‘जुत्ता सिलाईले नै छुटायो मानबहादुरको कालापहाड’

निर्माण सञ्चार, जुम्ला | चन्दननाथ नगरपालिका ९ मिचा गाउँ निवासी मानबहादुर सार्कीको पारिवारिक अवस्था ६ वर्ष पहिले निकै कमजोर थियो ।

घरमा उत्पादन भएको अन्नपातले ४ जनाको परिवारलाई ३ महिना पनि कटाउन असाध्यैै मुस्किल पर्थ्याे । ज्याला मजदुरीबाटै सार्कीले घरव्यवहार संचालन गरिरहेका थिए ।

तर समयबित्दै जादा ज्याला मजदुरीबाटै कमाएको पैसाले घर व्यवहार संचालन र छोराछोरीको पढाईका लागि सम्भव नदेखिएको उनी बताउँछन् ।

घर व्यवहार संचालनको जोहो गर्नकै लागि उनी झण्डै ६ वर्ष पहिले कालापहाड निस्केका थिए । खासै कालापहाडको कमाईले मानबहादुर सार्कीको परिवारका आवश्यकता परिपूर्ति हुन सकेन ।

घरमा साना छोराछोरी र जीवन संगिनीको मायाले गर्दा कालापहाडबाट आफ्नै गाउँठाँउमा काम गर्ने उद्देश्य बोकी घर फर्किएको उनको तितो सत्य अनुभव छ ।

अहिले जुम्लामा आएको उनी करिब ४ वर्ष पुगेको छ । उमेरले पाखो मानिने मानबहादुर सार्की कालापहाडबाटै तय गरेको जुत्ता सिलाई व्यवसायले अहिले पूर्णता पाउँदैछ ।

उमेरले अरू काम गर्न नसक्ने उनी अहिले दैनिक जुत्ता सिलाईबाट नै १५ सयदेखि २ हजारसम्म कमाउँछन् । कालापहाड जोस र जागर हुन्जेलसम्मको मात्र भएको उनको बुझाई छ ।

मान्छेका असिमित आवश्यकता सिमित स्रोत साधनले कहिले पूरा नहुने भन्दै आफूसँग जे छ त्यसैमा सन्तोष हुनु नै महानता भएको उनको भनाई छ ।

जुत्ता सिलाईको कमाईबाट सानो परिवारको आवश्यकता पूरा हुन थालेको छ । उनले भने, ‘घरको नुनतेल एक छोरा एक छोरीको पढाई खर्च धानेपछि जुत्ता सिलाईले नै आफ्नो कालापहाड छुटाएको छ ।’

उनले मासिक रूपमा झण्डै ३०/३५ हजार बढी कमाउने गर्दछन् । उमेर पाखो भएकै कारण पनि दया मायाका साथ सबैले आफ्नोमा जुत्ता सिलाउने गरेको उनको भनाइ छ ।

उनी आफ्नो कर्ममा विश्वास गर्छन् र त्यसैमा अहिले रमाईरहेका पनि छन् ।

जुम्ला टुडिखेलको माथिल्लो गेटको सडक पेटीमा विगत ४ वर्षदेखि जुत्ता सेलाउँदै आएका मानबहादुर सार्की कुनै निकायबाट सहयोग पाए त्यसलाई व्यवस्थित गरी लैजाने आशा व्यक्त गर्छन् ।

जुत्ता सिलाई उनको काला पहाडले त छुटायो । तर, त्यहि जुत्ता सिलाईलाई व्यवस्थित बनाउन नकसकको र त्यसका लागि बस्ने ठाँउ पनि पाउन नसकेको दुखेसो उनको छ ।

जुत्ता सिलाउन आवश्यक पर्ने विभिन्न समाग्री कुनै जुम्लामा पाउँदैन । छाला, लेदर धागो, लगायतका कुनै समाग्री जुम्लामा पाईदैनन् ।

जसले जुम्लामा रहेको जुत्ता सिलाउनेहरुलाई निकै सकस भएको अवस्था छ । सानो वस्तु खरिदका लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । खर्च धेरै लाग्छ ।

त्यसैले स्वरोजगार सम्बन्धी काम गर्ने सरकारी गैरसरकारी निकायहरुले आगामी दिनमा सिपसँगै आवश्यक सामाग्री जुम्लामै ल्याउने व्यवस्था गरे मानबहादुर सार्की जस्तै अन्य जुत्ता सिलाएरै दैनिकी गुजारेकाहरुलाई सहज हुने थियो ।

--------

जुम्लाबाट सागर परियार

...

शुक्रबार, २९ मंसिर ०७४ 

प्रतिक्रिया

Related