जुम्लाका पाँच गाउँबस्ती छाउपडी मुक्त घोषणा

छाउ हुनु भनेको प्राकृतिक नियम हो, कोही कसैसंग छुन नहुने यो नितान्त भ्रम हो ।
निर्माण सञ्चार, जुम्ला | जुम्ला जिल्लाका पाँच गाउँबस्ती छाउपडि मुक्त घोषणा भएका छन् । हाल तिला गाउँपालिका ४ राउतबाडा र ३ जोगीवाडा गरी दुई बस्ती छाउपडि मुक्त भएका छन् ।

यसअघि ३ ओटा गाउँबस्ती छाउपडि मुक्त घोषणा भएसँगै अहिले जुम्लाका ५ गाउँबस्ती छाउपडि मुक्त घोषणा भएका हुन् ।

राउतवाडाका ३५ घरधुरिका २ सय छाउ हुने समुहका महिला तथा किशोरी र तिला गाउँपालिका ३ जोगीवाडाका ६१ घरधुरीका १ सय २६ जना महिला किशोरी सुरक्षित तरिकाले घरमै बस्न थालेपछि तिला गाउँपालिकाका दुई बस्तीलाई एक औपचारिक कार्यक्रम गरी छाउपडि मुक्त बस्ती घोषणा गरिएको हो ।

ति दुईबस्तीका महिला र किशोरीहरुले छाउ भएका अवस्थामा गाईगोठमा बस्नु स्वास्थ्यका लागि उपयुक्त नभएको भन्दै छाउपडि मुक्त गाउँ घोषणा गरेको बताएका छन् ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले आजको २१ औँ शताव्दीमा पनि छाउ भएको अवस्थामा गोठमा बस्नु भनेको सामाजिक अपराध भएको भन्दै यो प्रथाबाट महिला मुक्त हुनुपर्ने बताए ।

‘तिला गाउँपालिकाका २ बस्तीबाट छाउपडि मुक्त घोषणा गरेका छौ’, उनले भने ‘यो अभियान पुरै गाउँपालिका हुँदै जिल्ला नै छाउपडि मुक्त घोषणा गर्ने अभियान रहेको छ ।’

घोषणा गरेर मात्र नभई यसलाई कार्यान्वयन तिर सबै एकजुट हुनुपर्ने योगीको भनाई छ ।

गैर सरकारी संस्था तथा सरकारी निकाय अर्थात स्थानीयतहको लामो प्रयोस पछि छाउपडि मुक्त घोषणा गर्न सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

उनले भने,‘छाउ हुनु भनेको प्राकृतिक नियम हो, यो प्रकृतिले दिएको हो र छाउ भएपछि गोठमा बस्नुपर्ने र कोही कसैसंग छुन नहुने यो नितान्त भ्रम हो ।’

‘यो भ्रमलाई सबैको सहयोग र सहकार्यबाट चिर्दै महिला तथा किशोरीहरुलाई सम्मानित जीवन जीउन उत्प्रेरित गर्नु पर्दछ’, उनले भने ।

महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका कार्यालय, महिला संचालन प्रहरी प्रशासन, किर्डाक नेपाल, क्याड नेपाल, सर्वाेदय नेपाल, एक्सर्न वक्स नेपाल, स्वास्थ्य संघसंस्था, स्थानीयतह गाउँ तथा वडापालिकाको लामो प्रयास पछि गाउँबस्तीलाई छाउपडि मुक्त घोषणा गर्न सफल भएका हुन् ।

यसअघि पातारासी गाउँपालिकाको तलिलोर्प, तातोपानी गाउँपालिकाको हियाखोला, तिला गाउँपालिकाकै ढिमकोट गाउँ सबै सरोकारवाला निकायहरुको सक्रियतामा छाउपडि गाँउबस्ती मुक्त घोषणा गरिएको थियो ।

...

बुधबार, ५ पुष ०७४

...

जुम्लाबाट सागर परियारको रिर्पोट 

 

प्रतिक्रिया

Related