आउलान् त चिनियाँ राष्ट्रपति सी मार्चमै नेपाल ?

अब बन्ने सरकार स्थिर बन्ने भएपछि चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी गर्दै
निर्माण सञ्चार, काठमाडौं । चुनावी परिणाम पछि नेपालमा स्थिर सरकार बन्ने आशा सहित चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने तयारी गरिरहेका छन् ।

वाम गठबन्धनमा नेपालले स्थायित्व र विकासको बाटो लिने सन्देश गएसँगै चिनियाँ राष्ट्रपति सीको आउने मार्चमा नेपाल भ्रमणको तयारी सुरु भएको स्रोतहरुको दाबी छ ।

स्रोतहरुको दाबी अनुसार आउँदो मार्चमा चिनियाँ राष्ट्रपति सी विदेश भ्रमणमा निस्कने तालिका रहेको हुँदा सोही तालिकामा उनले नेपाल भ्रमण गर्ने तयारी समेत रहेको हो ।

यसबारे चिनियाँ परराष्ट्र मन्त्रालयले सीले निकट भविष्यमा भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानाएको छ ।

यसबारे नेकपा माओवादी केन्द्रका नेताहरु भने उत्साहित बनेका छन् । सो पार्टीका एक नेताले पनि चिनियाँ राष्ट्रपति सी आउने मार्चमा नेपाल आउने तयारीमा रहेको दाबी गरेका छन् ।

उनले निर्माण सञ्चारसँग भने, ‘मार्चमा हुने भ्रमण क्रममा राष्ट्रपपति सी नेपाल आउने प्रारम्भिक तयारी भइरहेको जानकारी चिनियाँ पक्षले हामीलाई गराएको छ । त्यसका लागि हामी पनि तयारीमा लाग्नु पर्ने हुन्छ ।’

नेपालमा बन्ने भावी वामगठबन्धन सरकार र उसले लिने भारत र चीन रणनीतिबारे भने भारतमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

यता उत्साही वामगठबन्धनको एउटा दल माओवादी केन्द्र भने चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण हुँदा भ्रमणको राजनीतिक र कूटनीतिक वृत्तमा ठूलो अर्थ राहने विश्लेषक बताउँछन् ।

स्मरण रहोस्, पूर्ववर्ती ओली सरकारकै पालामा चिनियाँ राष्ट्रपतिको नेपाल आउने तयारी थियो । तत्कालै सरकार परिवर्तन भएकाले भ्रमण रद्द गरिएको थियो ।

यतिबेला राष्ट्रपति सीलाई माओत्सेतुङ पछिकै शक्तिशाली नेताका रुपमा चित्रण गरिएको छ । सन् २०१२ देखि चिनियाँ राष्ट्रपति रहेका सीको यो दोस्रो कार्यकाल हो ।

 

 

...

मंगलबार, ४ पुस, ०७४

 

प्रतिक्रिया

Related