कुवेतमा २ सय नेपाली अलपत्र, किन गर्दैन सरकारले उद्दार ?

२० जना उद्दार गरिएपनि अरु अझै अलपत्र
निर्माण सञ्चार, काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारका लागि कुवेत पुगेका कामदारको कार्यलयको हाकिमले आवासीय अनुमति (भिसा) नवीकरण नगर्दा २ सय कामदार अलपत्र अवस्थामा कुवेतमा बस्न बाध्य छन् ।

कुवेतको खराफी नेशनल कम्पनीमा उक्त २ सय कर्मचारी कार्यरत छन् । ती मध्ये २ चरण गरेर २० जनाको मात्र उद्दार गरियो ।

उनीहरु एयर अरेबियाको उडान मार्फत त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । अलपत्र परेकामध्ये प्रायजसो एसओएस म्यानपावरले पठाएका कामदार छन् । एसओएसले पठाइएको रकमबाट २० जनाको जरिवाना तिरी टिकट काटेर स्वदेश फर्काइएको छ । उनीहरुमध्ये प्रथम चरणमा स्वास्थ्य अवस्था कमजोर एवं पारिवारिक समस्या भएकाको उद्दार गरिएको दुतावासले जनाएको छ ।

नेपाली नागरिक प्रवासमा अलपत्र अवस्थामा रहँदासम्म सरकारले के हेरिरहेको छ । काम दारको सुनिश्चितता नगरी विदेश पठाउने एसओएस जस्ता म्यानपावरलाई नेपाल सरकारले किन कारबाही गर्न सकिरहेको छैन ?

कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने अरु बाँकी कामदारलाई स्वदेश पठाउन आवश्यक रकम आएको छैन आएपछि तत्काल उद्दार कार्यलाई प्राथामिकतामा राखिने भन्दै पन्छिएको देखिन्छ ।

समस्यामा परेका पीडित नेपालीलाई उद्दार गर्न जरिवाना र टिकटको व्यवस्था गर्नको लागि परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्र पठाए पनि दुतावासको पत्रको जवाफ नआएको गुनासो राजदुत हमालले गरे ।

हामीले सम्बन्धित निकाय, म्यानपावर सबैलाई जानकारी दिई पहल गर्दै आएका छौं । तर, जरिवाना नतिरी कामदारको उद्दार नहुँने स्थिति हुँदा हामीले पनि केही गर्न सकिरहेका छैनौँ ।

रकम आउनासाथ कामदारको उद्दार प्रक्रिया सुरु हुने राजदुत हमालले निर्माण सञ्चारलाई जानकारी दिए । पहिलो चरणमा स्वदेश आइपुगेका उर्लाबारी–५ मोरङका राम थापाले आफूले निकै कष्टकर जीवन विताउनु परेको थियो । बल्ल नेपाल आइपुगेकोले ढुक्क भएकोमा खुसी व्यक्त गरे ।

थापाले भने, ‘हामी नेपाल आउनका लागि निकै ठूलो कठिनाई भोग्नुपर्यो । त्यहाँको जीवन भोगाइको त कुरै नगरौँ ।’ उनले थपे, ‘सकुशल स्वदेश आइपुग्यौँ । बाँकी रहेका साथीहरुको पनि छिट्टै उद्दार गर्न सरकार लगायत सम्बन्धित तहलाई अनुरोध गर्छु ।’

उनको भिसा नविकरण नहुँदा ५ महिनादेखि रोजगारविहीन भएर बसेका थिए । उनका साथी लगायत थुप्रै नेपाली कामदार ८ महिनादेखि तलब नपाइ बसिरहेका छन् ।

उनीहरुलाई दाल र भात मात्र दिएर राखिएको छ । काम गर्न पनि दिइएको छैन । श्रम मन्त्रालयले भने कुवेतमा अलपत्र कामदारको चाँडै उद्दार गर्न आन्तरिक तयारीमा जुटेको बताइरहेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता भुवन आचार्यले कुवेतमा अलपत्र भएकाहरुको तथ्याङ्क संकलन गरी कुन म्यानपावरले कति पठाएको छ ?

कामदारको उद्दार खर्च कति लाग्ने कसले बेहोर्ने भन्ने बारेमा बहस भइरहेको बताए । एसओएस म्यानपावर कम्पनीका अध्यक्ष हेमबहादुर गुरुङ भने कुवेतका कम्पनी आर्थिक कमजोरीका कारण बन्द भएका होइनन् ।

भिसा नविकरणजस्ता सामान्य समस्यामा कामदार परेकोले यसमा म्यानपावर कम्पनीलाई मात्र दोष दिएर नहुने बताए । उनले भने, ‘हामीले आफ्नो जिम्मेवारी पूरा गछौँ सरकारले पनि आफ्नो तर्फबाट पहल गर्नुपर्छ ।’

...

मंगलबार ४ , पुस ०७४

प्रतिक्रिया

Related