सनराइज बैंकले गर्यो वार्षिक प्रतिवेदन सार्वजनिक

७० शाखा र ८२ ए.टि.एम विस्तार
निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंकले सोमबार काठमाडौँमा दशौँ वार्षिक साधारणसभा उद्घाटन गरेको छ । उक्त एक दिने कार्यक्रममा बैंकको आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै सनराइज बैंकका अध्यक्ष तथा संस्थापक मोतीलाल दुगडले आर्थिक वर्ष २०७३/०७४ मा बैंकले गत वर्षको तुलनामा खुद मुनाफामा २४ प्रतिशतले वृद्धि गरी ११७ करोड पुगेको अवगत गराएका छन् ।

सनराइज बैंकले देशभरमा बैंकका शाखा ७० र एटिएम ८२ वटा पुर्याएको छ । यसैगरी, बैंकले Core Banking Software Financial System लागु गरेको छ ।

उक्त सिस्टम लागुपछि जोखिम व्यवस्थापनमा सहयोग गर्नेमा संस्थापन पक्षले दाबी गरेको छ ।

एन.सि.एम. मर्चेन्ट बैंकिङ्ग लि. सनराइज बैंकको सहायक कम्पनी भइ उक्त संस्थाको नाम परिवर्तन गरी सनराइज क्यापिटल लि. को नामबाट संचालन भइरहेको छ ।

कारोबार संचालनको दश बर्से सेवामा सहयोग गर्ने शेयरधनी, ग्राहक, पूर्व सञ्चालक, पूर्व कार्यकारी प्रमुख, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यलय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका सम्पूर्ण सम्बन्धित बैंकहरुप्रति दुगडले आभार प्रकट गरेका छन् ।

उक्त साधारणसभामा २२ जना शेयरधनीलाई आफ्नो गुनासो राख्ने अवसर दिइएको छ ।

गुनासो राख्ने क्रममा शेयरधनी डम्बरुवल्लभ घिमिरेले भने, ‘४ वर्ष अगाडि यो बैंक डुब्ने हो कि सञ्चालन हुने हो भन्ने दोधारमा थियो । तर, अहिले २४ वटा बैंक मध्ये १० औँ उत्कृष्ठ भित्रमा पर्न सफल भएकोमा बधाइ दिन चाहन्छु ।’

उनले थपे, ‘७ गते साधारणसभा गर्ने कुरा थियो । ७ गते साधारणसभा भएको भए १० गते भित्रमा नामसारी भइ शेयरधनीले बेच्न पाउने थियौँ । यस्तो कुरामा बैंकले ध्यान दिनुपर्छ ।’

यसैगरी अर्का शेयरधनी शिवप्रसाद पौडेलले भने, ‘व्यक्तिका स्वार्थका कारण कसैले बैंकलाई धरासायी बनाउन खोज्छ भने त्यस्तो कार्यमा शेयरधनी मिलेर प्रतिरक्षा गर्न तयार हुनुपर्छ ।’

अर्का एक शेयरधनीले भने, ‘कर्मचारीको सुविधामा बैंकले ध्यान दिनु पर्छ अनि मात्र सेवामा सुधार हुन सक्छ ।’ उनले थपे, ‘शेयरधनीलाई १५ प्रतिशत बोनस बाँडेकोमा सञ्चालन समितिलाई धन्यवाद दिन चाहन्छु ।’

...

मंगलबार ३ , पुस ०७४

प्रतिक्रिया

Related