भूकम्पपीडितका लागि तत्काल राहत र पुनर्वास चाहियो— भूकम्प पीडित महासंघ

निर्माण सञ्चार,काठमाडौं ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भूकम्प पीडित महासंघ नेपालले ८ महिना अगाडिदेखि भूकम्पका कारण घरबार विहीन भएकालाई जाडो याम सुरु भइसक्ता पनि सरकारले पुनर्वासको काम नगरेको प्रति आक्रोस पोख्तै तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ ।

उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महासंघले सरकारले जारी गरेको स्वेतपत्रमार्फत घोषणा गरेको दस हजार रकम अपुग छ भन्दै अघिल्लो सरकारले दिने भनेको दुई लाख रकम अपुग्ने हुँदा त्यसलाई पाँच लाख बनाउन समेत सरकारसँग माग गरेको    छ ।

सो अवसरमा उपप्रधान मन्त्री केसीले भूकम्प पीडितका नाममा बनेका नक्कली पीडितलाई सरकारले छानबिन गर्दै गरेको भन्दै वास्तविक पीडितहरुलाई पुनः भूकम्प पीडित परिचय पत्र दिने बताए ।

‘भूकम्प पीडितहरुको यसरी महासंघ बनेकोमा हामी खुसी छौं, हामी तपाईहरुको साथमा रहेर पीडितलाई जाडोबाट तत्काल मुक्त गराउन घोषणा गरेको रकम उपलब्ध गराउने छौं ।’ महासंघ गठनप्रति शुभकामना दिएका उपप्रधानमन्त्रीले सरकारले घोषणा गरेको ५० हजार प्रत्येक पीडितलाई घर बनाउनु पूर्व दिने र तत्कालका लागि भनेको १० हजार पनि हप्ताभित्रै उपलब्ध गराउने बचन दिए ।

कार्यक्रमका सभापति तथा महासंघका अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले आफूले घोषणा गरेका कामहरु तुरुन्त नगरेमा आन्दोलन गर्ने समेत बताएका छन् । कार्यक्रममा भूमिअधिकार मञ्च, भूकम्पपीडित १४ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

महासंघ केन्द्रिय सदस्य तथा सञ्चार प्रमुख टीकाराम नेपालीका अनुसार महासंघले सरकारसँग २९ सूत्रीय माग प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया

Related