नेमा म विश्वस्त छु ।

 

 

...

मंगलबार, २७ मंसिर, ०७४

 

प्रतिक्रिया

Related